प्रदेश २ का सरकारले सूचना आयोगलाई झुटो व्यहोरा दिएको खुलासा  

विभिन्न ६ वटा समिति मार्फत २ करोड ७६ लाख ४१ हजार ९ सय ९ रुपैयाँ खर्च गरेको जनाएको छ ।  

२०७५ मङ्सिर १० सोमबार
बेलुकी ५:४७ बजे
न्यूज ब्यूरो, डेस्क


 
न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय सूचना आयोगको आदेशपछि प्रदेश २ सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण खर्चको सूचना उपलब्ध गराएको छ ।


सूचनाको हक प्रयाग गरी माग गरेको मोदी भ्रमण खर्चको सूचना नदिएपछि पत्रकार शैलेन्द्र महतो क्रान्तिले प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयविरुद्ध राष्ट्रिय सूचना आयोगमा उजुरी दिएका थिए ।  

 

सँचारकर्मी महतोको उजुरी उपर सुनुवाई गर्दै आयोगले विपक्षी प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयलाई पत्र पठाई ७ दिन भित्र लिखित व्यहोरा आयोग र सूचना माग कर्तालाई पठाउ आदेश दिएको थियो । 


सोही आदेश अनुसार प्रदेश २ मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले  मोदी भ्रमण खर्चको सूचना उपलब्ध गराएको हो ।  उपलब्ध गराएको सूचना अनुसार भारतीय प्रधानमन्त्री मोदीको जनकपुरमा स्वागत सत्कारमा प्रदेश प्रदेश २ सरकारले विभिन्न ६ वटा समिति मार्फत २ करोड ७६ लाख ४१ हजार ९ सय ९ रुपैयाँ खर्च गरेको जनाएको छ ।  

 

सूचना पत्रमा पण्डाल, पाल, अस्थायी शौचालय निर्माण एवं सांस्कृतिक कार्यक्रम शीर्षकमा १ करोड ४९ लाख ७२ हजार २ सय २९ रुपैया, जनपरिचालनमा ८ वटै जिल्लागरी ७४ लाख ६८ हजार ७ सय ४४ रुपैयाँ, प्रचारप्रसारमा २० लाख ६२ हजार १३ रुपैया खर्च गरेको उल्लेख छ । 


यस्तै वुलेटिन, स्वागतद्वार, फ्लेक्स, अतिथि स्वागत, सूचना प्रकाशन, प्रसारण र उपहार शिर्षकमा २५ लाख ६ हजार ५५ रुपैयाँ, नगर सरसरफाईमा ५७ हजार ५ सय २२ रुपैयाँ र सुरक्षा व्यवस्थापनमा ५ लाख ७५ हजार २ सय २१ रुपैया खर्च भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर २ का सूचना अधिकारी एवं शाखा अधिकृत पदम प्रसाद पोखरेलद्वारा हस्ताक्षिरत सूचना पत्रमा उल्लेख छ ।

 

यस्तै समयमा पत्रकार महतोलाई सूचना नदिनुको कारण आयोगले माग गरेको जवाफ पत्र र सूचना पत्रमा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले झुटो व्यहोरा उल्लख गरेको तथ्य समेत फेला परेको छ । 


गत असार मसान्तसम्म समेत मोदी भ्रमण खर्चको विवरण सार्वजनिक गर्न नसकेको प्रदेश २ सरकारको मन्त्री परिषद कार्यालयका मुख्य सचिव राजेश्वरमान सिंहले आयोगलाई लेखि पठाएको जवाफमा मोदी भ्रमण खर्चको विवरण जेठ १८ गते नै सूचना टाँस गरी सार्वजनि गरिसकेको उल्लेख गरेको छ ।

 

 सूचना पत्रमा समेत जेठ १८ मै सूचना जारी गरेको उल्लेख गरेर आयोगलाई झुक्याएको छ । जवकी मोदी भ्रमण भएको लामो समयसम्म खर्च सार्वजनि नगर्दा प्रदेश २ सभामा विपक्षी दल नेपाली काँग्रेस र नेकपाले प्रदेश सरकारको चर्को आलोचन गर्नुको साथै पटक पटक प्रदेशसभा बैठक समेत अवरुद्ध गरेका थिए । 
 

गत वैशाख २८ गते जनकपुरमा भएको भारतीय प्रधानमन्त्री मोदीको स्वागत खर्च जेठ मासान्तसम्म खर्च पारदर्शी नगरेपछि पत्रकार क्रान्तिले  जेठ २९ गते सूचनाको हक प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयमा मोदी भ्रमण खर्चको सूचना माग्दै निवेदन दर्ता गराएका थिए । 

 

तोकिएको समय भित्र प्रदेश सरकारले सूचना उपलब्ध नगराएपछि पत्रकार महतोले सूचनाको हक प्रयोग गरी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय विरुद्ध गत साउन ८ गते राष्ट्रिय सूचना आयोगमा उजुरी दिएका थिए ।  

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus