• २०७६ कार्तिक ७ गते, बिहीबार



काठमाडौंमा मधेशीसँग समुदायकै आधारमा नश्लीय व्यवहार हुँदा...

जसले अहंकार पालेर बस्ने होइन, बरु सम्मान बाँड्दै माफी माग्ने हिम्मत गर्न सक्नुपर्छ ।

समाजिक सञ्जालमा फेसबुकमा मगंलबार दिउँसो अपलोड गरिएको एक भिडियो हेरेपछि थाहा भयो, एक टेलिभिजन कार्यक्रममा कलाकार रविराज साह र टेलिभिजनका कर्मचारी मनोज केसीवीच विवाद भएको रहेछ । विवादको कारण र आयतनबारे मलाई थाहा भएन ।

 

तर, यति चाहिँ थाहा भयो कि मनोज केसीबाट सम्प्रदायिकता र नश्लीय विभेदको भाव बोकेको अपशब्द प्रयोग भएको रहेछ । रविराजले चित्त दुखाउनुभयो । तराई मधेस राष्ट्रिय परिषद (टीएमएनसी) नामको संस्थाले रविराजको पक्षमा वकालत र्गयो । टेलिभिजन परिवारले पनि यसमा सहयोग गरेको बुझिन्छ । मनोज केसीले सार्वजाकिरुपमा माफी माग्नुभयो । अहिलेलाई बिबाद सल्टिएको छ । यस घटनामा केही सामान्य र केही असाधारण परिदृश्य देखियो । यसबारे थप चर्चा हुनु जरुरी छ ।

 

काठमाण्डौं लगायत पहाडी क्षेत्रका शहर–बजारमा मधेसी अनुहारसँग पहाडे समुदायका मानिसहरुले बेलाबेलामा दुब्र्यहार गर्नु कुनै नौलो कुरा होइन । पहाडे समुदायका अलिकति शक्तिशाली, प्रभावशाली, गुण्डा खालका मानिसहरुले मधेसीहरुसँग बेला–बेलामा प्रत्यक्ष वा परोक्षमा मस्र्या, मधेसी, धोती, कालेजस्ता शब्दहरु प्रयोग गर्दै कुनै थप अपशब्द प्रयोग गर्नु सामान्यजस्तै हो । यस्तो घटनाको सामना नगरेको मधेसी शायदै कोही होला ।

 

करिब तीन दशकको काठमाण्डौ बसाईमा मैले आफैँ अनेकौं पटक यस्तो दुर्व्यवहार बेहोरेको छु । पहिला–पहिला मधेसीहरु प्रायः प्रतिकार गर्दैनथे । ०६३ सालअघि त यसको रुप बिकराल थियो । यता आएर केही परिवर्तन भएको छ । यसपटकको घटना विशेष यसकारण हुन गयो किनभने रविराजले प्रतिकार गर्नुभयो । टिमएनसीले यसको अगुवाइ र्गयो । टेलिभिजन परिवारले पीडित र पैरबी गर्ने दुबैको कुरा सुन्यो । यी सबैको परिणामस्वरुप मनोजले माफी माग्नुर्पयो ।

 

समस्या यतिमै सकिँदैन । संयोगले परिवेश मिल्न गएका कारण यहाँ अर्को एउटा प्रसँग उल्लेख गर्न चाहन्छु । गत वर्ष एक अध्ययनका क्रममा पूर्वदेखि पश्चिमसम्मका मधेसका जिल्लाहरुमा सैयौँ मधेसीहरुसँग भेट्दै एउटै प्रश्न सोधेका थियौं । ‘तपाई आफैँलाई चैँ मधेस आन्दोलनले किन छोयो ? कुनै ब्यक्तिगत घटना भए सुनाउनुहोस् ।’ 
‘मधेसी भन्दै गाली खाएको, दुव्र्यबहार खेपेका कारण मधेसी आन्दोलनमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी भएको ।’ लगभग सबै उत्तरदाताको एकैखालको उत्तर र ब्यक्तिगतरुपमा दुर्व्यवहार खेपेको पीडाभाव देखेपछि अध्ययन टोलीमा रहेका युनिभर्सिटी कलेज लण्डन (बेलायत)का प्राध्यापक तेजेन्द्र फेरालीलाई पनि आश्चर्य लागेको थियो ।

 

उत्तरदाताहरुमध्ये कसैले पुलिसबाट, कसैले सरकारी कर्मचारीबाट, कसैले बसको स्टापबाट, कसैले टयाक्सी ड्राइभरबाट, कसैले बाटोमा हिंडने बटुवाबाट, कसैले आफ्नै सहकर्मीबाट, कसैले आफनै मातहतका कर्मचारीबाट, कसैले गुण्डा, बदमासबाट साम्प्रदायिक र नश्लीय विभेद, गाली र अपशब्द सुनेको र त्यसकारण कहिले क्रोध त कहिले ग्लानी बोध गरेको बताएका थिए ।

 

हामी भन्छौँ– "मधेस आन्दोलन राज्यको पुनर्सरचनाका लागि भएको थियो । त्यसकारण, हाम्रा मागहरु राज्यका विभिन्न संरचनाहरुमा परिवर्तनका लागि संविधानका विभिन्न धारा, उपधारा, ऐन, नियमसँग सम्बन्धित छ । तर, मानिसहरु त आफनो ब्यक्तिगत पीडा, ग्लानी, क्रोध वा बदलाको भावका कारण पो आन्दोलनमा लाग्दारहेछन् ।"

 

त्यसकारण, मधेस आन्दोलन केबल संविधानमा अधिकारका लागि मात्र थिएन÷छैन । यो मूलतः सम्मानको लडाई पनि हो । स्वाभिमानका लागि भइरहेको संघर्ष हो । संविधानमा, ऐन, कानुनमा कसैसँग विभेद नहुने लेख्दैमा समाजमा अपहेलना, ग्लानीबोध हुने गरी हुने विभेद वा अनेकौँ रुपका हिंसा समाप्त भइहाल्दैनन् । अहिले भएको घटना विशुद्ध सामाजिक प्रकारको छ । तर, यसको निरुपण गर्ने निकाय राज्यमा छैन । रविराजले कुनै प्रहरी कार्यालयमा गएर उजुरी गरेको भए केही पनि हुनेबाला थिएन् ।

 

तीन दशकको काठमाण्डौ बसाईका क्रममा कैयौँपटक मैले स्वयं, मेरा परिवारका सदस्य वा नजिकका साथीभाइले यस्तो दुब्र्यबहार बेहोरेका छन् । धेरैपटक प्रहरीमा पुगेको छौं । काँही कतै कारवाही भएको छैन । आश्चर्य त तव लाग्छ, जब प्रहरी प्रशासनले यस्तो घटनालाई गम्भीरतापूर्वक लिनुको सट्टा कि त उडाइदिन्छ, कि त अत्यन्त हल्कारुपमा लिएको हुन्छ ।

 

आज विश्वभरि लैगिंक हिंसाको बहस चलिरहेको छ । नेपालमा कार्यरत विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय संघ–संस्थाहरु लैगिंक हिंसाबारे काम गर्छन् । ती सबैका प्रयासस्वरुप आज प्रहरी प्रशासनमा लैगिंक हिंसा पीडितहरुका लागि छुट्टै डेस्कको व्यवस्था छ । पीडित महिलासँगको केबल महिला प्रहरीले सोधपुछ गर्ने व्यवस्था छ । त्यस्ता पीडितका लागि अस्पतालमा उपचारको छुट्टै वार्डको ब्यवस्था भइरहेको छ । तर, नश्लीय वा साम्प्रदायिक विभेद र हिंसाको उजुरी गर्ने नेपालको प्रहरी, प्रशासनको संरचनामा कुनै छुट्टै निकाय वा सेल छैन ।

 

काठमाडौंमा मधेसीले गाली खाँदा पहाडे समुदायका कुनै व्यक्तिले गाली गरेको हुन्छ । प्रहरीमा उजुरी लिएर जाँदा त्यही समुदायका प्रहरी हुन्छन् । नभएर त्यस प्रहरीको हाकिम पहाडे नै हुने हो । पीडितभन्दा पीडकलाई सामाजिक सहजता र प्रत्यक्ष÷अप्रत्यक्ष सहयोग प्राप्त हुने सम्भावना रहन्छ । धेरै ठाऊँमा त्यही देखिएको पनि छ । अनि किन कुनै मधेसी प्रहरी कहाँ जाओस् ?

 

केही महिनाअघि काठमाण्डौको बसुन्धारामा एक युवा पसलेलाई मधेसी भन्दै निर्घात कुटिएको थियो । यस्तो दुब्र्यबहारबाट सबैभन्दा बढी तरकारी, फलफूल बेच्नेहरु पीडित हुने गरेका हुन्छन् । तर, प्रशासनिक कारवाही भएको सुनिँदैनन् ।

 

केही महिनाअघि नीति अध्ययन प्रतिष्ठानमा एक छलफल कार्यक्रम आयोजना गरिएको थियो । प्राध्यापक चैतन्य मिश्रको अग्रसरतामा भएको उक्त कार्यक्रममा पहाडी–मधेसी सम्बन्ध सुधारमा के कस्तो नीतिगत व्यवस्था हुनुपर्ने मुख्य विषय थियो । देशका विभिन्न भुभागमा यस्ताखालका घटना हुने गरेकोमा सबै सहभागीहरु सहमत थिए ।

 

मधेस बाहुल्य समाजमा पनि उस्तै

पहाडी बहुलक्षेत्रमा मधेसीसँग यस्तो दुव्र्यवहार वा हिंसा हुने हो, मधेसी बहुलक्षेत्रमा पहाडेसँग पनि यस्तैखालको हुन सक्छ । यदाकदा हामी हिन्दु–मुस्लीमबीच पनि यस्तै प्रकारका घटनाहरु सुन्छौँ । दलितसँग पहाड मधेस सबैतिर बिभेद, हिंसा भइरहेकै हुन्छ । धेरै घटनाहरु बाहिर आउँदैनन् । आएका सबै घटनाको उपचार खोज्ने कानुनी व्यवस्था छैन ।

 

कानुनी व्यवस्था भएकोमा प्रशासनिक जटिलता हुने गर्छ । सामान्यतया बर्चस्ववादी सोचले यस्ता समस्याहरुलाई समस्यै नदेख्ने, पीडितमध्ये सबैले प्रतिकार गर्न नसक्ने तर ग्लानी, पीडाबोध सबैले गर्ने यो एक बिषम सामाजिक समस्या हो । यसबारे सबभन्दा पहिला पीडितले प्रतिकार गर्न सक्नुपर्छ, रविराजलेजस्तै ।

 

राज्यले पनि कानुनी र संरचनागत सामाधानको व्यवस्था गरिदिनुपर्छ । संस्थागत संवेदनशीलता र सहयोगले मध्यस्थता मात्र गर्ने हो । सबैभन्दा महत्वपूर्ण भूमिका समाज र व्यक्तिको नै हुन्छ । समाजमा सोच बदल्नुपर्छ । काठमाण्डौमा धेरै मनोज केसीहरु जन्मिनुपर्छ, जसले अहंकार पालेर बस्ने होइन, बरु सम्मान बाँड्दै माफी माग्ने हिम्मत गर्न सक्नुपर्छ ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...