• २०७६ भदौ ८ गते, आइतबार
०५:१० pm

रक्तनली सम्बन्धी रोग छ ? लक्षण र बच्ने उपायहरुबारे थाहा पाईराख्नुस्

आवश्यक परेमा इन्ट्रालेजनल स्टेरोइड इन्जेक्शन, स्क्लेरोथेरापि, फिडर लाइगेशन तथा एक्सिजन (क्षेदन) गर्न सकिन्छ ।

 

परिचय 

हालसालैका दशकहरुमा सम्पूर्ण विश्वमा भइरहेको विभिन्न किसिमका नसर्ने रोगहरुको वृद्धि सँगसँगै हृदय एवं रक्तनलीसम्बन्धी रोगहरु पनि तीव्र रुपमा वृद्धि भइरहेका छन् । र नेपाल यसको अपवाद होइन । रक्तनलीसम्बन्धी रोग एउटा विशेष किसिमको रोग हो किनभने यसले शरीरका प्रायः सम्पूर्ण अंगहरुलाई असर पु¥याउन सक्छ । रक्तनलीसम्बन्धी अधिकांश रोगहरु एवं तिनको संक्रमण–प्रकृयाको निदानका लागि सुविधासम्पन्न प्रतिबिम्ब प्रणाली (जस्तै यू.एस.जी.) को आवश्यकता पर्दछ । नेपालमा अझै पनि अधिकांश बिरामीहरु यसबारे अनभिज्ञ छन् । सायद, यही कारणले बिरामीहरु रक्तनलीसम्बन्धी रोगहरु लिएर शल्य–चिकित्सकहरुका पुग्दा बिलम्ब भइसकेको हुन्छ । यहाँ रक्तनलीसम्बन्धी केही प्रसिद्ध रोगहरुको सूची दिइएको छ जसको शंका लागेमा बिरामीलाई समुचित निदान एवं उपचारका लागि तत्काल रक्तनलीसम्बन्धी विभागमा लैजानुपर्दछ । 


भेरिकोज नसा (शिरा) 
छालामुनि छाम्न सकिने र प्रायः गोडातिर पाइने फुलेका नसाहरुलाई भेरिकोज नसा (शिरा) भनिन्छ । यस्ता शिराका भल्भहरु कमजोर अथवा नष्ट भएका हुन्छन् । यसका कारणहरु लामो समयसम्म उभिनु, मेदोरोग, न्यून शारिरीक गतिविधिहरु, गोडामा चोटपटक लाग्नु र पारिवारिक इतिहास आदि हुन् । प्रायः यसका लक्षणहरु थोरै हुन्छन् तर कसै–कसैले पूर्ण लक्षण अथवा भेरिकोज नसामा पीडाको अनुभव गर्न सक्छन् । साधारणतया, बिरामीको परिक्षण एवं यू.एस.जी. बाट यस रोगको निदान गरिन्छ । यसको उपचारमा जीवनशैलीको परिवर्तन अथवा औषधीको सेवन पर्दछन् । जीवनशैलीको परिवर्तनमा संकोचन, व्यायाम, गोडा माथि उचाल्नु, तौल घटाउनु आदि पर्दछन् । औषधी उपचारमा रेडियो– फ्रिक्वेन्सी एब्लेशन, स्क्लेरोथेरापि, लेजर सर्जरी तथा फ्लेबेक्टोमि पर्दछन् । हालसालै, धुलिखेलमा भेरिकोज नसाको शल्यक्रिया गराएका ५३३ बिरामीमाथि गरिएको सर्वेक्षणअनुसार शल्यक्रिया प्रायः पुरुष बिरामीमा बढी गरिन्छ र शल्यक्रियापछि जटीलताहरु विरलै देखिन्छन् । 


पेरिफेरल आर्टेरियल रोगहरु 
पेरिफेरल आर्टेरियल रोगहरुले प्रायः हातगोडाका धमनीहरुमा असर पु¥याउँदछन् । असर पुग्ने कारण एथेरोस्क्लेरोसिस, थ्रोम्बो–इम्बोलिजम, धूम्रपान तथा हातगोडाको क्लाउडिकेशन (केही समय हिँड्दा दुख्ने र विश्राम गरेपछि निको हुने रोग) हुन् । यस रोगलाई उपेक्षा गरेमा यसले विश्राम गर्दा दुख्ने, प्रभावित अंगको कार्यक्षमता नाश गर्ने एवं गांग्रिन उत्पन्न गर्ने कार्य गर्दछ । यस रोगका विभिन्न उपचार पद्धतिहरु छन्, जस्तैः धूम्रपान नगर्ने, औषधि सेवन गर्ने एवं पेरिफेरल आर्टेरियल बाइपास सर्जरी गर्ने इत्यादि ।  


डिप भेन थ्रोम्बोसिस 
गहिरा शिराहरुमा अवरोधका कारणले डिप भेन थ्रोम्बोसिस हुने गर्दछ र यो प्रायः पेट तथा गोडाका गहिरा शिराहरुमा हुने गर्दछ । यसका अन्य महत्वपूर्ण सहायक कारणहरुमा वंशाणुगत डि.भि.टि., चोटपटक, लामो समयसम्म अंग सञ्चालन नगर्नु र शल्यक्रिया आदि पर्दछन् । यस रोगमा प्रायः बिरामीका हातगोडाहरु सुनिन्छन् र हिँड्न सुरु गर्नेबित्तिकै पीडा हुन्छ । यस्तो रोगीलाई तत्काल अस्पतालमा भर्ना गरेर मुख एवं मलद्वारबाट एन्टि – कोअगुलेन्ट हरु चलाउनुपर्दछ । यस रोगलाई उपचार नगरीकन छोडेमा थ्रोम्बस वृद्धि भएर कहिलेकाहीँ पल्मोनरी इम्बोलिज्मजस्ता प्राणघातक जटीलताहरु पनि उत्पन्न हुन सक्छन् ।  


रेनौड्स फेनोमेनोन 
प्रायः अति चिसो वातावरणका कारणले रक्तनलीहरु संकुचित भएर हात र गोडाका औँलाका टुप्पाहरुमा अकस्मात् रक्तसञ्चारको कमी हुनुलाई रेनौड्स फेनोमेनोन भनिन्छ । कुनैकुनै अवस्थामा यसले प्रभावित औँलामा गांग्रिन उत्पन्न गराइदिन सक्छ । यसलाई सपोर्टिभ मेजर तथा औषधि सेवनद्वारा उपचार गर्न सकिन्छ । 


डायबेटिक फुट 
लामो समयसम्म डायेबेटिज मेलाइटस भएपछि आउने जटीलताहरुमा डायबेटिक फुट पनि पर्दछ । डायबेटिज मेलाइटसका कारणले पेरिफेरल नर्भको कार्यक्षमता नष्ट भएपछि बिरामीको पीडा अनुभव गर्ने क्षमता घट्दै जान्छ । यसको अर्थ हो, स–साना चोटपटकहरु लामो समयसम्म थाहा लाग्दैनन् । त्यसैगरी, घाउ निको हुन पनि लामो समय लाग्दछ । डायबेटिक फुटको रोकथामका लागि समयमै रोगको निदान गरी डायबेटिक फुट अल्सरेशनबाट बचाउने एवं बिरामीलाई आत्म–परिक्षण एवं घाउको समुचित हेरचाह गर्ने शिक्षा दिनुपर्दछ । रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्नु महत्वपूर्ण छ । डायबेटिक फुटको उपचारमा प्रतिजैविकी औषधीहरु, ओर्थोपेडिक सामग्रीहरुको प्रयोग एवं टोपिकल ड्रेसिंग पर्दछन् । 


रक्तनलीमा चोटपटक 
कुनैकुनै ठूलाठूला चोटपटक लाग्दा रक्तनलीहरुमा लासरेशन, ट्रान्जाक्शन र थ्रोम्बोसिसका रुपमा विभिन्न चोटपटकहरु लाग्न सक्छन् । यसले अत्यधिक रक्तप्रवाह एवं शरीरका अंगहरुमा रक्तसञ्चारको कमी गराउन सक्छ । यसलाई रोक्नका लागि रक्तप्रवाह रोक्ने एवं आवश्यक परेमा रक्तनलीको मर्मत एवं कृत्रिम रक्तनलीको प्रत्यारोपण गर्नुपर्दछ ।

 
रक्तनलीजन्य विषमताहरु 

यसअन्तर्गत रक्तनलीहरुबाट उत्पन्न हुने असामान्य घाउहरु पर्दछन् । यसअन्तर्गत भास्कुलर ट्युमर जस्तैः हेमान्जिओमा अथवा भास्कुलर माल्फर्मेशन (भेनस माल्फर्मेशन, आर्टेरियोभेनस माल्फर्मेशन आदि) आदि पर्दछन् । प्रायः यी रोगहरु पिग्मेण्टेड लेजन, रक्त–प्रवाह एवं डिफर्मिटी आदि लक्षणहरु हुन्छन् । यसको निदानका लागि सावधानीपूर्वक प्रिअपरेटिभ इभ्यालुएशन गरेर त्यहीअनुसार उपचार गर्नुपर्दछ । आवश्यक परेमा इन्ट्रालेजनल स्टेरोइड इन्जेक्शन, स्क्लेरोथेरापि, फिडर लाइगेशन तथा एक्सिजन (क्षेदन) गर्न सकिन्छ ।

 


डा. रबिन मान कर्माचार्य                                 डा. ऋषिराम अधिकारी 
                                             शल्य चिकित्सक (मुटु, फोक्सो तथा रक्तनली विशेषज्ञ)   

                                                                               धुलिखेल अस्पताल                                                     

                                         भास्कुलर हटलाईनः ९८०१००२४७८ (रक्तनलीसम्बन्धी रोगहरुबारे जान्नका लागि सम्पर्क) 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस