गृहजिल्लामै घण्टीका साँसद अमरेश सिंहलाई कालो झण्डा, हिन्दु सम्राट नेपालका चार कार्यकर्ता पक्राउ
रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँका अनुसार उनको पदयात्रा आइतबार बिहान ७:३० बजेदेखि पुनः सुरु हुने तय भएको छ ।

२०८३ मंसिर १३ आइतबार, बिहान ७:५० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहलाई आफ्नै गृहजिल्ला सर्लाहीमा कालो झण्डा देखाउँदै विरोध गरिएको छ । विरोध प्रदर्शनका क्रममा प्रहरीले हिन्दु सम्राट सेनाका चार जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
पूर्व–पश्चिम हुलाकी राजमार्ग पदयात्राका क्रममा शनिबार सर्लाहीको सदरमुकाम मलंगवा पुगेका सांसद सिंहलाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध जनाएका हुन् ।
सिंहका विगतका अभिव्यक्ति हिन्दु धर्मविरोधी रहेको आरोप लगाउँदै प्रदर्शनकारीहरूले उनीप्रति असन्तुष्टि व्यक्त गरेका थिए । प्रदर्शनका क्रममा मलंगवास्थित जिल्ला विकास चोकमा रहेको बाबा स्वामी मठ नजिक सिंहको पुत्लासमेत दहन गरिएको थियो ।
हिन्दु सम्राट सेनाका नेता कृष्णा यादवका अनुसार कालो झण्डा देखाउने क्रममा प्रहरीले संगठनका चार जना कार्यकर्तालाई पक्राउ गरेको हो । पक्राउ परेका कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्दै संगठनले विरोध जनाएको छ ।
कार्यकर्ता पक्राउ परेको घटनाप्रति आपत्ति जनाउँदै हिन्दु सम्राट सेनाका कार्यकर्ताले शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने नागरिकको अधिकारमाथि अंकुश लगाउन खोजिएको आरोप लगाएका छन् ।
यता, पदयात्राका क्रममा सर्लाही पुगेका सांसद सिंह शनिबार राति सदरमुकाम मलंगवामै बस्ने कार्यक्रम रहेको थियो । रास्वपा सर्लाहीका जिल्ला सभापति सरोज बानियाँका अनुसार उनको पदयात्रा आइतबार बिहान ७:३० बजेदेखि पुनः सुरु हुने तय भएको छ ।

हिन्दु राष्ट्रकाे विरोध गर्ने डा. अमरेश कुमार सिंहलाई कालो झण्डा देखाउने क्रममा पक्राउ परेका हिन्दू सम्राट सेनाका चारै जना युवा मध्यरातमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट रिहा भएका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…