फिफा वल्ड कप २०१८ उपर फ्रान्सको कब्जा, दोस्रो पटक विजयी

२०७५ असार ३२ सोमबार
बिहान ०८:४५ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो |
रसिया, ३२ असार ।  
फ्रान्सले दोस्रो पटक विश्वकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। 


आइतबार भएको २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा क्रोएसियालाई ४ - २ गोलले पराजित गर्दै फ्रान्सले २० वर्षपछि दोस्रो उपाधि जितेको हो।


खेलको १८ मिनेटमा फ्रान्सले अग्रता लियो। क्रोएसियाका फरवार्ड मारियो मान्जुकिकले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्सलाई फाइदा पुगेको थियो।


 डिबक्स बाहिर पाएको फ्रिकिकमा एन्टोनी ग्रिजम्यानले हानेको प्रहारलाई छेक्ने क्रममा मान्जुकिकको हेडर आफ्नै पोस्टमा छिरेको थियो।

२८ मिनेटमा इभान पेरिसिकले उत्कृष्ट फिनिसिङ गर्दा क्रोएसियाले खेललाई १-१ को अवस्थामा ल्यायो।

 

३८ मिनेटमा फ्रान्सले खेलमा दोस्रो पटक अग्रता लिन सफल भयो। कर्नर बलमा पेरिसिकले ह्यान्ड गरेपछि रेफ्रीले भिएआर रिभ्यूमार्फत पेनाल्टी दिने निर्णय गरेका थिए। 

पेनाल्टीमा एन्टोनी ग्रिजम्यानले गोल गर्दा पहिलो हाफमा फ्रान्स २- १ ले अघि रह्यो।

 

५९ मिनेटमा फ्रान्सले तेस्रो गोल गर्न सफल भयो। पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे।

६५ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै फ्रान्सलाई ४ -१ ले अघि बढाए। एमबाप्पेले डिबक्स नजिकबाट उत्कृष्ट गोल गरेका थिए। अन्त्य तिर मान्जुकिकले क्रोएसियाका लागि दोस्रो गोल गरे।

 

एजेन्सीको सहयोगमा

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus