• २०७६ भदौ ३० गते, सोमबार

सरोज राय भन्छन्, : 'उमेशको मृत्यूदण्ड फिर्ता भयो, नेपाल ल्याउन मात्र बाँकी छ'

उमेश यादवबारे सर्वप्रथम न्यूज ब्यूरोले लेखेको समाचार भाईरल बनेपछि यो प्रकरणले चर्चा पाएको थियो । त्यसलगत्तै सरोज रायले प्रयास थालेका थिए ।

न्यूज ब्यूरो, सउदी । धनुषाका उमेश यादव बचाउ अभियानका अगुवा सरोज रायले उमेश यादवको मृत्यूदण्डको सजाय फिर्ता भएको दाबी गरेका छन् । हालाकी यसलाई अधिकारी पुष्टि भने गरिएको छैन् । 

 

साउदीमा विगत १३ वर्षदेखि कैदी जीवन विताइरहेको धनुषाको कमला नगरपालिका वडा नं. ३ पर्सा टोलका ३८ बर्षिय उमेश यादवको मुद्दा फैसला भएको भनेर रायले आफ्नो फेसबुकमा लेखेका छन् । उनले सउदी स्थित अदालतलाई उदृत गर्दै गत अप्रिल महिनामै उमेशको मुद्दाको फैसला भएको र उनको मुद्दामा उपल्लो अदालतले माफीनामा माग गर्दै उनको मृत्यूदण्डको सजाय फिर्ता भएको भनेर लेखेका छन् । 

 

केही महिनाअघि मात्र ९९.९ प्रतिशत उमेश नेपाल फर्कने दाबी गरेका रायले विहिबार आफ्नो फेसबुकमा ९० प्रतिशत उम्मीद देखाएका छन् । उनले सउदीको उपल्लो अदालतले उनको मृत्यू दण्डको सजाय फिर्ता लिएको जनाएका छन् । ( कुनै पनि सम्मानीय अदालतले एक पटक फैसला गरेपछि त्यही फैसला लकिर हुन्छ, त्यही मुद्दामा एउटै अदालतले फिर्ता लिन सक्दैन, तल्लो अदालतबाट चित्त नबुझे उपल्लो अदालत गुहार्ने व्यवस्था रहेको छ र त्यही अनुसार उमेशको मुद्दा उपल्लो अदालतमा थियो । )


उनले उमेशको मुद्दा फिर्ता भएको दाबी गर्दै उमेशलाई नेपाल ल्याउन सउदी जानुपर्ने भएपनि नेपालबाट सउदीको लागि भिसा नपाएको दुःखेसो पोखेका छन् । उनले उमेशलाई ल्याउन कम्तीमा ४५ दिन लाग्न सकिने र त्यो भन्दा बढी पनि लाग्न सकिने उल्लेख गरेका छन् । यता, नेपाली दुतावासले समेत उमेशको काण्डमा उच्च अदालत गुहारेको दाबी गर्दै आएका छन् । 

 

केही बर्ष अघि नै उमेशलाई मृत्यू दण्डको फैसला सुनाएपछि सउदी स्थित रहेको नेपाली दुतावासले उनलाई मृत्यूदण्डबाट बचाउको लागि उपल्लो अदालतमा मुद्दा गरेको दाबी गर्दै आएको छ । दुतावासले उपल्लो अदालतमा गुहार गरेकै कारण उमेशको मृत्यूदण्डको सजाय पेन्डिंङग अर्थात रोकिएको थियो भनेर दाबी दुतावासको छ । यता, सरोज रायले पनि आफूले नै मृत्यूदण्ड रोकाएको दाबी गरेका छन् । 


दुतावासले केही वर्ष अघिदेखि नै उनको मुद्दामा लागि रहेका छन् भने सरोज राय गत वर्ष मात्र उनको मुद्दामा चासो लिएका थिए । यसअघि दुतावासले उनको मुद्दाको रेखदेख गर्दै आएको थियो । दुतावासको प्रयासमा उनको फाँसीको सजाय रोकिएको राजदुत महेन्द्र सिँह राजपुतले दाबी गरेका थिए । 

 

 

उमेश बचाउ अभियानमा सरोज रायको प्रयास अथक र प्रसंशनीय रहेको छ । उमेश यादवबारे सर्वप्रथम न्यूज ब्यूरोले लेखेको समाचार भाईरल बनेपछि यो प्रकरणले चर्चा पाएको थियो । त्यसलगत्तै गत वर्ष सरोज रायले उमेशको मुद्दामा चासो लिएर उमेशलाई जेलबाट निकाल्ने प्रयास थालेका थिए ।


सरोज रायले आफनो फेसबुकमा लेखेका छन् :

उमेश यादव कहिले फर्किने?

सउदी अदालतबाट केहि महिना पहिला अप्रिल तिर मात्र उमेश यादवलाई दिएको मृत्युदण्डको सजाय फिर्ता लिएको फैसला आयो । उक्त फैसला वारे साउदीमा रहेको नेपाल दुतावासले हाम्रो परराष्ट्र मन्त्रालयलाई पनि जानकारी गरायो तर यसवारे मलाई कतैबाट कुनै जानकारी गराइएन। पछि विशेष स्रोतबाट जानकारी हुँदा फैसला आएको दुई महिना पछि परराष्ट्र पुगें र अदालतले गरेको फैसलाको प्रतिलिपि प्राप्त गरे। अदालतको फैसलामा प्रष्ट रुपले मेरो र पाकिस्तानी परिवार बीच भएको माफिनामा सम्झौता वारे उल्लेख गरिएको रहेछ, साथै पाकिस्तानी परिवारलाई प्राइभेट राइट्सको अधिकार अनुसार माफिनामको साथ ब्लडमनि वापत सम्झौता गरिएको अनुसार ३० लाख दिएर प्रमाण ल्याउन भनेर उल्लेख गरिएको छ।

 

सुरुमा अभियन्ता सरोज राय पाकिस्तान गएको बेलाको तस्विर ।

तत्पश्चात पाकिस्तानी परिवारलाई ब्लड़मनी दिन र माफिनामा लिन तेस्रो पल्ट पाकिस्तान गए। पहिलाको दुई दौरा झैं यसपाली पनि पाकिस्तानी विधार्थी फहद काँहा बसे। फहद काइदे आजम विश्वविधालयको छात्र हुन् र उनका घर इस्लामावाद बाट ५५० कि.मि. टाढा पन्जाब प्रान्तमा पर्दछ। पाकिस्तान जानु अगाडी फहदसंग यंही बाट कुरा भएको थियो, विश्वविधालयमा छुट्टि भएपनि उंहा मेरो लागि इस्लामाबाद आएको थियो। यति मात्र होइन कराची बाट फरहान पनि इस्लामाबाद आइपुग्यो।

 

पहिलो चोटी जसरी माफिनामा लिन इस्लामाबाद बाट ५०० कि.मि. टाढा फैस्लावाद गएर परिवारलाई राजी गरे र वकिल राखेर सम्झौता गरे, त्यसभन्दा बढी चुनौतिको सामना यसपाली ब्लडमनी दिएर माफिनामा लिनमा लाग्यो। सुरुको एक हफ्ता नेपाल दुतावास दौडधुप मै गयो। धन्य छ, दुतावासमा पारस पण्डित जस्ता सहयोगी मनको कर्मचारी रहेछ। उंहाले भनेको जस्तो सहयोग गर्नुभयो । यता दुतावास ब्लडमनी वापतको रकम व्यवस्था गर्नमा लागे र आठौँ दिन हामी फैसलावाद जाने तयारीमा जुटे तर अत्यधिक गर्मीको कारण विमार भए र अस्पताल भर्ना हुनु पर्यो । एक दिनको विश्राम पछि हामी फैसलावाद पुग्यौं । पाँचै दाजुभाइलाई अदालत बोलाए जहाँ हाम्रो वकिल मो. नाकासले माफिनामा सम्बन्धित सबै कागजात बनायो, सहिछाप भयो तर अहिले सम्म ब्लडमनी वापतको रकम परिवार लाई हस्तान्तरण भएको थिएन, त्यसैले पिडित पक्षको एक जना सदस्य र वकिल समेतलाई लिएर हामी इस्लामावाद फर्कियों । ब्लडमनी रकमको लागि हामी दुतावास गयौं तर त्यो दिन केहि नमिलेको कारण रकम पिडित परिवारलाई हस्तान्तरण हुन् सकेन। दुतावासले तिन-चार दिन पछिको समय दिएको हुनाले वकिल र पिडित सदस्य फैसलावाद फिर्ता भए।

 

यता दुई हफ्ताको लागि रहेको मेरो भिसा सक्यो, काम पुरा भएको थिएन, जे हुन्छ देखा जाएगा तर काम पुरा नगरी नफर्किने मन बनाएर बसें । ४-५ दिन पछि फैसलावाद बाट पिडित परिवारको दुई जना सदस्य र वकिल फेरी इस्लामावाद आए र यसपाली हाम्रो राजदुतले नै ३० लाखको एकाउन्ट पेइ चेक हस्तान्तरण गर्नु भयो । दुतावासले पिडितसंग गर्नुपर्ने कागजी प्रकृया पुरा गरे। ब्लडमनी वापतको रकम पाइसके पछि पिडित परिवारले माफिनामा लगायत सम्बन्धित कागजातहरु मेरो जिम्मा लगायो ।

 

तर अझ पनि काम पुरा भएको थिएन, एक देशको कागजात अरु देशमा मान्यता हुनलाई परराष्ट्रबाट अटेस्टेड भएको हुनुपर्छ। यंहाबाट हामी attestation गराउने प्रकृयामा जुटे। पिडित परिवारले आफ्ना एकजना सदस्य नुर (मृतकको दाई) लाई अख्तियारी दिएको थियो तर कन्सुलर विभागले परिवारको सबै जनालाई उपस्थित गराउन भने। फेरी फैसलावादबाट पाँचै दाजुभाइलाई इस्लामावाद लिएर आएर कन्सुलर विभागमा उपस्थित गराए, सहिछाप भयो र कन्सुलर कर्मचारीले भोलि आउन भने। यति सुन्न साथ मन खुश भयो, अब काम बन्छ भनेर, एकातिर भिसा सकेको अर्को तिर आर्थिक भार बढ्दै गएको थियो, पिडित परिवार र वकिल लगायत सबैलाई इस्लामावाद आवत जावतको खर्च, बस्न खान खर्च मैले नै व्यहोर्नु परेको थियो । तर अर्को दिन कन्सुलरले अदालतबाट एउटा कागज ल्याउन भने, वकिलको भनाई अनुसार कन्सुलर विभागले यो कागजको मांग गर्ने कुनै तुक नै रहेको छैन, हैरान मात्र गर्न खोजेको हो । कन्सुलर कर्मचारीलाई धेरै सम्झाए, अन्तमा उनले अदालतबाट न्याधिशको दस्खत मफिनामा पत्रमा गराएर ल्याउन भन्यो । हामी रावल पिंडी स्थित अदालतको जज समक्ष पिडित परिवारलाई उपस्थित गराएर उंहाको दस्खत लिएर फेरी कन्सुलर विभाग आए । कर्मचारीले सकभर काम गराउने कोशिस गर्छु भन्दै हामीलाई दुई पछि बोलायो । दुई दिन पछि कन्सुलर विभाग पुग्दा कर्मचारीले काम नभएको दुखद खबर सुनायो, फैसलावादको अदालातबाट कागजात चाहिने नै बतायो । कन्सुलर विभागबाट काम नभए पछि विभागको निर्देशक संग नै भेटेर कुरा राख्छु भनेर मन बनाए, उच्च अधिकारी संग भेट्न ४ दिन परराष्ट्र कुद्नु पर्यो अन्तमा निर्देशक संग भेट्ने मौका पाए तर त्यंहा पनि काम बनेन । पाकिस्तानको कानुन प्रकृया नै यस्तो होला, अदालतबाट कागजात चाहिने नै भयो । तर उक्त कागजात लिन कम्तिमा पनि ४५ दिन लाग्छ । यति लामो समय सम्म पाकिस्तान बस्न म संग अनुमति थिएन । अन्तमा परराष्ट्रको attestation विना नै सबै कागजात लिएर २४ दिनको बसाइ पछि म नेपाल फिर्ता भए ।

 

अहिले पनि मलाई पुरा विश्वास छ कि जुन कागजात लिएर म नेपाल फर्के त्यहि कागजातमा उमेश यदाव जेलबाट रिहा हुने ९०% सम्भावना रहेको छ तर पनि आफुबाट कुनै चुक नहोस भनेर पाकिस्तानमा अदालती प्रकृया पनि जारी रहेको छ, यहि sep ४ मा अदालतले समय दिएको छ । यता पाकिस्तानबाट नेपाल फर्केको दिन देखि नै साउदीको भिसाको लागि निरन्तर सम्बन्धित निकाय संग प्रयाश गर्दैछु तर अहिले पनि भिसा पाएको छुईन । सार्वजनिक रुपमा यंहा सबै कुरा खोल्न पनि सक्दिन । पाकिस्तानबाट ल्याएको सबै कागजात सउदी अदालतमा पुगेपछि मात्र उमेश यादवको रिहा हुने प्रकृया सुरु हुनेछ । उडेर म साउदी जान सक्दिन भिसा नै चाहिन्छ र भिसा साउदीमा रहेको नेपाल दुतावासले दिने हो । प्रयाश जारी छ ।

 

तर सामाजिक संजालमा केहि जनाको टिक्का टिप्पणी हेरेर हैरान हुन्छु, प्रश्न यसरी गर्छ मानौं उमेश यादवलाई जेलबाट निकाल्न म कुनै टेन्डर लिएको थिए र निश्चित समय सिमा भित्र काम हुनै पर्छ रे !! सबैले बुझ्ने पर्ने के हो भन्ने १२ वर्ष देखि जेलमा रहेको उमेश यादवलाई बचाउन मैले प्रयाश गरेको थिए जुन सफल भएको छ । उमेश यादव बचाउ अभियान अन्तर्गत मैले कति समय खर्च गरे, महिनों घर-परिवारलाई छोडेर टाढा बसें, अनेकौं चुनौतिको सामना गरें जस्ता विषयबस्तु आफ्नै ठाउँमा रहे पनि उमेश यादवको मृत्युदण्ड रोकिएको छ, मेरो लागि यहि ठुलो विषय हो । अब कागजी प्रकृया पुरा भयो भन्ने उमेश आज न भोलि नेपाल निश्चित नै फर्किने छ । र यो अभियान सकिए पछि हरेक हर-हिसाब पनि सार्वजनिक हुनेछ । धर्य त् राख्नु पर्यो नि !

 

सउदी दुतावासले भन्दैछ कि पाकिस्तानबाट ल्याएको सबै कागजात हुलाक वा कुनै एक्सप्रेस मेलबाट पठाउनुस, पठाउन सकिन्छ तर यति महत्वपूर्ण कागजात हराए भने त्यसको जवाबदेही कसले लिन्छ? फेरी यंहा कुरो उमेश यादवको मात्र छैन, उदयपुरको विवेक दाहाल पनि उमेश यादव संगै त्यहि जेलमा विगत १३ वर्ष देखि एक नेपालीको हत्या अभियोगमा सजाय काटी रहेको छ, नेपालबाट माफिनामा गएको पनि ४ वर्ष हुन्न लाग्यो तर मुद्धा विचाराधीनमा रहेको छ । यता नेपालमा रहेको मृतक परिवारले पनि विवेकलाई बचाउन मलाई अख्तियारनामा दिएको छ । विवेकलाई एक अन्तिम प्रयाश गर्न चाहन्छु, त्यसले बाँच्छ कि बाँच्दैन यो प्रयाश गरेपछि थाहा हुन्छ तर प्रयाश गर्नलाई पनि साउदीको भिसा चाहिन्छ र सरकारले यो मौका दिनु पर्ने हो ।

 

 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
Loading...