• २०७६ असार ३१ गते, मंगलबार
११:५९ pm

अर्थमन्त्री विजय यादव विरुद्ध सिरहाका सर्वसाधारण आन्दोलित !

आसेपासेलाई उपभोक्ता समिति बनाई भ्रष्टाचार गर्न र कार्यकर्ता पाल्न खोजेको भन्दै सर्वसाधारणहरु आन्दोलित भएका हुन् ।

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय यादव विरुद्ध सिरहाका सर्वसाधारणहरु आन्दोलित भएका छन् ।

 

प्रदेश सरकारबाट परेको योजना संचालन गर्न आफ्ना आसेपासेलाई उपभोक्ता समिति बनाई भ्रष्टाचार गर्न खोजेको भन्दै सर्वसाधारणहरु आन्दोलित भएका हुन् ।

 

सिरहाको औरही गाउँपालिका–४, ईटाटारमा प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालयबाट परेको योजनामा गुपचुप रुपमै कार्यकर्ता तथा आसेपासेलाई उपभोक्ता समिति बनाएर कार्यकर्ता पाल्ने काम गरेको भन्दै सर्वसाधारणहरुले आईतवार प्रदर्शन गरेका छन् भने आज (सोमवार) वडा कार्यालयमा धर्ना दिएका छन् ।

 

उनीहरुले प्रदेश सरकार, अर्थमन्त्री विजय यादव र वडा कार्यालयसमेतको विरुद्धमा आन्दोलन थालेका हुन् । औहरी ४ का स्थानीयहरु ठूलो संख्यामा सडक र वडा कार्यालयमा सहभागी भई प्रदर्शन तथा धर्ना दिएका छन् ।

 

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट छुट्याइएको बजेट संचालन गर्न अर्थमन्त्री यादवको दाई श्यामनन्दन यादव र औरही गापा ४ का वडाध्यक्ष उपेन्द्र यादवको रोहवरमा अपारदर्शी र अवैधानिक उपभोक्ता समिति बनाएर कार्यकर्ता पाल्ने काम गरेको उनीहरुको आरोप छ ।

 

अपारदर्शी रुपमा समिति बनाएर काम अगाडि बढाउन खोजेपछि स्थानीयहरुले वडा कार्यालयबाट समितिको विवरण माग गर्दा उपलब्ध नगराइएपछि आन्दोलित भएको स्थानीय युवा दिपेन्द्र यादवले जानकारी दिए ।

 

स्थानीय जनताको बजेटबाट पारदर्शी र पूर्ण विकासको चाहना भएपनि त्यसलाई लत्याएर आसेपासेलाई समिति बनाएपछि स्थानीयहरु विरोधमा उत्रेका छन् । गैरकानुनी र अवैधानिक रुपमा गठन गरिएको उपभोक्ता समिति विघटन गरी पुनः नयाँ समिति गठन गरेर काम अगाडि बढाउन उनीहरुको माग छ ।

 

माग सम्बोधन नभए ३ दिने आन्दोलनको कार्यक्रम अन्र्तगत भोली (मंगलवार) वडा कार्यालयमा तालाबन्दी गर्ने र वेवास्ता गरिए सशक्त आन्दोलनमा जाने चेतावनी दिइएको छ ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस