• २०७६ भदौ ३० गते, सोमबार

पाइपलाइनको उद्घाटन गर्दै मोदीले भने , 'चाँडै नेपाल आउने प्रयास गर्नेछु'

उनले ट्वीट गर्दै यसलाई ठूलो उपलब्धि र दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरेका छन् ।

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँडै नेपाल आउने प्रयास गर्ने बताएका छन् । 

 

भिडियो कन्फरेन्स मार्फत् आज (मंगलबार) गरिएको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन उद्घाटनको क्रममा उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भ्रमणको निम्तो जवाफमा भारतीय प्रम मोदीले आफ्नो पनि नेपालको प्रकृतिको काखमा आउने ईच्छा रहेको भन्दै चाँडै नै आउने प्रयास गर्ने बताए ।

 

आजदेखि संचालनमा आएको नेपाल–भारत अन्तर्देशीय पेट्रोलियम पाइपलाइन परियोजना समयमै सम्पन्न भएकोमा मोदीले सन्तोष व्यक्त गरेका छन् । पाइपलाइनको हैदरावाद हाउसबाट स्वीच थिचेर उद्घाटनपछि उनले ट्वीट गर्दै यसलाई ठूलो उपलब्धि र दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गरेका छन् । मोदीले एशियाकै पहिलो अन्तर्देशीय पेट्रोलियम पाइपलाइन अपेक्षा भन्दा आधा समयमै बनेर तयार भएकोमा दुबै देशको संयुक्त प्रयास मुख्य भएको बताएका छन् । उनले नेपालको प्राथमिकता अनुसार विकासमा सहयोग गर्ने जनाएका छन् । 

 

नेपाल भारत सहयोगका परियोजनाहरुको काम सन्तोषजनक रुपमा अघि बढेको बताए । मोदीले भारत र नेपालबीच सदियौं पुरानो पारिवारिक र सांस्कृतिक सम्बन्ध भएको उल्लेख गर्दै जनता जनताबीचको सम्बन्ध दुई देशबीचको द्विपक्षीय सम्बन्धको आधार भएको जिकिर गरे ।  विगत डेढ दशकदेखि चर्चामा रहेको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन उद्घाटनसँगै पूर्णता पाएको छ । आजदेखि पाइपलाइन मार्फत् नै नियमित रूपमा तेल आपूर्ति सुरु भएको छ ।

 

मोतिहारी अमलेखगंज पेट्रोलियमा पाइपलाइन उद्घाटनसँगै पेट्रोल, डिजल र मट्टीतेललको भाउ पनि घटेको छ । आयल निगमले मंगलबार दिउँसो १२ बजेदेखि लागु हुनेगरी काठमाडांै थानकोटबाट १५ किलोमिटर क्षेत्रभित्र पेट्रोल, डिजल र मट्टीतेललको मूल्य २ रुपैयाँका दरले घटाएको हो ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...