• २०७६ भदौ ८ गते, आइतबार
०५:४८ pm

आरक्षण बचाऔं आन्दोलन : आन्दोलनकारी उपर प्रहरीको दमन, १४ गिरफ्तार, दर्जनौं घाईते !

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित विज्ञापन अनुसार नै जबर्जस्ती परीक्षा भइरहेको छ ।

न्यूज ब्यूरो, काठमाडौं । लोकसेवा आयोगको विज्ञापनविरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

 

लोकसेवाको असंवैधानिक विज्ञापनको विरुद्धमा जारी ‘आरक्षण बचाऔं आन्दोलन’ अन्तर्गत सिंहदरबार अगाडि धर्ना बसेका आन्दोलनकारीहरु उपर प्रहरीले लाठी चार्ज गर्दै १४ जनालाई पक्राउ गरेका छन् । प्रहरीको लाठी चार्जबाट दर्जनौं प्रदर्शनकारी घाईते समेत भएका छन् ।

 

पक्राउ पर्नेमा आन्दोलनका अगुवा तथा टिएमएनसीका सदस्यसमेत रहेका कासिन्द्र यादवसहित १४ जना छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले दिएको जानकारी अनुसार, १३ जना पुरुष र १ जना महिलालाई पक्राउ गरिएको छ । गिरफ्तार गरिएका सबैलाई अहिले काठमाडौंस्थित महेन्द्र पुलिस क्लबमा राखिएको छ भने बाहिर उनीहरुको रिहाईको लागि प्रदर्शन भइरहेको छ ।

 

संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्न विज्ञापन निकालेको थियो । हाल उक्त विज्ञापन अनुसार नै जबर्जस्ती परीक्षा भइरहेको छ ।

 

संविधानमा नै सुरक्षित गरिएको आरक्षण समाप्त पार्ने चालविरुद्ध निरन्तर आरक्षण बचाउको लागि आन्दोलन हुँदै आएपनि सरकार गम्भीर देखिएको छैन ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस