• २०७६ जेठ १३ गते, सोमबार
०७:२३ pm

जनकपुर : रोचक एण्ड घोचकका कलाकार 'कृष्णा' नेपाली सेना सामु उत्कृष्ट !

महतोलाई नगद २  लाख रुपैयाँ सहित प्रशंसा पत्र समेत प्रदान गरेका हुन् ।


न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको अप्पन टिभीबाट प्रसारण भईरहेको रोचक एण्ड घोचक टिमका कलाकार कृष्ण कुमार महतो नेपाली सेना सामु समेत उत्कृष्ट हुन सफल भएका छन् ।


नेपाली सेनाद्वारा आयोजित २०७५ को लघु चलचित्र प्रतियोगितामा भाग लिएका जनकपुरका चिरपरिचित कलाकार महतोलाई उत्कृष्ट लघु कथाकार घोषित गर्दै नेपाली सेनाले प्रशंसा सहित नगद पुरस्कार समेत प्रदान गरेका छन् ।

 

जनकपुरबाटै बनाएको लघु चलचित्र अर्थात सर्ट मुवी "अप्पन" लाई उक्त समारोहमा समावेश गरिएको थियो ।  सो क्रममा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले जङ्गी अड्डास्थित सभामण्डपमा मंगलबार साँझ आयोजित समारोहमै  अप्पन चलचित्रका निर्माता एवम् कलाकार महतोलाई नगद २  लाख रुपैयाँ सहित प्रशंसा पत्र समेत प्रदान गरेका हुन् ।


मधेशका छोरी चेलीलाई नेपाली सेना तर्फ आकर्षित गराउने उद्देश्यले निर्माण गरिएको चलचित्र धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको दिगम्बरपुर, जनकपुर, नेपाली सेनाको ब्यारेक प्रकौली लगायतका ठाउँमा छायांकन गरिएको थियो । सो चलचित्रको मुख्य भुमिका कलाकार अनिल कुर्मि र ज्योति झाले गरेका थिए । 

 

निर्माता निर्देशक महतो सहित क्यामारामा छायांकन तथा सम्पादनमा न्यामिक यादव र अरुण साह, कलाकारहरु रामनारायण ठाकुर, मदन ठाकुर, अनिता रानी मण्डल, प्रदिप सिंह, अनिल कुर्मि, ज्योती झा, सुनिता पासवान, रोहित, कण, फुलगेन महतो, दिपेन्द्र सिंह, रोशनी कर्ण लगायतका टिमले निर्माण गरेको चलचित्र उत्कृष्ट घोषित भएको छ ।


त्यस्तै प्रतियोगितामा गगनकुमार श्रेष्ठको ‘चाहना’ र प्रद्युम्न मिश्रको ‘हातेमालो’ चलचित्र क्रमशः दोस्रो र तेस्रो घोषित भएको छ । दोस्रो हुने चलचित्रलाई एक लाख ५० हजार तथा तेस्रो हुने चलचित्रलाई एक लाख नगद र प्रशंसापत्र प्रदान गरिएको छ ।

 

समारोहमा नेपाली सेनाद्वारा प्रकाशित सिपाही वार्षिक र द शिवपुरी जर्नलका उत्कृष्ट तीन लेखकलाई पुरस्कृत गरिएको छ । महासेनानी रञ्जीत थापा, प्रमुख सेनानी शिवराज पन्त र चिरञ्जीवी भण्डारीका लेख उत्कृष्ट घोषित भएको छ । उत्कृष्ट घोषित लेखका सर्जकलाई क्रमशः ५० हजार, ३५ हजार र २५ हजार नगद पुरस्कार र कदरपत्र प्रदान गरिएको छ । 

 

प्रत्येक वर्ष नेपाली सेनाले लघु चलचित्र प्रतियोगिता आयोजना गरी उत्कृष्ट लघु चलचित्रलाई पुरस्कृत गर्दै आएको छ। यस्ता प्रतियोगिताले राष्ट्रप्रति जिम्मेवार र कर्तव्यनिष्ठ रही सन्देशमूलक लघु चलचित्र उत्पादनमा उल्लेखनीय भूमिका खेल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रतियोगितामा ११ चलचित्र सहभागी गराईएको थियो । 

 

कलाकार कृष्णा कुमार महतोद्धारा अभिनित गीत ई छै जनकपुर दर्शकमाझ अत्यधिक लोकप्रिय बनेको थियो । जनकपुरको अप्पन टिभीबाट प्रसारित रोचक एण्ड घोचक नामक कमेडि कार्यक्रमबा उनी चर्चामा आएका हुन् । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस