• २०७६ भदौ ३० गते, सोमबार

नगरका बच्चा भविष्य हुन भने जेष्ठ नागरिक हाम्रा धरोहर : कान्छो मेयर 

प्रसुति महिलालाई पोषणको कुनै कमि हुन नदिने प्रतिवद्धता जाहेर गरे । 

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले जेष्ठ नागरिक नगरको धरोहर भएको बताएका छन् । 

 

शनिबार शहिदनगर नगरपालिकाले आयोजना गरेको जेष्ठ नागरिक र प्रसुति महिलाहरुको स्वास्थ्य जाँच तथा औषधी वितरण कार्यक्रममा मेयर बरबरियाले नगरका बच्चाहरु हाम्रा नगरका भविष्य हुन भने जेष्ठ नागरिक नगरका धरोहर रहेको बताएका छन् । शहिदनगर नगरपालिकाभित्र रहेको आयुर्वेद औषधालयको सहयोगमा नगरकी प्रसुति महिला र जेष्ठ नागरिकको लागि सम्मान सहित निःशुल्क औषधी वितरण समेत गरेका हुन् ।

 

आयुर्वेद औषधालयद्धारा जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम तथा प्रसुति महिलालाई दुधको मात्रा वृद्धि गर्ने वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर बरबरियाले जेष्ठ नागरिकले सिँचेका समाजबाट हुर्केका वर्तमान सन्ततिले जेष्ठ नागरिकको सम्मान गर्न छाडेको प्रति दुःख व्यक्त गर्दै शहिदनगर नगरपालिकाले जेष्ठ नागरिक सहित प्रसुति महिलालाई पोषणको कुनै कमि हुन नदिने प्रतिवद्धता जाहेर गरे । 

 

उनले भने, - "यो शिविर र कार्यक्रम जेष्ठ नागरिकको सम्मानमा मात्र नभई उनीहरुको स्वास्थ्यको दृष्टिकोणले पनि आयोजना गरिएको छ । जेष्ठ नागरिकको स्वास्थ हाम्रो नगरको स्वास्थ्य हो र यसलाई सबलीकरण गर्नको लागि नगरपालिकाले कुनै कसर बाँकी राख्ने छैन । जन्मेका बच्चा यस नगरको लागि भोलीका कर्णाधार हुन र यसको लागि नगरपालिकाले सानो प्रयासको सुरुवात गरेको छ । अब निरन्तर रुपमा यस्ता कार्यक्रमलाई प्रश्रय दिइनेछ ।" 

 

वडाध्यक्ष नागेन्द्र प्रसाद मण्डलको अध्यक्षता एवम् नगरकी उपमेयर शिला देवी कापरको विशिष्ट आतिथ्यमा विहान ७ बजेदेखि दिउँसो १२ सम्म आयोजना गरिएको स्वास्थ्य चेकजाँच तथा औषधी वितरण कार्यक्रमको दौरान नगरका १ सय ३७ भन्दा बढी जेष्ठ नागरिकले सेवा लिएका छन् भने ३० बढी महिलाहरुले स्वास्थ्य चेकजाँच सहित निःशुल्क रुपमा आयुर्वेदिक औषधी लिएको जनाइएको छ । 

 

सो कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले आयुर्वेद औषधालय समय सापेक्ष रुपमा सँचालन हुनुपर्ने तथा यसलाई वर्तमान तवरझैं निरन्तरता दिनुपर्ने बताए । उनले नगरका जनताहरुले आयुर्वेद औषधालयबाट बढी भन्दा बढी लाभ लिनको लागि अग्रसर हुनुपर्ने बताउँदै औषधालयमा औषधीको कमी वा कुनै प्रकारको कठिनाई भोग्नु परे सम्बन्धित निकाय नगरपालिकामा तत्कालै जानकारी गराउन आग्रह समेत गरे । 

 

कविराज नीरिक्षक राम छविला यादवले सँचालन गरेको सो कार्यक्रममा मिथिला आयुर्वेद क्याम्पसका वरिष्ठ कविराजहरुद्धारा स्वास्थ्य चेकजाँच सहित जेष्ठ नागरिक र प्रसुति महिलाहरुलाई समेत निःशुल्क औषधी वितरण गरिएको जनाइएको छ । वितरण कार्यक्रममा नगरपालिकाका लेखा अधिकृत लोक बहादुर नेपाली, जिन्सी शाखाका सुदीप भट्टराई, पोषण शाखाका अधिकृत रुपेश विराजी, कम्पयुटर अपरेटर विष्णुदेव यादव लगायत अन्य कर्मचारी सहित जनप्रतिनीधिहरु लगायत सर्वसाधारण जनताको सहभागीता रहेको थियो । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...