• २०७६ भदौ ८ गते, आइतबार
०५:०१ pm

'मधेश नेपालमा छैन ?' : नेता अरगरिया 

अहिले तराई मधेशलाई पनि राहतको अति आवश्यकता परेको छ , तर सरकार मौन किन ?

फाईल तस्विर


न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतिनीधि सभा सदस्य उमा शंकर अरगरियाले बुधबार संघीय संसद तताए । 

 

नेपालमा महाविनाशकारी भूकम्प आउँदा मधेश रोएपनि अहिले तराई मधेश डुब्दा सरकार चूं नबोलेको आरोप लगाएका छन् । तराई मधेशको दीर्घकालिन संरक्षण हेतु संसदमा गराएको सार्वजनिक महत्वको प्रस्ताव दर्तामा नेपाली काँग्रेसका नेता अमरेश सिँह समर्थन जनाएपनि पछि समर्थन फिर्ता लिएपछि नेता अरगरियाले त्यसलाई लज्जास्पद बताएका छन् । 

 

बुधबार संघीय संसद भवनमा बोल्दै नेता अरगरियाले तराई मधेश डुबानमा पर्दा संघीय सरकारले हातमा हात राखेर बसेको आरोप लगाउँदै भूकम्पको बेला तराई मधेशले देखाएको हृदय अहिले नदेखिएको जीकिर गरे । उनले भने, - "महाविनाशकारी भूकम्प आउँदा तराई मधेश रोएको थियो, तराई मधेश सबभन्दा पहिले राहतको लागि बिडा उठाएको थियो त्यो कुरा विर्सनुहुन्न , हामी एउटै देशको नागरिक हौं, अहिले तराई मधेशलाई पनि राहतको अति आवश्यकता परेको छ , तर सरकार मौन किन ?" 

 

तराई मधेश डुबानमा पर्दा बाढी पीडित, बाढीबाट मृत्यू भएको परिवारलाई राहत, बाढीको प्रकोप रोक्नको लागि गरिने दीर्घकालिन पहलको लागि सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराउँदा नेपाली काँग्रेसका नेता डा. अमरेश कुमार सिँहले समर्थन जनाएपनि प्रतिपक्ष दलको हैसियत दर्साउँदै पछि समर्थन फिर्ता लिएपछि नेता सिँहको दोहोरो चरित्र उपर प्रश्न तेर्साए । 


तराई मधेशमा कमला, कोशी, बलान र बागमति नदीले वितण्डा मच्चाउँदा हजारौ घर परिवार पूर्ण रुपले विस्थापित भएको जनाउँदै उनीहरुसँग केन्द्र सरकारले विभेदको चरित्र प्रदर्शन गरेको औल्याए । उनले भने,- " सरकार बाढीमा फँसेका सर्वसाधारणहरुको लागि हेलिकप्टर व्यवस्था गरेर पनि जीवितै उद्धार गर्दा खुसी लागेको छ । म सरकारलाई धन्यवाद दिन चाहन्छु । तर, अहिले खाँचो भन्दा पनि दीर्घकालिन उपायको विषयमा चर्चा गर्नु उपयुक्त हुँदा पनि नेपाली काँग्रेस संसद अवरुद्ध गर्नु लज्जास्पद हो ।" 


दर्ता गरिएको प्रस्तावमा असार २६ गतेदेखि लगातार भएको अबिरल बर्षाका कारण मुलुकभर आम जनजीवन नै कष्टकर भई तराई मधेशमा ठुलो परिमाणमा क्षति भएको छ । बाढी तथा डुबानमा परी झण्डै ६९ जनाको मृत्यू, ३१ बेपत्ता र ३८ जना घाईते हुनुका साथै १६ हजार ५ सय २० बढी घर परिवार विस्थापित भएको आँकडा सरकारलाई सुझाउँदै राहतको लागि प्रस्ताव दर्ता गरिएको थियो । 


बाढी पीडितको व्यथा बयान गर्दै नेता अरगरियाले भने, - "बाढी पीडितहरु तराई मधेशमा एउटै छातामा आफ्ना बालबालिकाहरुलाई राखेर बाँच्न बाध्य छन् । घनघोर बर्षामा एउटै छातामा दुई बालबालिका सहित एउटी आमा कसरी बाँच्न सक्छन होला , सोचेर पनि मुटु काम्न थाल्छ, तर तराई मधेशको यो व्यथाप्रति सरकारले कुनै चासो नदिनु विभेदको नीति अपनाएको देखिएको छ ।" 

 

राज्यको तर्फबाट मृतकका परिवारलाई सान्तावना स्वरुप कम्तीमा ५ लाख नगद, घाईतेहरुको उपचार तथा बेपत्ता भएका मानिसहरुको खोजी तीव्र पार्नुपर्ने, दुषित खानेपानी, फोहोर मैला र प्रतिकूल वातावरणीय प्रभावका कारण विद्यमान र संभावित स्वास्थ्य सम्बन्धी जोखिमको सामना गर्न आवश्यक स्वास्थ्य सेवाको प्रबन्ध गर्नुपर्ने प्रस्ताव उपर छलफल गर्न माग गरिएको हो ।  

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस