मिर्चैया : वितरण नहुँदै राहत गायब भएपछि वडा कार्यालय घेराउ
जनप्रतिनिधिको उदासीनता र समन्वय अभावले हाससम्म अधिकांश वडामा दोश्रो चरणको राहत पुग्न सकेको छैन ।

२०७७ बैशाख १९ शुक्रबार, बेलुकी ६:२४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकामा वितरण गर्न खरिद गरिएको राहत गायब गराइएको भन्दै स्थानीयहरुले वडा कार्यालय घेराउ गरेका छन् ।
मिर्चैया नगरपालिका ७ फूलबरियाका स्थानीयहरुले खरिद गरिएको राहत वितरण नै नगरी गायब भएको भन्दै वडा कार्यालय घेराउ गरेका हुन् । लकडाउनबाट प्रभावित गरिब मजदुरहरुको लागि खरिद गरिएको २७६ पोका राहत मध्ये एकसय ४१ पोका राहत वडा कार्यालयमा रहेको र बाँकी १३५ पोका राहत वितरण नै नगरी बेपत्ता भएको उनीहरुको आरोप छ ।
राहत वितरणको लागि वडा कार्यालयले रकम पाएको हप्तौ बित्न लाग्दा पनि वितरण नभएको र वितरण नहुँदै राहतको पोका नै गायब भएपछि घेराउ गर्नुपरेको तत्कालिन राजपाका रामेश्वर यादवले बताए । उनले सर्वदलीय समितिका प्रतिनिधिलाई कुनै जानकारी नै नदिई राहत गायब भएपछि लकडाउनमा पनि बाध्य हुनुपरेको बताए ।
वडा कार्यालयले सर्वदलीय बैठक बोलाएर तथ्यांक दिन भने बमोजिम दिएपनि वडाध्यक्षले एकलौटी ढंगले सूचि बनाएको र सर्वदलीय समितिका प्रतिनिधिको कुनै वास्ता नै नगरेको उनको आरोप छ । ‘हामीलाई बैठकमा बोलाइए पनि त्यो त्यहीँ सिमित रह्यो । खैर त्यो मतलब भएन । तर, राहत नै गायब भएपछि कार्यालय घेर्न बाध्य भयौं,’ उनले भने, ‘हाम्रो उद्देश्य केवल कोही भोकै नरहोस्, गरिबले समयमै राहत पाओस् भन्ने हो ।’
नेपाल सरकारले राहत वितरणको मापदण्ड बनाई वडास्तरबाट दैनिक ज्याला मजदुरी गरी गुजारा गर्दै आएका विपन्न परिवारलाई राहत वितरणका लागि आह्वान गरेपछि राहत वितरणमा वास्तविक पीडितभन्दा राजनीतिक पूर्वाग्रह देखिएको र वास्तविक पीडितलाई बायकाट गरिएको आरोप पनि उनीहरुको छ ।
यस सम्बन्धमा वडा नम्बर ७ का वडाध्यक्ष रामकुमार यादवसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । लकडाउनबाट प्रभावित नागरिकलाई राहत दिन दोश्रो चरणमा प्रदेश सरकारले दिएको रकमबाट प्रत्येक वडालाई एकलाख पचीस हजार र नगरपालिकाबाट एकलाख पचीस गरी अढाई लाख रुपैयाँका दरले रकम उपलब्ध गराइएको छ ।
तर, जनप्रतिनिधिको उदासीनता र समन्वय अभावले हाससम्म अधिकांश वडामा दोश्रो चरणको राहत पुग्न सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…