• २०७६ भदौ ८ गते, आइतबार
०५:३३ pm

सिरहाका एसपीलाई सहभागीको प्रश्न : 'पैसाको लेनदेन नमिलेर होटेलमा छापा हानिन्छ, हो ?'

प्रहरी उपरीक्षक चतुर्वेदीले अपराधिक गतिविधि न्यूनिकरणका लागि सबैको सहयोग, सहकार्य र प्रयास आवश्यक रहेको जिकिर गरे ।

तस्वीर : बिनय यादव

न्यूज ब्यूरो, सिरहा । मानव बेचबिखन तथा ओसारपोसार रोकथामका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जिकिर गरेका छन् ।

 

सिरहाको मिर्चैयामा बुधबार आयोजित ‘मानव बेचबिखन तथा ओसारपोसार समस्या एवं न्यूनिकरण सम्बन्धि अन्तरक्रिया कार्यक्रम’ नामक अन्तरक्रियात्मक कार्यक्रममा प्रहरी उपरीक्षक चतुर्वेदीले अपराधिक गतिविधि न्यूनिकरणका लागि सबैको सहयोग, सहकार्य र प्रयास आवश्यक रहेको औल्याएका हुन् ।

 

मानव बेचबिखन, ओसारपोसार तथा होटेलहरुमा हुने गरेको अनैतिक कार्यको बढ्दो अवस्थालाई न्यूनिकरणको उद्देश्यले ईलाका प्रहरी कार्यालय मिर्चैया, ईलाका प्रहरी कार्यालय गोलबजार तथा समाजिक संस्था मुक्ति नेपाल गोलबजारको आयोजनामा अन्तरक्रियात्मक कार्यक्रम गरिएको हो ।

 

नेपाल प्रहरीको ‘हर प्रहर गाउँ–नगरी, टोलटोलमा नेपाल प्रहरी’ नारासहित संचालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

 

अधिकांश होटेलहरुमा हुने देहव्यापार तथा अनैतिक कार्य पनि मानव बेचबिखन नै भएको तथा मानव बेचबिखन सम्बन्धि समस्या समाधानको लागि यस्तो कार्यक्रमको आयोजना गरेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुकदेव खनालले जनाए । कार्यक्रममा डिएसपी खनालले मानव बेचबिखन तथा ओसारपोसार बारे प्रकाश पार्दै यसको नियन्त्रणको उपायहरु पनि सहभागी समक्ष पस्के ।

 

डिएपसी खनालको प्रस्तुतिपश्चात् सहभागिहरुको जिज्ञासाको लागि दिइएको ३० मिनेटको समयमा एक सहभागीले होटेलहरुमा खुलमखुल्ला हुने यौनधन्दा बारे प्रसंग उठाए । उनले होटेल तथा लजहरुमा विद्यमान अनैतिक तथा घृणित क्रियाकलाप प्रहरीकै मिलेमत्तोमा हुने गरेको हो भनेर प्रश्न गरे । उनले भने, ‘होटेल तथा लजहरुमा खुल्लेआम अनैतिक क्रियाकलाप हुने गरेको लुकेको छैन, प्रहरी मुखदर्शक झैँ देखिन्छ ।’ अगाडि भने, ‘प्रहरी मुखदर्शक बन्नुको कारण के ? कहिलेकाँही प्रहरीले नामको लागि छापा हानेपनि केहि दिनपछि फेरि त्यहीँ होटेलमा खुल्लेआम यौनधन्दा हुन्छ । के, प्रहरी र होटेल संचालकबीच पैसाको लेनदेन नमिलेरै छापा हानिन्छ, हो ?’ उनको प्रश्नमा एसपी चतुर्वेदीले प्रहरी कसैको प्रभावमा परेर काम नगरेको र नगर्ने पनि दाबी गरे ।

 

कार्यक्रममा मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवण कुमार यादवले वैदेशिक रोजगारीका नाउँमा विभिन्न प्रलोभन देखाई विदेश लगेर बिचल्ली पार्ने काम भइरहेको हुँदा त्यस्ता तत्वहरुसँग सजग रहनुपर्ने धारणा राखे । मेयर यादवले विदेश जानुको सट्टा स्वदेशमै केही शीप सिकेर उपलब्धिमूलक काम गर्न आग्रह गरे । स्वरोजगार हुन केही गर्न चाहनेहरुलाई नगरपालिकाले सहयोग गर्न पछि नहट्ने उनले बाचा गरे । प्रहरीलाई स्वच्छ ढंगले काम गर्नसमेत उनले आग्रह गरे ।

 

त्यस्तै, गोलबजारका नगरप्रमुख देवनाथ साहले पछिल्लो समय विकृति, गलत कार्य, मानव बेचबिखन र लागू पदार्थ दुव्र्यसनी बढेका खबरहरु बढी आउन थालेको भन्दै यसमा सबैले गम्भीरता अपनाउनुपर्ने बताए । 

 

मिर्चैया नगरपालिकाका नगरप्रमुख श्रवन कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोलबजारका नगरप्रमुख देवनाथ साह, सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदी, ईप्रका मिर्चैयाका प्रमुख डिएसपी सुकदेव खनाल, गोलबजारका प्रहरी प्रमुख, मानव अधिकारकर्मी, समाजिक क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, व्यवसायी लगायतका सरोकारबालाहरु उल्लेख्य संख्यामा सरिक थिए ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस