भारतको मनोमानीले रौतहटमा १७ जना बाढीमै फँसे !

भारतले नेपालसँग रोटी बेटीको सम्बन्ध रहेको भन्छ तर आपत परेको बेला दशगजामा बाँध बनाएर झन् आपतमा हाल्ने काम गरेको

२०७६ असार २८ शनिबार
बिहान ०७:४५ बजे
सँजय सहनी


न्यूज ब्यूरो ।  रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीको बगरमा १७ जना फँसेका छन्।

गाइबस्तु चराउन गएका उनीहरुलाई अविरल वर्षापछिको बाढीले फसेका हुन्। त्यस्तै बागमतीमा एक जना वेपत्ता भएका छन्। उनीहरु रुखमा चढेर उद्धारको लागि हारगुहार मागिरहेका छन्।

 

गढीमाइ नगरपालिका–६ पकहाबखरी टोलका ४० वर्षीया दुलारी देवी वेपत्ता भएकी हुन्। रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार वृद्धावन नगरपालिका–१ बलेरीखोरस्थित बागमती नदी फसेकालाई उद्धारको लागि लिखित पत्र पठाएर सेनाको हेलिकप्टर मगाइएको छ।

 

पकहाबखरी टोलमा २ सय घर परिवारको बसोबास रहेको छ। उक्त घरहरु डुबानमा परेका छन्। यसैबिच नदीहरु वागमती, झाझ, बकैयाको पानी ओभरफ्लो भई क्रमशः दक्षिणतर्फ आउने सम्भावना हुँदा गौर बजारमा आआफ्ना सरसामान सुरक्षित स्थानमा सार्न जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेको छ।

 

त्यस्तै राजपुर नपा९ फतुवा पुल पश्चिमतर्फको नहरको बाँध फुट्दा बैरीया गाउ डुवानको खतरा भएकाले सतर्क रहन प्रहरीले आग्रह गरेको छ। बागमती नदीले रौतहटको गढीमाई नगरपालिका –८ लक्ष्मिपुर नजिकको बाँध कटान गरेको छ । यसैगरी लालबकैया नदीले फतुवा विजयपुर नगरपालिका स्थित हर्षाहा गाउँको बाँध कटान गरेको छ । 

 

प्रहरीको उद्दार टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरदेखि पूर्वमा रहेको कजवेमा पानीको उच्च बहावका कारणसैयौंको संख्यामा सवारी रोकिएका छन् । 


प्रहरीले पानी डाईभर्सन गर्ने प्रयास गरिरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटवालले बताए । अविरल वर्षाले चन्दपुर नगरपालिका–६ स्थित जनज्योति माध्यमिक विद्यालय डुबानमा परेको कारण विद्यार्थीको प्रथम त्रैमासिक परिक्षा स्थगन गरिएको छ । जिल्लाको बन्जरहा, औरैया, बेलबिछ्वा, बडहरवाका बस्तीहरू डुवानमा परेका छन् । सदरमुकाम गौर समेत डुबानमा परेको छ । स्थानीय त्रसित छन् । 

 

बागमती र लालबकैया आसपासका वासिन्दाले उच्च सतर्कता अपनाउनु पर्ने भएको छ । पानीको सहत बढ्दै गर्दा ती नदीको आसपासका वासिन्दालाई सुरक्षित स्थानमा सार्नु पर्ने अवस्था आउने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रबक्ता नबिन कार्कीेले जानकारी दिए । बर्षाको पानि गाउँ वरिपरि जमेर बस्तीभित्र प्रवेश गर्न लागेको छन् ।

 

 जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीका अनुसार बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा प्रहरी चौकी डुबानमा परिसकेका छन् ।

पुर्व बागमती र पश्चिम लाल बकैया नदिले घेरिएको सदरमुकाम गौर यतिखेर उच्च जोखिमा रहेको छ ।बकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा रहेको उनले बताए। यस्तै बागमती नदीको गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको छ ।

 

रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बाँध भत्केको ठाउँमा प्रहरी परिचालन गरेको बताए ।खत्रिले प्रहरी द्वारा स्थानीयलाई सतर्क पार्न माइकिङ भइहरेको समेत जानकारि दिए ।  सदरमुकाम गौरस्थित सरकारी कार्यालय भित्र ,जिल्ला प्रहरी कार्यालय परिसर भित्र समेत पानी जमेको छ । निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा उत्पन्न भएपछी बिहानैदेखि सदरमुकाम गौरका सर्वसाधारणहरुले दैनिक जीवनयापनका सामग्री किन्न बाध्य छन् ।

 

 स्थानीयले बाढी आउने डरले यतिखेर ग्यास, आलु, सोयाबिन , प्याज, चामल, चिउरालगायतका खाधान्न सामग्री किनेर घरमा भित्रयाइरहेको पाइएको छ । जिल्ला बिपद व्यवस्थापन समिति रौतहटका संयोजक प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका नदी र खोलामा बाढी आएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताएका छन् ।उनले डुबान क्षेत्रमा २५ वटा डुंगा उद्धारका लागि पठाएको बताए। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले २८ गते सम्म वर्षा हुने बताए।बाध भत्किएर गाउँको बाटो हुँदै भारततिर बगेको पानी सीमा नाकामै जम्मा हुन थालेको छ।

 

भारतीय पक्षले बाध बाध्दा सदरमुकाम बासिलाई सास्ती भएको छ । भारतीय पक्षले सीमा नाकामा ठूलो बाँध बनाएपछि सीमा नाकामै पानी जम्मा हुन थालेको हो। भारतले मनोमानी ढंगबाट सीमा नाकामा बाँध बनाएपछि पानी फेरि बस्तीतर्फ फर्किएको छ। जसले त्यस क्षेत्रका अधिकांश गाउँ डुबानमा परेका छन्। भारतीय पक्षले दशगजामै बाँध बनाएपछि पानीको निकास बन्द भएको छ। पानीको निकास नहुँदा यहाँका जनता त्रसित देखिएका छन्।

 

 लाल बकैयादेखि बागमती नदीसम्म दशगाजापारि बैरगनिया, अशोभी, बलुवा, भकुरहर, मुसाचप,बुरेनहवा, हिरापुर लगायतका भारतीय गाउँमा बाँधलाई कृत्रिम तवरले बलियो बनाएपछि पानी गाउँ हुँदै सदरमुकाम गौर जम्मा हुन लागेको हो । गौरका स्थानीय हृदय नारायण यादबले भारतीय पक्षले मनोमनी तवरले बाँध बनाएपछि गौर सदरमुकामको अधिकांश स्थान डुबान परेको बताए। उनले भने, -"भारतले नेपालसँग रोटी बेटीको सम्बन्ध रहेको भन्छ तर आपत परेको बेला दशगजामा बाँध बनाएर झन् आपतमा हाल्ने काम गरेको छ।" उनले भारतको नीति नेपाललाई दुख दिने मात्र रहेको बताए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७६ असार २८ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus