• २०७६ भदौ ८ गते, आइतबार
०६:३१ pm

प्रहरीको यो शर्त मानेपछि जनकपुरबाट पक्राउ गरिएका आन्दोनकारीहरु रिहा 

साझा मोर्चाहरुले ‘आरक्षण बचाउ आन्दोलन’ मूल नारा दिएर शुक्रबार प्रदर्शन गरेका थिए । 


न्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबार साँझ जनकपुरमा प्रदर्शन गरिरहेको बेला पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले रिहा गरेको छ । 


स्थानीय तहको लागि लोकसेवा आयोगले नेपालको संविधान २०७२ को मुलमर्म र भावना विपरीत निकालेको विज्ञापन खारेजीको माग गर्दै जनकपुरमा लोकसेवा विरुद्ध गरिएको आन्दोलनको क्रममा डेढ दर्जन प्रदर्शनकारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको थियो । 

 

जनकपुरको जनकचोकमा समान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीको पुतला जलाएपछि प्रदर्शनकारी र प्रहरी बिच घम्साघम्सी गर्दै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेका थिए । करिब अढाई घण्टापछि राजपाका जिल्ला अध्यक्ष सँजय सिँहले जमानत दिएपछि उनीहरुलाई रिहा गरिएको धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले जनाए । 

 

लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापनमा आरक्षण कटौती गरेको, मधेशी, थारु, जनजाती लगायतलाई उपेक्षित गरेको भन्दै विभिन्न पार्टीका भातृ संगठन, तराई मधेश राष्ट्रिय परिषद, आदिवासी जनजाति महासंघ, दलित, मुश्लिम लगायतका संघसंस्थाहरूको साझा मोर्चाहरुले ‘आरक्षण बचाउ आन्दोलन’ मूल नारा दिएर शुक्रबार प्रदर्शन गरेका थिए । 

 

सो प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच समान्य झडप समेत भएको थियो । राजपाका युवा नेता प्रशान्त झाको नेतृत्वमा गरिएको सो प्रदर्शनको क्रममा प्रहरीले उनीहरुलाई आम सर्वसाधारणलाई कठिनाई हुने गरी आन्दोलन गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । पक्राउ गरिएका प्रदर्शनकारीहरुले अब आम सर्वसाधारणलाई सास्ती हुने गरी कार्यक्रम नगर्ने शर्तमा उनीहरुलाई रिहा गरिएको प्रहरीले जनाएको छ । 


धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले उनीहरुले आम जनतालाई कठिनाई हुने गरी कार्यक्रम जस्तै चक्काजाम, पुतला दहन जस्ता कार्यक्रमहरु सार्वजनिक स्थलमा गरेको भन्दै जनतालाई सहजता प्रदान गर्न उनीहरुलाई केही बेर नियन्त्रणमा लिएको र अब त्यस्तो नगर्ने शर्तमा उनीहरुलाई रिहा गरिएको बताए । 


प्रदर्शनको क्रममा राजपाका युवा एवम विद्यार्थी नेता प्रशान्त झा, किसन साह, नविन यादव, इजाज अन्सारी, कमलेश यादव, दिपु कापरी, बलराम, सत्रुधन, राहुल राज यादव, मोनाजिन राईन, दिनेश यादव लगायतका प्रदर्शनकारीहरुलाई पक्राउ गरिएको थियो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस