जनकपुरः मिश्रको जाहेरीले साह पक्राउ
पत्रकारहरु उपर कुटपिट सहित समान समेत खोसेको भन्दै उनीहरुलाई कारवाहीको माग गर्दै जाहेरी दिएको थियो ।

२०७६ माघ १९ आइतबार, बेलुकी ७:२७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गत पुस २२ गते भएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर र पत्रकारहरुबीचको घटनामै एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले जनकपुरका धर्मेन्द्र साहलाई पक्राउ गरेको हो । मेयर–पत्रकारबीचको घटनामा अनिल मिश्रले दिएको जाहेरीको आधारमा व्यापारी समेत रहेका धर्मेन्द्र साहलाई पक्राउ गरिएको हो । उनलाई पक्राउ गरेपछि चौतर्फी आलोचना सहित उनको रिहाईको माग समेत गरिएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष समेत रहेका मिश्रले जाहेरी दिएपछि सोही जाहेरीको आधारमा साहलाई आज उद्योग वाणिज्य संघ धनुषाको सहभाहलबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषा लगिएको जनाइएको छ ।
गत पुस २२ गते जनकपुरका मेयर लालकिशोर साहको कार्यकक्षमा बाहिरबाट आएका धर्मेन्द्र साह, उपेन्द्र साह, अरुण साह र बज्रकिशोर सिँहले पत्रकारहरु उपर कुटपिट सहित समान समेत खोसेको भन्दै उनीहरुलाई कारवाहीको माग गर्दै जाहेरी दिएको थियो ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै मिश्रले पुस २२ गते पत्रकारहरु उपर कुटपिट सहित क्यामेरा खोसेको, मेमोरी खोसेको, बाहिरबाट मान्छेहरु आएर दुरव्यवहार सहित कुटपिट गरेको भन्दै भिडियोमा देखिएको चारै जना उपर जाहेरी दिएको बताउनुभयो । सोही अनुसार धर्मेन्द्र साहलाई छानविन तथा आवश्यक कारवाहीको लागि पक्राउ गरिएको जनाईएको छ ।

मिश्रका अनुसार, उपेन्द्र साह, अरुण साह र बज्रकिशोर सिँह उपर पनि जाहेरी दिइएको छ भने उनीहरु अझै प्रहरीका नियन्त्रणमा नआएको हो । मिश्रले नगरपालिकाका पदाधिकारी र पत्रकारहरुबीच भएको सहमति अनुसार बाहिरका ती घटनामा सँलग्नलाई कारवाही गर्ने, नगरपालिकाले बारम्बार गल्ती उपर गल्ती गरेको तथा कार्यपालिकाको निर्णयमा पत्रकारहरु उपर “अपराधी” शब्द प्रयोग गरेको भन्दै यसको लागि अर्को प्रक्रिया चाल्ने बताउनुभयो ।
साहलाई जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाइएको छ । साह भोली रिहा हुने पनि बताइएको छ ।
यता, साहलाई पक्राउ गरेपछि राष्ट्रिय जनता पार्टी नेपाल जिल्ला कार्य समिति धनुषाले एक प्रेस विज्ञप्ति जारी गर्दै उनको रिहाईको माग गरेको छ । यसका साथै समाजिक सञ्जालहरुमा समेत साहको रिहाईको माग उठाइएको छ ।
जारी गरिएको विज्ञप्तिमा प्रहरी प्रशासनसँग यी घटनालाई मिलाउने प्रयास भईरहँदा पनि एक आम सर्वसाधारणलाई यस्तो शैलीमा पक्राउ गर्नु भनेको जनकपुरलाई आतंकित बनाउन खोजेको उल्लेख गरिएको छ । यसका साथै , यस्ता गतिविधि बन्द नगरिए प्रशासन विरुद्ध कडा आन्दोलनको चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…