• २०७६ मङ्सिर २९ गते, आइतबार

Loading...



जानकी मन्दिरको २६ फिट जग्गा अतिक्रमण भएको ठहर !

वडाध्यक्ष साहले भने, अब त नाप नक्सा पनि भयो, के अब मेयर साप अक्रिमण गरी बनाइएको घर भत्काउँला त ? हामी प्रतीक्षामा छौं । 

फाईल तस्विर : Amrendra Kumar Yadav / Newsbureau
Loading...

न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरको जानकी मन्दिरको २६ फिट जग्गा अतिक्रमण भएको नापी कार्यालय धनुषाको निष्कर्ष छ । 

 

जानकी मन्दिरको फुलबारी भत्काएर नीजि घर बचाएको भन्दै स्थानीय युवाहरु विरोधमा उत्रिएपछि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नापीको लागि नापी कार्यालय धनुषालाई पत्राचार गरेपछि आज (बुधबार) गरिएको नापीमा दुई तर्फबाट २६ फिट जग्गा अतिक्रमण भएको ठहर गरिएको छ । जानकी मन्दिरको फुलबारीको स्केच नक्सा तयार गर्दै नापीबाट खटेका सर्वेक्षक प्रदीप कुमार साह, राम परीक्षण पण्डित, राम करण साह, रत्न कुमार साह, जगदिश साह र पुलकित साहले त्यो निष्कर्ष दिएका हुन ।


जानकी मन्दिरको जग्गा अतिक्रमण गरी घर बनाएको तथा त्यस घरलाई बचाउन र जानकी फुलबारी भत्काउन जनप्रतिनीधिहरुले नै मोटो रकमको चलखेल गरेको भन्दै निरन्तर रुपमा युवाहरु विरोध गर्दै आएका थिए । प्रदेश सरकार र नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रको निवेदनको आधारमा गरिएको फुलबारी नापीमा उत्तरतर्फको कुनाबाट ४.८८ मिटर अर्थात लगभग १६ फिट र दक्षिण पूर्व कुनामा ३ मिटर अर्थात १० फिट जति जग्गा अतिक्रमण भएको बताइएको छ । 


जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ स्थित रहेको जानकी फुलबारी ( जानकी मन्दिरलाई पालिकाको कुनै पनि वडामा गाभिएको छैन) को किता नं. ८ को नापी गर्दा पूर्व क्षेत्रफल भन्दा उत्तर कुना र दक्षिण पूर्व कुनाबाट जग्गा अतिक्रमण भएको पाइएको छ । नापी कार्यालयबाट खटेका सर्वेक्षकहरुले बनाएको स्केच नक्सामा रातो चिन्ह लगाएको जति अतिक्रमणमा परेको हो । अब अतिक्रमित जग्गालाई पुनः जानकी मन्दिरकै जग्गामा गाभिए त्यहाँ स्थित बनेको घरहरु भत्काउनुपर्ने देखिएको छ । 

न्यूज ब्यूरोसँग कुराकानी गर्दै जनकपुरधाम उपमहानगरपालिका वडा नं. ३ का वडाध्यक्ष दिपेन्द्र साहले भने, - "मैले बारम्बार फेसबुकमा ८५ लाखको हल्ला गर्दै आएका थिए र जानकी मन्दिरको जग्गा अतिक्रमण गरी घर बनाएको छ भनेर आवाज उठाउँदै आएका थिए, तर कसैले पनि त्यतिबेला त्यो कुरालाई स्वीकार गर्न सकिएनन, आज सरकारी स्तरबाटै भएको नापीमा जानकी मन्दिरको दुवै तर्फको जग्गा २६ फिट अतिक्रमण भएको ठहर भएको बजाबतै भएको छ । अब भन्नुस म गलत थिए की सही ?"-  उनले प्रश्न गरे । 


जानकी मन्दिरको पर्खाल भत्काएर केही नीजि घरहरुलाई मोटो रकमको चलखेल गरी नभत्काउँदै फुलबारी तर्फ सडक सारेको आरोप युवाहरुले लगाउँदै आएका थिए । नापी कार्यालय धनुषाको नाप नक्सा र निष्कर्ण अनुसार २६ फिट जग्गा अतिक्रमणमा परेको देखाएको छ । वडाध्यक्ष साहले भने, अब त नाप नक्सा पनि भयो, के अब मेयर साप अक्रिमण गरी बनाइएको घर भत्काउँला त ? हामी प्रतीक्षामा छौं । 

 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको चलानी नं. २७३ को गत कार्तिक २९ गतेको पत्राचार अनुसार नागरिक समाजको रोहबरमा जानकी मन्दिरको अतिक्रमित जग्गा नापजाँच गरी गरेको निवेदनको आधारमा नाप जाँच भएको हो ।  विगत केही महिनादेखि जानकी मन्दिरको फुलबारीलाई भत्काएर रकमको चलखेल गरी स्थानीय जनप्रतिनीधिले नै नीजि घरहरु बचाएको आरोप लगाएपछि विवाद भएको थियो । 
 



Loading...
त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित तराई-मधेशको No. 1 डिजिटल पत्रिका - "न्यूज ब्यूरो" | "सधैं ताजा, सबभन्दा तेज ।"
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...