गौरबासी भारतीय बजारमाथि निर्भर हुनु दुःखद : पूर्वमन्त्री प्रभु साह

भारतीय बजारमाथि निर्भर हुनु दुःखद !

२०७५ पौष १ आइतबार
बिहान १०:२४ बजे
संजय सहनी, रौतहट

 

न्यूज ब्यूरो, रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष पूर्वमन्त्री एवं संघीय सांसद प्रभु साहलाई विकास पुरुषको संज्ञासहित १०५ किलो फुलको माला लगाएर स्वागत गरिएको छ ।


गृहजिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–४ टिकुलियास्थित स्थानीयले विकास पुरुषको संज्ञासहित सांसद साहलाई उक्त माला लगाई स्वागत तथा सम्मान गरेका हुन् ।टिकुलियास्थित शनिवार एक समारोहबीच कार्यक्रमका प्रमुख अतिथिको रुपमा नेकपाका अध्यक्ष साहले बिष्णु मन्दिरको शिलान्यास समेत गरेका थिए ।


स्थानीय पत्रकार संजय सहनीको अगुवाईमा टिकुलियाबासीद्धारा आयोजित मन्दिर शिलान्यास  समारोहलाई सम्बोधन गर्दै उनले नेकपाको सरकार धार्मिक, संस्कृतिक, सामाजिक, आर्थिक सबै विकासको लागि अगाडी बढिरहेको बताए ।


निर्वाचनताका पार्टीको राजनीति स्वभाविक प्रक्रिया भएपनि विकासको सवालमा सबै दल एकहुनु पर्ने विचार राखेका थिए । पूर्वमा बागमती र पश्चिम लालबकैयाको मजबुत बाँध बनाएर दुवै नदीको पानीलाई सिंचाईको लागि प्रयोगमा नल्याएसम्म जिल्लाको विकास असम्भव रहेको अध्यक्ष साहले जिकिर गरे ।


विगतमा सीमावर्ती भारतीयहरु खाद्यान्न खरिदको लागि  गौर आउने गरेको सम्झना गर्दै उनले हाल उल्टो अवस्था आएकाले गौरबासी अधिकांश सामानको लागि भारतीय बजारमाथि निर्भर हुनु दुःखद भएको बताए ।


जिल्लाको सबैभन्दा पुरानो गौर नगरपालिकाको विकासको निम्ति गौरवासीको सोचमा परिवर्तन अपरिहार्य रहेको अध्यक्ष साहले बताए ।


कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाहा, नेकपाका प्रदेश कमिटि सदस्य शम्भु साह, अमर साह, उपेन्द्र साह, गौर नपाका मेयर अजय गुप्ता, उपमेयर किरण ठाकुर, उवा संघका अध्यक्ष पण्डित जयसवाल, देवाही गोनाही नपाकी उपमेयर परनिया देवी पटेललगायतले जिल्लाको समग्र विकास, 'समृद्ध नेपाल र सुखी नेपाली' को परिकल्पना साकार गर्न सरकारले बिषेश कार्यक्रम ल्याउनुपर्ने माग गरेका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus