• २०७६ असार ४ गते, बुधबार
०२:३१ pm

कमला नगरपालिकाकी उपमेयर 'मण्डल' द्धारा पदबाट राजीनामा ? 

कमला नगरपालिकामा कार्यरत सरकारी कर्मचारीहरु दिन गन्ती गरेर मात्र कार्यालय आउने गरेको बताइएको छ । 


न्यूज ब्यूरो, जनकपुरधाम । पटक पटक विवादमा तानिदै आएको धनुषाको कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डलले राजीनामा दिने जानकारी दिएकी छन् ।

 

सोमबार (आज) कमला नगरपालिकामै पत्रकार सम्मेलन गरी उपमेयर मण्डलले आफूलाई सेवासुविधा नदिएको भन्दै पदबाट राजीनामा दिने बताएकी छन् । नगरका मेयर राम उदगार गोईतले आफू तथा प्रमुख प्रशासकीय अधिकृत सहित वडाध्यक्षहरुको लागि पनि सवारी खरिद गरेपनि आफ्नो लागि सवारी सुविधा नदिएको भन्दै पदबाट राजीनामा दिने चेतावनी दिएकी हुन् ।

 

९ वटै वडाध्यक्षको लागि, मेयर तथा प्रमुख प्रशासकीय अधिकृतको लागि समेत सवारी सुविधा हेतु आफू पनि सहमति जनाएर हस्ताक्षर गर्दै पारित गरेको जनाउँदै उनले मेयर गोईतले आफूलाई प्रतिदिन २ हजारको दरले गाडी भाडा गरेर काम गर्न लगाएको आरोप लगाईन ।

 

उनले भनिन , - "मेयर साहब आफ्नो लागि गाडी किन्नुभयो, अधिकृतको लागि पनि गाडी किन्नुभयो यहाँसम्मकी वडाध्यक्षहरुको लागि पनि गाडी किन्नुभयो तर मेरो लागि किन खरिद गरिएनन ? म महिला भएकै कारण अपहेलित भएको छु जस्तो महसुस भएको छ । दिनको २ हजारसम्म खर्च गर्ने गरी सवारी भाडा गरेर काम गर्न भन्नुभएको छ , अहिले २ हजारमा चारचक्के गाडीको लागि ईन्धनले मात्र पुग्दैन भने सवारी चालक सहित अन्य सुविधाहरु कहाँबाट २ हजारमा दिने मैले ?" 

 

नगरपालिकाको प्रथम नगरसभा खारेज भएपछि पुनः भएको दोस्रो नगरसभापछि नगरपालिका भित्र यतिको कार्यहरु भएपनि आफूलाई कुनै काममा नखोजेको गुनासो पोखिन् । आफू नगरको मेयरपछिको जनप्रतिनीधि भएपनि रत्तिभर मान नदिएको उनको गुनासो थियो । पत्रकार सम्मेलनको क्रममा सँचारकर्मीहरुको एक प्रश्नको जवाफमा उनले प्रमुख प्रशासकीय अधिकृत उमेश यादव कहिलेकाँही मात्र नगरपालिका आउने गरेको सुनाईन् ।

 

कमला नगरपालिकाका अभरसियर पशुपति यादव कार्यकक्षमै मस्त निद्रामा सुतिरहेको अवस्थामा 

 

सोमबार पत्रकार सम्मेलनको क्रममा नगरपालिका कार्यालय पुगेका पत्रकारहरुले एउटा नै कर्मचारी भेटाएका थिएनन् । सेवाग्राहीहरु त्यतिकै विना सेवाकै घर फर्कन बाध्य भएका थिए भने नगरपालिकाका ओभरसियर पशुपति यादव कार्याकक्षमै मस्त निद्रामा सुतेका थिए । दर्ता चलानीमा काम गर्ने एक कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत उमेश यादव आईतबार कार्यालय समयमै कार्यालयमा उपस्थित भएको भनेपनि आईतबार ३ बजेमात्र अधिकृत यादव कार्यालय पुगेका थिए । 

 

नगरभित्र भईरहेको विभिन्न विकास निर्माणको कार्यहरुबारे आफूलाई एउटामा नै कुनै जानकारी नदिएको तथा खोजपुछार नगरेको गुनासो उपमेयर मण्डलले पोखिन ।  उनले भनिन् - "म न्यायिक समितिको सँयोजक छु, मलाई विभिन्न ठाउँमा मुद्दा फर्छयौट गर्न जानुपर्ने हुन्छ  । यहाँसम्मकी नगरपालिकामा आउने गरेको मुद्दालाई खोजविन गर्न घटनास्थलमै जानुपर्ने तथा ग्राउण्ड जिरोमै जानुपर्ने हुन्छ , तर यत्रो ठुलो नगरपालिकामा विना सवारीको कसरी सम्भव हुन्छ ?" 


पत्रकार सम्मेलनमा उपमेयर मण्डलले आफ्नो कार्यभार र पदीय जिम्मेवारी नगरका प्रमुख राम उदगार गोईतलाई दिने भन्दै उपमेयरको कार्यकक्षको साँचो बुझाउने बताईन् । मेयर गोईत काम विशेषले बाहिर रहेको जनाउँदै कार्यालय आएलगत्तै उनलाई आफ्नो कार्यकक्षको साँचो उनलाई बुझाउने प्रतिवद्धता व्यक्त गरिन । 


पत्रकार सम्मेलनमा स्थानीयहरुले नगरपालिका भएको बाहेक अहिलेसम्म नगरपालिका भएको महसुस नगरेको गुनासो पाखेका थिए । उनीहरुले मेयर, उपमेयर, अधिकृत सबै जना जनकपुरबाटै कार्यालय सँचालन गरिरहेको कारण आफूहरुलाई त्यस्तो अनुभूति नभएको बताए । वडाहरुमा भईरहेको विकास निर्माणको कार्यहरुमा नगरपालिकाले पारित गरेको नियम बमोजिम कुनै कार्य भइनरहेको आरोप लगाए । 


किर्ते उपभोक्ता समिति, आफ्ना पार्टीका व्यक्तिहरुलाई उपभोक्ता समितिमा गोप्य रुपमा राख्ने, एउटै परिवारको अध्यक्ष, सदस्य राखेर विकासको रकम मापदरण्ड विपरित कार्य गरी बाँडने गरेको आरोप लगाए । प्रमुख प्रशासकीय अधिकृत उमेश यादव समयमा नआउँदा तथा आफूखुसी मात्र कहिलेकाँही कार्यालय आउँदा कैयौ सेवाग्राहीहरु बाध्य भएर घर फर्कन बाध्य भएको सुनाउँदै विकास निर्माणको कार्यहरु हुँदा त्यसको निकासको प्रक्रिया पुरा गर्न मात्र आउने गरेको आरोप नाम नखोल्ने शर्तमा बताए । 


सो क्रममा एक सेवाग्राहीले नगरपालिका कार्यालयकै अगाडी जनहित निम्न माध्यमिक विद्यालय रहेको र विद्यालयको अवस्था अस्तव्यस्त भएपनि कुनै प्रकारको चासो नलिनुमा भ्रष्टाचारमा लिप्त मात्र भएको आक्रोस पोखे । उनले भने, - "म १० बजे यहाँ पुगेको थिए, एउटा नै विद्यार्थी स्कूलमा थिए, जो यो नगरपालिकाको बालुवाटारकै अगाडी छ विद्यालय । विद्यालयको जग्गामा अवैद्यानिक तरिकाले कब्जा गरी वडा कार्यालय र प्रहरी कार्यालय निर्माण गर्नु कदापी उचीत नभएको बताए ।" 


एक अर्को प्रसंगमा बोल्दै उपमेयर मण्डलले नगर प्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृत समेत आफ्नो कुरालाई नजरअन्दाज गर्दै आएकोले आफू आक्रोसित भएर कार्यालय नआउने गरेको बताइन् । कमला नगरपालिकामा कार्यरत सरकारी कर्मचारीहरु दिन गन्ती गरेर मात्र कार्यालय आउने गरेको बताइएको छ । 

 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस