• २०७६ भदौ ८ गते, आइतबार
०४:५४ pm

डा. सिके राउत सप्तरी १ बाट चुनाव लड्ने ?

जनमत पार्टी आफ्नो सिद्धान्त उपर अडिग रहेको भन्दै पार्टी एकीकरण बारे कुप्रचार गरिएको प्रष्टाएका छन् ।

न्यूज ब्यूरो, जनकपुरधाम । सरकारसँग सहमति गरेर मूलधारको राजनीतिमा अवतरण गरेका पूर्व स्वतन्त्र मधेश गठबन्धनका संयोजक तथा हालको जनमत पार्टीका अध्यक्ष डा. सिके राउत प्रतिनिधिसभामा आउने चर्चा सुरु भएको छ ।

 

समाजवादी पार्टीका सप्तरी निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद डा. सूर्यनारायण यादवले सोमबार राजीनामा बुझाएसँगै डा. राउत त्यस क्षेत्रबाट प्रतिनिधिसभामा भित्रिने चर्चा सुरु भएको हो । बाल रोग सम्बन्धि ख्याती कमाएका सांसद यादव स्वास्थ्यमा समस्या देखाउँदै सभामुख समक्ष राजीनामापत्र पेश गरेका हुन् ।

 

उनको राजीनामा स्वीकृत भएपछि त्यहाँ पुनः सांसद छनोटका लागि उपनिर्वाचन हुनेछ । तर, जनमत पार्टीका अध्यक्ष डा. राउतको उम्मेदवारी बारे चर्चा चलेपनि कुनै आधिकारिक जानकारी भने आइनसकेको छ । सपा सांसद यादवको राजीनामापछि भइरहेको राउतको उम्मेदवारी र पार्टी एकताको हल्लालाई जनमत पार्टीका केन्द्रीय सदस्य अबदुल खानले खण्डनसमेत गरेको छ ।

 

खानले पार्टी एकीकरण बारे कुप्रचार गरिएको प्रष्टाएका छन् । जनमत पार्टी आफ्नो सिद्धान्त उपर अडिग रहेको भन्दै हल्लाबाट सावधान रहन उनले सबैलाई आग्रहसमेत गरेको छ । उनले पार्टी अध्यक्ष डा. राउत चुनावमा जाने वा नजाने निर्णय नभएको तर, आफूहरु चुनाव विरोधी नभएको तर्क गरे । 

 

तर, सांसद यादवको राजीनामा स्वीकृत हुने हो, र रिक्त क्षेत्रमा पूर्तिका लागि हुने उपनिर्वाचनमा मूलधारको राजनीतिमा आएका डा. राउत त्यहाँबाट उम्मेदवारी दिने हो भने ढोका खुल्ला देखिन्छ ।

 

यता, हिजोमात्रै सभामुख कृष्णबहादुर महरा समक्ष राजीनामा बुझाएका सांसद यादवको राजीनामा स्वीकृत भएको छैन भने उनको राजीनामा फिर्ताको लागि छलफल पनि भइरहेको बुझिएको छ । डा. यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपनि उनी आफ्नो चिकित्सक पेशामा बढी समय दिँदै आएका छन् । 

 

सदन र पार्टीको कार्यक्रममा समय नदिएको भन्दै पार्टी नेतृत्वमा सांसद यादवको आलोचना समेत हुने गरेको थियो । त्यस्कै कारण उनी तनावमा आएर राजिनामा गरेको हुन सक्ने समेत चर्चा भइरहेको छ । तर, आफ्नो स्वास्थयमा समस्या बढेकाले राजिनामा दिएको डा. यादवको भनाई छ ।

 

नेपाल सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा होमिएका डा. राउतको नेतृत्वमा जनमत पार्टी गठन भएसँगै संगठन विस्तार कार्य तीव्र पारिएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस