• २०७६ भदौ ३० गते, सोमबार

मोतिहारी–अमलेखगञ्ज पाईपलाईन उद्घाटन आज : तेलको मूल्य घट्ने ?

पाइपलाइनबाट प्रतिघन्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घन्टामा ४८ लाख लिटल डिजल आउनेछ  ।

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदैछ ।

 

पाइपलाइनको नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहान १२ बजे स्विच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले काठमाण्डौको सिंहदरबारबाट र मोदीले नयाँ दिल्लीको हैदराबाद हाउसबाट संयुक्त रुपमा स्विच थिचेपछि पाइपलाइनबाट तेल आउनेछ ।

 

पेट्रोलियम पाइपलाइनको उद्घाटनका लागि भारतीय आयल कर्पोरेसनका कार्यकारी निर्देशक अविजित चौधरीसहितको टोली अमलेखगञ्ज आइसकेको छ । २०७२ सालमा भएको सम्झौताअनुसार भारतले ७० किलोमिटर लामो पाइपलाइन बिच्छाइदिएको हो ।

 

७० किलोमिटर लामो पाइपलाइनमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ । सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भए पनि अहिलेसम्म भारतले मात्रै खर्च गरेको छ । अहिलेसम्म भारतले २ अर्ब २५ करोड भारु खर्च गरेको छ ।

 

नेपालमा डिजलको माग धेरै भएकोले पाइपलाइनबाट सुरुमा डिजल मात्रै आउनेछ । पाइपलाइनबाट प्रतिघन्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घन्टामा ४८ लाख लिटल डिजल आउनेछ  । अहिले अमलेखगञ्जबाट दैनिक २० लाख लिटर मात्रै डिजलको माग भएकाले अन्य नाकाबाट तेल लिन भारत जाने ट्यांकरले पनि अमलेखगञ्जबाटै डिजल लैजान सक्ने डिपो प्रमुख प्रदिप यादवले जानकारी दिए ।

 

पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भैसकेका छन् । यस्तै सुरक्षाका सबै उपकरण पनि जडान भैसकेका छन् । पाइपलाइनमार्फत आउने तेल कन्ट्रोल र नापजाँचका लागि अत्याधुनिक कम्युटर कन्ट्रोल रुम पनि बनिसकेको छ ।

 

मंगलबार उद्घाटन भए पनि फिनिसिङको काम भने सकिएको छैन । फिनिसिङका सबै काम सकेर भारतले परियोजना नेपाललाई हस्तान्तरण गर्नेछ । पाइपमार्फत तेल आउन थालेपछि डिजलको मूल्य घट्ने निगमले जनाएको छ । 

 

अहिले अमलेखगञ्ज डिपोको लागि मासिक २० करोड रुपैयाँ ढुवानी भाडा भारतबाट डिजल ओसार्दा लाग्ने गरेको छ ।
 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...