• २०७६ असार ३१ गते, मंगलबार
११:५९ pm

कमलामा पनि प्रधानमन्त्री रोजगारी कार्यक्रम, सयौं लाभान्वित 

आगामी आर्थिक वर्षको बजेटमा उनीहरुको ज्याला समेत बढाउने गरी कार्य सँचालन गरिने


न्यूज ब्यूरो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत धनुषाको कमला नगरपालिकामा पनि सयौं सर्वसाधारण रोजगारी पाएका छन् ।

 

प्रधानमन्त्री रोजगारी कार्यक्रम कमला नगरपालिकामा सँचालन भएपछि नगरपालिकाका करिब २ सय जनाले रोजगारी पाएको कमला नगरपालिका योजना शाखा प्रमुख चन्द्र प्रकाश यादवले जनाए । यादवका अनुसार, नगरपालिकाको ९ वटै वडाबाट करिब २ सय जनालाई रोजगारी प्रदान गरिएको हो ।

 

गत असार १ गतेदेखि नै देशभरि लागू गर्ने गरी सुरु भएको उक्त कार्यक्रम कमला नगरपालिकामा विधिवत रुपमा सुरु भएको हो । त्यसअघि फारम खोलेर चयन गरिएका व्यक्तिहरुलाई अभिमुखिकरण गर्दै उनीहरुलाई कामको लागि औजार समेत खरिद गरिएको जनाए । यादवले जनाए अनुसार १ गतेपछि निरन्तर रुपमा छनौट भएका व्यक्तिहरुलाई रोजगारी अनुरुप दैनिक कार्यमा लगाइएको हो । 


उक्त कार्यक्रमको लागि कमला नगरपालिकामा कुल २७ लाख रुपैयाँ बजेटमध्ये कुल बजेट परिचालन गर्दै न्यून्तम रोजगारी स्वरुप रोजगारी प्रदान गरिएको जनाए । गत चैत्त र बैशाखमा सरकारले माग गरेको बेरोजगारी फारमबाट छनौट भएका नगरका आम सर्वसाधारणहरुमा कुल बजेटको ७० प्रतिशत रकम खर्च गरिने भएको छ । त्यसवापत उनीहरुलाई दैनिक ज्याला वापत ५ सय १७ रुपैयाँ तथा कर कट्टी गरी जम्मा ५ सय ११ रुपैयाँ पाउने जनाइएको छ । 

 


कुल रकमको ३० प्रतिशतमध्ये १५ प्रतिशतको समाग्री, १० प्रतिशतको काम गर्ने बेलामा पर्ने आकस्मिक औजार, ३ प्रतिशत व्यवस्थापनमा भने २ प्रतिशत कन्डिजेन्सी (नगरपालिकाले काट्ने कर) गरी खर्च गरिने योजना शाखा प्रमुख यादवले जनाए । उनले भने, - "व्यवस्थापन र कर्मचारी अभावले गर्दा पनि समयमै असार १ गतेदेखि नै कार्यक्रम सँचालन गर्न पायौं, कामदारहरुलाई २० गतेदेखि जर्सी, औजार दिएर निरन्तर रुपमा कार्य प्रगति भईरहेको अवस्था छ ।" 


कार्यक्रम अन्तर्गत तीन प्रकारका सर्वसाधारणलाई रोजगारी प्रदान गर्ने जनाउँदै पहिलो केही गर्नै नसक्ने, साधारण काम गरी खान सक्ने तथा पढेलेखेकालाई वौद्धिक विकास गरी त्यस्तै कार्यमा सँलग्न गराउने सक्ने गरी कार्यसँचालन गर्नुपर्ने यादवले बताए । अहिले दोस्रो क्याटेगोरी अन्तर्गत साधारण काम गरी खान सक्नेलाई मात्र सहभागी गराइएको जानकारी उनले दिए । 


योजना शाखा प्रमुख यादवका अनुसार, रोजगारी कार्यक्रम अन्तर्गत ३ वटा योजना राखेको जनाउँदै अहिले नगरको विभिन्न वडामा रहेको कच्ची बाटोमा दुवै तर्फ कुलो खनेर पानीको निकास गराउने गरी कार्य भईरहेको छ । विद्यालय सरसफाई र बगैँचा निर्माण तथा नगरको सरकारी सँरचनाको सरसफाईमा साउनदेखि सुरु हुने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा उनीहरुको ज्याला समेत बढाउने गरी कार्य सँचालन गरिने यादवले जनाए । 


असार २० गते नगर प्रमुख राम उदगार गोईत, उपप्रमुख शिला देवी मण्डल, वडा नं. १ वडाध्यक्ष राजकुमार यादव, वडा नं. २ का वडाध्यक्ष धनेश्वर यादव, ३ का विशेश्वर यादव , ४ का पल्टु कवारी, ५ का शिवा पासवान, ६ का मो. समशुल मियाँ, ७ का तपेश्वर यादव, ८ का राजेश्वर मरिक र  वडा नं. ९ का धर्मनाथ मण्डल सहित वडासदस्यहरु, सम्पूर्ण कर्मचारी, शिक्षक शिक्षिकाहरुको वृहत सहभागितामा नगरपालिका कार्यालय र विद्यालय क्षेत्र परिसर सरसफाई गरी प्रधानमन्त्री रोजगार कार्यक्रमको श्रीगणेश गरिएको थियो ।  


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस