न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाममा चलिरहेको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत शनिबार ऐतिहासिक धनुषयज्ञ विधि सम्पन्न भयो। त्रेतायुगमा मिथिलाका राजा शिरध्वज जनकले गरेको प्रतिज्ञा र त्यसअनुसार आयोजित धनुषयज्ञको स्मरणमा यो परम्परा आज पनि निरन्तर रुपमा यहाँ दोहोरिँदै आएको छ।
धार्मिक ग्रन्थअनुसार, गुरु विश्वामित्रको नेतृत्वमा अयोध्याका राजा दशरथका पुत्रहरू—राम, लक्ष्मण, भरत र शत्रुध्न—उक्त धनुषयज्ञमा सहभागी भएका थिए। यज्ञका क्रममा भगवान् रामले शिवजीको ‘पिनाक’ धनुषमा प्रत्यञ्चा कस्ने प्रयास गर्दा धनुष तीन टुक्रा भएको प्रसंग रामायणमा वर्णित छ। यही क्षणपछि मात्र राम र सीताको दिव्य विवाह सम्पन्न भएको तुलसीदास कृत रामचरितमानस मा उल्लेख पाइन्छ।
विवाहपञ्चमी महोत्सव विभिन्न धार्मिक कर्मकाण्डसहित अघि बढिरहेको छ। पहिलो दिन नगरदर्शन गरियो भने दोस्रो दिन फूलबारी लीला सम्पन्न भइसकेको छ। चौथो दिन अर्थात् मंसिर ७ गते तिलकोत्सव हुनेछ। त्यसपछि मंसिर ८ गते मटकोर, मंसिर ९ गते विवाहपञ्चमीको मुख्य दिन ‘विवाहोत्सव’ मनाइने छ। मंसिर १० गते अयोध्या फर्कने रामकलेवासहित सम्पूर्ण जन्तीलाई बिदाइ गर्दै महोत्सव विधिवत रूपमा समापन गरिने कार्यक्रम छ।
यसै क्रममा, विवाहको तिलकोत्सवका लागि जानकी मन्दिरबाट जनकपुरधाम उपमहानगरपालिका र विश्व हिन्दू परिषद्को अगुवाईमा पठाइएको पाहुर ९तिलक सामग्री० अयोध्यामा राममन्दिरका प्रतिनिधिहरूलाई हस्तान्तरण गरिएको छ। अयोध्यास्थित बिरला धर्मशालामा आयोजित विशेष कार्यक्रममा नेपालबाट गएको टोलीले सीताको माइती पक्षको प्रतिनिधित्व गर्दै सो पाहुर आरएसएस र राममन्दिर व्यवस्थापनका प्रतिनिधिलाई बुझाएको हो।
सीताको पक्षबाट मेयर मनोज साह, विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय उपाध्यक्ष रघुनाथ साह, केन्द्रीय सदस्य मनोहर साह, सम्भाग प्रमुख अरविन्दकुमार, कार्यवाहक विमलकुमार साहलगायतका धार्मिक–सामाजिक अगुवाहरू सहभागी थिए। उता भगवान् रामको पक्षबाट आरएसएसका महामन्त्री पंकज सिंह, अयोध्याका पूर्व मेयर ऋषिकेश उपाध्याय तथा राममन्दिरका साधु–सन्त उपस्थित थिए।
जनकपुरको प्रतिनिधिमण्डललाई आइतवार बिहान बिदाइ गरिने कार्यक्रम रहेको मेयर साहले जानकारी दिएका छन्। मिथिला वैवाहिक संस्कारअनुसार विवाहअघि दुलही पक्षले दुलाहा पक्षमा तिलक तथा भेटसामग्री पठाउने चलन रहिआएको छ। यही परम्परालाई कायम राख्दै जानकी मन्दिरले हरेक वर्ष विवाहपञ्चमीमा सीताको ‘अभिभावक’ बनेर तिलकोत्सवको पाहुर हस्तान्तरण गर्दै आएको हो।
मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित
- २०८२ मङ्सिर ८ आइतबार
न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह
पूरा पढ्नुहोस्



