महोत्तरीको अध्यानपुर नयाँ टोललाई ‘ईस्लामपुर’ घोषणा गरेपछि विवाद, नामाकरणको अधिकार कसको ?
यता, नगरप्रमुख रामविजय महतोले पनि यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्। न्यूज ब्यूरोसँगको कुराकानीमा उनले गाउँको नाम परिवर्तनबारे आफूलाई जानकारी नरहेको बताए।

२०८३ मंसिर १२ शनिबार, बिहान ९:१८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । महोत्तरीको बलवा नगरपालिका–९ स्थित अध्यानपुर अन्तर्गतको नयाँ टोलको नाम परिवर्तन गरी ‘ईस्लामपुर’ राखिएको भन्दै सामाजिक सञ्जालमा गरिएको घोषणाले स्थानीयस्तरमा चासो बढाएको छ। तर उक्त घोषणा आफूले नगरेको र त्यसलाई मान्यता नदिने वडाध्यक्ष सनाउल्ला शेषले स्पष्ट पारेका छन्।
वडाध्यक्ष शेषका अनुसार वडाका मुस्लिम समुदायका केही व्यक्तिहरूले आफूखुसी अध्यानपुरको नाम परिवर्तन गरी ईस्लामपुर घोषणा गरेका हुन्। यसमा वडा कार्यालयको कुनै आधिकारिक निर्णय नभएको उनको भनाइ छ।
न्यूज ब्यूरोसँगको कुराकानीमा वडाध्यक्ष शेषले आगामी २५ गते बैठक बसेर वडाभित्रका नयाँ टोलहरूको नामकरण गर्ने विषयमा छलफल गर्ने तयारी रहेको बताए। वडामा दुई–तीनवटा नयाँ टोल विकसित भएकाले तिनको नामकरण गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
तर केही व्यक्तिले घोषणा गरेको ‘ईस्लामपुर’ नामलाई भने आफूले मान्यता नदिने उनले स्पष्ट पारे। अध्ययानपुरको गसनगर टोलदेखि उत्तर दुईवटा नयाँ टोल विस्तार भएको जनाउँदै वडाध्यक्ष शेषले आउँदो मँसिर २५ गते बैठक बसी टोलको नामाकरण सर्वसहमतिले गर्ने बताए । उनले अहिले सो टोललाई अध्ययानपुर, नयाँ टोल, उत्तरवारी टोल भन्दै आएको स्वीकारे ।
यता, नगरप्रमुख रामविजय महतोले पनि यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्। न्यूज ब्यूरोसँगको कुराकानीमा उनले गाउँको नाम परिवर्तनबारे आफूलाई जानकारी नरहेको बताए।
यस विषयमा महोत्तरीका प्रहरी प्रमुख (एसपी) को प्रतिक्रिया लिन फोन सम्पर्क गर्दा उनले फोन उठाएनन्।
नामकरणको अधिकार र कानुनी प्रक्रिया के छ ?
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ ले गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तनसम्बन्धी व्यवस्था गरेको छ। यसअनुसार स्थानीय तहको नाम वा केन्द्र परिवर्तन गर्न सम्बन्धित सभाको तत्काल कायम सदस्य संख्याको दुईतिहाइ बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमार्फत नेपाल सरकारमा सिफारिस गर्नुपर्ने व्यवस्था छ।
तर अध्यानपुर कुनै छुट्टै गाउँपालिका वा नगरपालिका नभई बस्तीको नाम भएकाले दफा ४ को व्यवस्था यसमा सोझै लागू हुन्छ भन्न मिल्दैन। बस्ती वा टोलको नामकरणका लागि स्थानीय तहको अधिकारक्षेत्र, लागू हुने प्रशासनिक प्रक्रिया र सरकारी अभिलेखसम्बन्धी व्यवस्था हेर्नुपर्ने हुन्छ।
कुनै समुदायका केही व्यक्तिले सामाजिक सञ्जालमार्फत नाम घोषणा गर्दैमा आधिकारिक रूपमा बस्तीको नाम परिवर्तन भएको मानिँदैन। त्यसका लागि सम्बन्धित निकायको निर्णय र आवश्यक प्रशासनिक प्रक्रिया पूरा हुनुपर्छ।
अध्यानपुरको ऐतिहासिक नाम परिवर्तन गर्ने विषयमा स्थानीय समुदायबीच सहमति छ कि छैन भन्ने प्रश्न पनि महत्वपूर्ण छ। आगामी २५ गते बस्ने भनिएको बैठकले नयाँ टोलहरूको नामकरणका विषयमा कस्तो निर्णय गर्छ भन्ने चासो बढेको छ।
स्थानीय पहिचान, सामाजिक सद्भाव र प्रशासनिक वैधानिकतासँग जोडिएको यस विषयमा बलवा नगरपालिकाले आधिकारिक धारणा सार्वजनिक गर्नु आवश्यक देखिएको छ।
समाजिक सँजालमा नयाँ टोलको नामाकरण देखिएपछि आक्रोस पनि बढेको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…