• २०७६ श्रावण १ गते, बुधबार
१२:४३ am

कान्छो मेयरको फड्को : मन्त्रीपरिषदबाट शहिदनगरमा 'बाली विज्ञान' स्वीकृत

यस प्राविधिक शिक्षापछि कृषिमा क्रान्तीको लागि पक्ष पनि बलियो भएको हो । 


न्यूज ब्यूरो, जनकपुरधाम । विकासको गतिविधिले ख्याती कमाएका मुलुककै कान्छो मेयर शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरियाले शिक्षा क्षेत्रमा समेत नगरपालिका फड्को हानेको बताएका छन् । 

 

नेपाल सरकारबाट धनुषा जिल्ला भरिकमै १८ स्थानीय तहमध्ये मात्र शहिदनगर नगरपालिकाको लागि प्राविधिक शिक्षा क्षेत्र अन्तर्गत बाली विज्ञान (JTA)  सँचालनको लागि अनुदान दिने निर्णय गरिएको हो । मन्त्रीपरिषद्को गत जेठ २४ गतेको निर्णय अनुसार धनुषाको शहिदनगर नगरपालिका वडा नं. ३ स्थित रहेको जनता एकाई माध्यमिक विद्यालयमा बाली विज्ञान प्राविधिक शिक्षा लागू हुने भएको छ । 

 


नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शैक्षिक प्रविधि शाखा सानोठिमी भक्तपुरले जारी गरेको पत्रमा प्राविधिक तथा व्यवसायिक धार सँचालनको लागि शहिदनगर नगरपालिकाको जनता एकाई माविमा बाली विज्ञान तर्फ अनुदान सँचालन गर्ने भएको भनेर निर्णय गरिएको हो । 

 


आर्थिक वर्ष २०७५/०७६ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०७६ बाट कक्षा ९ देखि प्राविधिक तथा व्यवासायिक धार सँचालन गर्ने गरी केन्द्रीय निर्देशक समितिको गत जेठ २४ गतेको निर्णय अनुसार उक्त विद्यालयमा प्राविधिक शिक्षा लागू गर्ने भएको हो । 

 


न्यूज ब्यूरोसँग कुराकानी गर्दै नगर प्रमुख (मेयर) उदय कुमार बरबरियाले नगरमा विकासको लागि एक महत्वपूर्ण कदमको सफलता पाएको अनूभूति सुनाए । नगरलाई सबल बनाउनको लागि शिक्षा क्षेत्रलाई सुदृढ बनाउनु आवश्यक रहेको भन्दै आफूले वाचा गरे बमोजिम नगरका कर्णाधारहरुको लागि नगरभित्रै प्राविधिक शिक्षाको व्यवस्था गरिदिएको जीकीर गरे । 

 


नगरपालिकाभित्र रहेको विभिन्न विद्यालयमा प्राविधिक शिक्षा लागू गरेर नगरको शिक्षा गुणस्तरीयतामा फडको मार्ने बताउँदै आएका मेयर बरबरियाले प्राविधिक शिक्षाको लागि मन्त्रीपरिषदले नै निर्णय गरेपछि खुसी व्यक्त गरे । उनले भने ,-  "मैले आफ्नो वाचा बमोजिम अथक प्रयासले नै यो सम्भव भएको छ । वास्तवमा आज शहिदनगरमा बाली विज्ञान तर्फको प्राविधिक शिक्षा लागू भएपछि निकट भविष्यमै शहिदनगर कृषिमा पनि क्रान्ती ल्याउने उत्तम संकेत पाएको छु । कृषिमा क्रान्ती ल्याउने मेरो सपना अब साकार हुने भनेर आसा मात्र होईन विश्वास पनि पलायो । नगरका जनताले साथ नछोडे शहिदनगर एक वास्तविक नमुनाको रुपमा स्थापित हुन बेर लाग्दैन् ।"

 


उक्त विद्यालयमा बाली विज्ञान (कृषि सम्बन्धी प्राविधिक शिक्षा) लागू भएपछि नगरका विद्यार्थीहरुले अन्य ठाउँमा जानुपर्ने बाध्यता पनि हटेको छ भने यस प्राविधिक शिक्षापछि कृषिमा क्रान्तीको लागि पक्ष पनि बलियो भएको हो । 

 

कक्षा ९ देखि नै बाली विज्ञानतर्फ ३ बर्षे पठनपाठन गरेपछि कक्षा १२ सम्मको अध्ययन पूरा गरेलगत्तै सहजरुपमा जागिर पाउने तथा सस्तो शुल्कमा आफ्नै नगरपालिकामा बाली विज्ञान विषय अध्ययन गर्ने वातावरण मिलेपछि प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढने विश्वास लिईएको हो । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस