जनकपुरमा प्रहरीको विरोधमा जुलुस, १५ पक्राउ

पक्राउ पर्नेमा जसपाका युवा नेता नविन यादव लगायतका छन् ।

२०७७ जेठ ८ बिहीबार
दिउसो २:४९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा प्रदर्शन गर्ने क्रममा १५ जना पक्राउ परेका छन् ।

 

प्रहरीको विरोधमा प्रदर्शनमा उत्रिएका १५ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु जनकपुरस्थित माछा बजार नजिकैबाट पक्राउ परेका हुन् ।

 

जनता समाजवादी पार्टीका प्रदेश सभा सांसद अशोक यादवलाई प्रहरीले दुव्र्यवहार गरेको भन्दै पार्टी निकट युवाहरुले जुलुससहित जिल्ला प्रशासन कार्यालय प्रस्थान गरेका थिए । उनीहरुले सांसद यादवलाई दुव्र्यवहार गर्ने प्रहरीलाई कारवाही गर्न माग गर्दै जनकपुरको बसैहया काली मन्दिर नजिकैबाट जुलुस निकालेका थिए ।

 

तर, जिल्ला प्रशासन कार्यालय नपुग्दै बाटोबाटै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जसपाका युवा नेता नविन यादव लगायतका छन् ।

 

सर्लाही निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित सांसद यादवको गाडी विना पास लकडाउन उल्लंघन गर्दै अनावश्यक रुपमा आहोरदोहोर गरेको भन्दै प्रहरीले गत शुक्रबार नियन्त्रणमा लिएका थिए । सरकारी नम्बर प्लटेको सांसदको गाडी ड्युटीमा रहेका रेल्वे स्टेशन प्रहरी चौकीका इन्चार्जले जनकपुरको भानुचोकबाट नियन्त्रणमा लिएको थियो ।

 

प्रहरीले गाडी रोकेपछि केहि समय त्यहाँ सांसद र प्रहरीबीच चर्काचर्की समेत भएको थियो । यता, सांसद यादवले भने गाडीको पास भएपनि प्रहरीले गाडी रोकेर दुव्र्यवहार गरेको आरोप लगाउँदै आएका छन् ।
 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus