लायन्स क्लबद्धारा अटिजम– डाउन सिन्ड्रोमबारे विद्यार्थीहरुलाई जनचेतना

२०८२ मङ्सिर २५ बुधबार
बेलुकी ६:२३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, काठमान्डौँ ।लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी को जोन ५ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं स्किल डेभलपमेण्टको अग्रसरता र जोन ५ का अन्य क्लबहरूको समन्वयमा काठमाडौँ जिल्लाका उत्तरपुर्वी भेगका विभिन्न सामुदायिक विद्यालय केन्द्रित अटिजम–डाउन सिन्ड्रम सम्बद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 

गत मंसिर ३ गते विभिन्न ७ वटा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुलाई लक्षित गरि छिमेकी पार्टी प्यालेस, जोरपाटीमा प्रारम्भिक अभिमुखिकरण कार्यक्रमबाट उक्त जनचेतनामुलक कार्यक्रमको शुरुवात भएको थियो । उद्घाटनपछि निरन्तर एक सातासम्म विभिन्न ७ वटा विद्यालयहरुमा सचेतना कार्यक्रम आयोजना भयो ।

समग्र सचेतना कार्यक्रमको संयोजकत्व जोन ५ का जोन चेयरपर्सन रमेशराज अर्यालले गर्नुभएको थियो ।  अटिजम–डाउन सिन्ड्रम सम्बद्ध सचेतनामुलक कार्यक्रममार्फत विद्यार्थी र शिक्षकहरुलाई जानकारी प्रवाह गर्नका लागि यसै क्षेत्रमा सक्रिय रहेको संस्था अटिजम केयर नेपाल सोसाइटीसंग लायन्स क्लबले सहकार्य गरेको थियो ।

अटिजम केयर नेपाल सोसाइटीका निर्देशक एवम् अटिजम–डाउन सिन्ड्रम सम्बद्ध विषय विज्ञ सुरेन्द्र बज्राचार्य सहित विभिन्न विज्ञ प्रशिक्षकहरुले विद्यार्थी एवम् शिक्षकहरुलाई प्रभावकारी रुपमा जानकारी प्रदान गर्नुभएको थियो ।  कार्यक्रमको संयोजन गरेको लायन्स क्लब अफ काठमाडौँ डिस्ट्रिक्ट ३२५ डी का गभर्नर महेश आचार्यले, मानसिक स्वास्थ्य केन्द्रित कार्यक्रम आयोजना गर्ने क्लबको योजना अनुरुप सो कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार ‘लायन्स क्लबकै साथिहरुले अटिजम, डाउन सिन्ड्रमबारे अध्ययन, अनुसन्धान गरिरहेका थिए र यसबारे जनचेतना प्रवाह गरिनुपर्छ भन्ने निश्कर्षमा क्लब पुगेसंगै यो कार्यक्रम अघि बढेको हो ।’ ‘जनचेतना प्रवाह गर्ने कार्य बालबालिका (विद्यार्थी)हरुबाट गर्न सकियो भने उनिहरुबाट घरपरिवार र समाजसम्म चेतना फैलिन सक्छ भन्ने उद्धेश्य राखेका छौँ । अटिजमबारे प्रभावकारी जनचेतना फैलिन सकोस भन्ने हाम्रो लक्ष्य यो कार्यक्रमले पुरा गर्नेछ भन्ने विश्वास लिएका छौँ’ आचार्यले बताउनुभयो । 

कार्यक्रम सञ्चालनमा समन्वय गर्ने विद्यालय प्रशासन, व्यवस्थापन समिति, शिक्षक एवम् विद्यार्थीहरुप्रति उहाँले कृतज्ञता जाहेर गर्नुभयो । यस्तै कार्यक्रम सञ्चालनमा विज्ञहरु सहितको समन्वय गरिरहेको संस्था अटिजम केयर नेपाल सोसाइटीकी स्पेशल एडुकेटर एवम् विभिन्न विद्यालयहरुमा प्रशिक्षकको भुमिका निभाउनुभएकी, अस्मिता श्रेष्ठले, ‘अटिजम, डाउन सिण्ड्रम, बौद्धिक अपांगता जस्ता विषयहरुबारे यसरी बालबालिकाहरु लक्षित गरि कार्यक्रम आयोजना गरिँदा बालबालिकाहरु जानकार हुने र उनिहरुले घरपरिवारमा गएर शेयर गर्ने हुँदा समाजमा प्रभावकारी रुपमा जनचेतना फैलिने’ विश्वास व्यक्त गर्नुभयो । 

लायन्स क्लब अफ काठमाडौँ, डिस्ट्रिक्ट ३२५ डी का जोन चेयरपर्शन रमेश राज अर्यालका अनुसार ‘लायन्स क्लब अफ काठमाण्डौँ, स्किल डेभलपमेन्ट ले मुना नेपालसंग मिलेर दुरदराजका बालबालिकाको अभिभावकलाई उद्यमशिल बनाउने र अटिजम भएका बालबालिकाको हेरचाह गर्ने कार्य यस अघि नै गर्दै आएको थियो । ’ ‘हामिले अटिजम–डाउन सिन्ड्रम को केन्द्र नै स्थापना गर्ने लक्ष्य राखेका छौँ । त्यसअघि समाजमा यसबारे जनचेतना प्रवाह गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेका हौँ । विशेषगरी काठमाडौँको उत्तरपुर्वी भेगका सामुदायिक विद्यालयहरुमा रहेका बालबालिका लक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो; अर्यालले उल्लेख गर्नुभयो । 

कार्यक्रममा सहभागि भएका विभिन्न विद्यालयहरुका शिक्षक एवम् विद्यार्थीहरुले यस किसिमको जनचेतनामुलक कार्यक्रमलाई आफ्नो विद्यालयमा आयोजना गरेकोमा लायन्स क्लबप्रति खुशी व्यक्त गरे । गोकर्णेश्वर नगरपालिका ६ मा अवस्थित चामुण्डा माध्यामिक विद्यालयका प्रधानध्यापक गुणराम आचार्यले, विद्यार्थीहरु लक्षित अटिजम–डाउन सिण्ड्रम का बारेमा जनचेतनामुलक कार्यक्रम गरिँदा त्यसको दिगो प्रभाव पर्ने र समाजमा यसबारे विद्यमान भ्रम र अन्यौलता चिरिने विश्वास व्यक्त गर्नुभयो ।  ‘आज हामिले अटिजम, डाउन सिण्ड्रमबारे धेरै कुराहरु थाहा पायौँ । पहिले यो के होला भन्ने लाग्थ्यो तर अहिले धेरै कुरा जान्यौँ । अब आफुले थाहा पाएको कुरा घर परिवार, छरछिमेक र साथिभाईलाई पनि सुनाउनेछु । अटिजम, डाउन सिण्ड्रम रोग होइन रहेछ, यो त एउटा अवस्था रहेछ, यसबारे सबैले चेतनशिल हुनु जरुरी छ । यो सबै थाहा पाउने अवसर पाउँदा एकदमै खुशी छु ; गोकर्णेश्वर नगरपालिका, २ मा अवस्थित बाल सुधार मा.वि.मा अध्ययनरत विद्यार्थी प्रविण तामाङ्गले, कार्यक्रममा सहभागिता जनाउँदाको सुखद् अनुभव साट्नुभयो । 

लायन्स क्लब इन्टरनेशनलले पछिल्ला दिनहरुमा अटिजम, डाउन सिन्ड्रमलाई प्राथमिकतामा राखेको र यसबारे पर्याप्त जनचेतना प्रवाह गरिनुपर्छ भन्ने उद्देश्यका साथ हामिले यो कार्यक्रम आयोजना गरिएको, यस कार्यक्रमका लागि अन्तर्राष्ट्रिय स्तरमा प्रस्ताव सहितको पहल गर्नुभएका लायन्स क्लब अफ काठमाडौँ, डिस्ट्रिक्ट ३२५ डी का जिएसटी कोअर्डिनेटर धन प्रसाद लामिछानेले बताउनुभयो । 

‘बालबालिकाहरुले विद्यालय पढ्दा नै यसबारे जानकारी प्राप्त गर्ने मौका पाएको र उनिहरुद्धारा अब उनिहरुको अभिभावक र समाजसम्म पनि जनचेतना प्रवाह हुनेमा हामि विश्वस्त छौँ,’ लामिछानेको भनाई छ ।  करिब ५०० जना विद्यार्थीहरु लाभान्वित भएको यस कार्यक्रममा अटिजम, डाउन सिण्ड्रम वा बौद्धिक अपांगता के हो, यो अवस्था के कारणले आउँछ, यो अवस्थामा कसरी व्यक्तिको रेखदेख गर्ने, उनिहरुलाई कस्ता अवसरहरु कसरी दिलाउनुपर्छ, विश्वमा यसको अवस्था के छ, नेपालको स्थिती के छ लगायतका बहुआयामिक रुपमा जानकारी प्रदान गरिएको थियो । 

अटिजम, डाउन सिण्ड्रम वा बौद्धिक अपांगता के हो ? 

अटिजम भनेको मस्तिष्कको विकासमा हुने फरकपनका कारण सामाजिक व्यवहार, सञ्चार र संवेदनशीलतामा विभिन्न असर पर्ने न्युरो–विकासात्मक अवस्था हो । यो एउटा रोग नभई, एउटा अवस्था हो । जसको पुर्ण निदान वा उपचार छैन ।  अटिजमका सामान्य लक्षणहरुमा बोलाइ ढिलो हुनु वा नबोल्नु, एउटै काम बारम्बार दोहोर्याउने बानी, आवाज, बत्ती, स्पर्श आदि प्रति धेरै संवेदनशील या धेरै कम प्रतिक्रिया दिने गर्नु जस्ता पर्दछन् ।  डाउन सिन्ड्रोम २३ जोडा क्रोमोजोम भन्दा बढी क्रोमजोम भएको कारणले उत्पन्न हुने जन्मजात अवस्था हो । जसले व्यक्तिको शारीरिक र बौद्धिक विकासमा प्रभाव पार्ने गर्छ । यो पनि एउटा रोग नभएर, शारीरिक र बौद्धिक अवस्था हो । 

डाउन सिन्ड्रोमका सामान्य लक्षणहरुमा, पहिचान हुने अनुहारका विशेषता (छोटो घाँटी, फ्ल्याट फेस प्रोफाइल, फरक आँखा ), सिकाइ र वृत्तिविकासमा केही ढिलाई आदि पर्दछन् । डाउन सिन्ड्रोम जिनेटिक अवस्था भएकोले यो कुनै पनि बच्चा जन्मिँदा नै रहने गर्छ ।

  बौद्धिक अपांगता भनेको कुनै पनि व्यक्तिको बौद्धिक क्षमता र दैनिक जीवनका क्रियाकलाप एवम् कार्य कौशलतामा केही कमी आउने अवस्था हो । यो पनि निदान हुने वा उपचार हुने कुनै रोग नभई, अवस्था हो ।  बौद्धिक अपांगता भएका व्यक्तिहरुको आई क्यू सामान्यतया ७० वा कम हुन्छ । यो विभिन्न कारणले हुन सक्छः जस्तै जन्मपूर्व (जिनेटिक समस्या, कुपोषण, संक्रमण), जन्म समयमा (अक्सिजनको कमी), जन्मपछि (मस्तिष्क चोट, कुपोषण, संक्रमण) पनि देखिन सक्छ ।

  के छ विश्व र नेपालको अवस्था ?

स्वास्थ्य सम्बद्ध विश्वव्यापी सक्रिय अन्तर्राष्ट्रिय संस्था विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को सन् २०२१ को तथ्यांक अनुसार हरेक १२७ जनामध्ये एकजनामा अटिजम रहेको छ । यस्तै नयाँ जन्मिएका हरेक १ हजार देखी ११ सय बच्चाहरुमध्ये एक जनामा डाउन सिन्ड्रोम देखिने गर्छ । साथै विश्वका कुल जनसंख्याको १ देखी ३ प्रतिशत व्यक्तिहरुमा कुनै न कुनै किसिमको बौद्धिक अपांगता रहेको छ ।  नेपालमा पनि अटिजम, डाउन सिन्ड्रम, बौद्धिक अपांगता लगायतको अवस्थामा रहेका व्यक्तिहरु उल्लेख्य रुपमा रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ (सन् २०२१) को तथ्यांक अनुसार नेपालमा कुल जनसंख्याको करिब २ दशमलव २ प्रतिशत व्यक्तिहरुमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ । त्यसमध्ये “बौद्धिक अपाङ्गता” भएका व्यक्तिहरू करिब १ दशमलव ७३ प्रतिशत छन् । यस्तै ० दशमलव ७५ प्रतिशत व्यक्तिहरुमा अटिजम छ ।

  नेपालको संविधान, कानुन र नीतिहरुमा अपांगता भएका व्यक्तिहरुको हक, अधिकार सुनिश्चित छ । जसमा सम्मानपुर्वक अधिकार उपभोग गर्दै राज्यद्धारा निर्दिष्ट कानुनको अधिनमा रही शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका साथ बाँच्न पाउने व्यवस्था छ । तर कानुनतः परिभाषित र निर्दिष्ट अधिकारको पुर्ण उपयोगका लागि आवश्यक पर्याप्त संरचनागत व्यवस्था भने हुन सकेको छैन ।  शारिरीक एवम् मानसिक रुपमा विभिन्न अवस्थामा रहेका व्यक्तिहरुलाई लक्षित गरि विशेष सिकाईको सुविधा, अभ्यासको अवसर दिलाइनुपर्छ ।

जसका लागि यसबारे पर्याप्त जनचेतना प्रवाह, बहस, छलफल र सत्प्रयासहरु गरिनुपर्छ । समान र सम्मानजनक तबरले सम्पुर्ण अधिकार सहित समाजमा रहन पाउने संवैधानिक हकको सुरक्षित र सुनिश्चित गर्न सबैले आ–आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्छ । 

अटिजम, डाउन सिन्ड्रम, बौद्धिक अपांगता लगायतको अवस्था सिर्जना हुनु कुनै रोग होइन । व्यक्तिहरुमा यस्ता अवस्थाको समयमै पहिचान गरी सिकाई र अभ्यासको अवसर सिर्जना गरिने हो भने उनिहरुले आफुलाई सफल प्रमाणित गर्न सक्नेछन् ।

विज्ञानका पिता अल्बर्ट आइन्स्टाइन, फुटबल स्टार लियोनल मेस्सी, विश्कै धनी व्यक्ति इलन मस्क लगायतका सुप्रसिद्ध पात्रहरु त्यसको ज्वलन्त उदाहरण हुन् ।

के हो लायन्स क्लब, नेपालमा कतिवटा क्लबमा कति छन् सदस्य ? 

शिक्षा, स्वास्थ्य, पर्यावरण, विपद् व्यवस्थापन जस्ता क्षेत्रमा संसारभर उल्लेख्य योगदान गर्दै आएको विश्वव्यापी संगठन लायन्स क्लब इन्टरनेशल नेपालमा पनि सक्रियतापुर्वक सञ्चालित छ । सामाजिक सेवा भावले प्रेरित लायन्स क्लबले गरेका सामाजिक कार्य र सेवाहरुकै कारण नेपालमा लायन्स क्लबको उपादेयता र आम नागरिकको लायन्स क्लबप्रतिको विश्वास अगाध रहँदै आएको छ ।  नेपालमा अधिकांश जिल्लाहरुमा संगठन विस्तार गरिसकेको र सक्रिय रहेको लायन्स क्लबका १५ वटा डिस्ट्रिक्टहरु रहेका छन् । ति डिस्ट्रिक्ट मातहत २१०० बढि लायन्स क्लबहरु र ति क्लबहरुमा विभिन्न पद र भुमिकामा ४४ हजार बढि लायन्स सदस्यहरु रहेका छन् ।

  • 1%
  • 1%
  • 1%
  • 1%
  • 1%
  • 2%

प्रादेशिक अस्पताल जलेश्वरको मेसुमा डा. श्रीवास्तव नियुक्त 

  • २०८२ मङ्सिर २५ बुधबार

न्यूज ब्यूरो, जलेश्वर । प्रादेशिक अस्पताल जलेश्वरको मेडिकल सुपरिटेन्डेन्टमा डा. रवि श्रीवास्तव नियुक्त भएका छन् । आईतबार उनलाई प्रादेशिक अस्पताल जलेश्वरको जिम्मेवारी दिइएको हो ।  मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत रहँदै

पूरा पढ्नुहोस्

Bureau Menus