• २०७६ जेठ १३ गते, सोमबार
०६:५० pm

मधेशीलाई भारतीय भन्ने नम्रता बाग्ले सहित ३ जना उपर साईबर क्राईमको मुद्दा !

केही उच्छृँगल स्वभावका व्यक्तिहरुले मधेशी समुदायलाई धोती तथा विहारी भनेर हेप्दै आएको छ । 

 

न्यूज ब्यूरो, विरगँज । जिल्ला प्रशासन कार्यालय पर्सा वीरगँजमा नागरिकता बनाईरहेका नागरिकको भिडियो फेसबुकमा लाईभ गरेकी नम्रता बाग्ले सहित ३ जना उपर साईबर क्राईमको मुद्दा दायर गरिएको छ । 

 

जिप्रका पर्सामा नागरिकताको लागि लाईनमा रहेको नेपाली नागरिकलाई बाग्लेले भारतीय नागरिक मात्र देखा परेको भनेर भ्रम फैलाएको भन्दै उनी उपर साईबर क्राईम अन्तर्गतको मुद्दा दायर गरिएको हो । जिल्ला प्रहरी कार्यालय पर्सामा बाग्ले सहित प्रदीप साह र राज दर्नाल उपर मुद्दा दायर गरिएको हो । 

 


मुद्दा दायर गर्न पेश गरिएको निवेदनमा समाजिक सँजाल फेसबुकलाई दुरुपयोग गर्दै समाजिक सदभाव खलबलाउने नियतले गत बैशाख ११ गते फेसबुक लाईभ मार्फत भ्रमित जानकारी र समाचार फैलाएको आरोप उनीहरु उपर लगाइएको हो । 

 

आफूलाई वीरगँजको स्थानीय भन्ने नम्रता बाग्ले फेसबुक आईडी नम्रता बाग्ले (सानी) बाट जिल्ला प्रशासन कार्यालय पर्सा वीरगँजबाट फेसबुक लाईभ गर्दै जिल्ला प्रशासन कार्यालयकै अगाडी घर रहेका अन्दाजी बर्ष ३२ का प्रदीप साह र धरानबाट फेसबुकको नाम राज दर्नाल भन्ने व्यक्तिहरु उपर जिल्ला प्रहरी कार्यालय पर्सा वीरगँजमा साईबर क्राईम र सार्वजनिक अपराधको निवेदन दर्ता गराइएको छ । 

 


समाजिक अभियन्ता सँजय यादव, मुकेश साह तेली र ओम प्रकाश सर्राफको जाहेरले उनीहरु उपर उक्त मुद्दा दायर गरिएको हो । उनीहरु उपर गरिएको निवेदनको दर्ता नं. १०७४२ रहेको छ ।  नेपालको संविधान २०७२ को कानुनी व्यवस्था अनुसार जन्मको आधारमा नागरिकता लिन र उसको सन्तानले समेत नागरिकता लिन सक्ने कानुनी व्यवस्था भएपनि आरोपितहरुले नागरिकता लिन लाईनमा लागेका नागरिकहरु गैर नेपाली र भारतीय भएको दाबी गरिएपछि कारवाहीको लागि मुद्दा दर्ता गरिएको हो । 

 


निवेदनमा लेखिएको छ ।- "नम्रता बाग्ले भन्ने व्यक्तिले नागरिकता लिनको लागि पर्सा जिल्ला प्रशासन कार्यालयमा लाईनमा लागेको बखत गरिएको भिडियो लाईभमा उनले एउटा नै नेपाली नभएको, गैर नेपाली भएको , सरकारले भारतीय नागरिकलाई नागरिकता कुन हिसाबले बाँडिरहेको, आफू यस देशको नागरिक भएकोले खिन्न लागेको छ । जति पनि लाईनमा लागेका छन र कार्यालयको आसपासमा छन सबै जना हिन्दी भाषा बोलिरहेका छन् भनेपछि यीनीहरु साफ रुपमा भारतीय हुन र मात्र भारतीय नागरिकहरुले नागरिकता लिन लाईनमा बसेका छन । यति भन्नु आम नागरिक उपरको प्रहार र समाजिक सदभाव उपर ठाडो प्रहार रहेको छ ।" 

 


बाग्लेले बनाएकी भिडियोमा जिप्रका कार्यालयकै अगाडी रहेको फोटो स्टुडियोबाट सोध्दा उनले एउटा नै नागरिक नेपाली नबोलेको र सबै हिन्दी मात्र बोलेको भनेपछि सबै भारतीय नागरिक हुन भनेर दाबी गरेका थिए । त्यसपछि धरानका राज दर्नालले फेसबुकमै कमेन्ट गर्दै धोती रहेको र मेसेन्जरमा कल गरी धोती भनेर धम्की दिएको भन्दै उनीहरु उपर साईबर क्राईम र सार्वजनिक अपराधको मुद्दा दायर गरिएको अभियन्ता सँजय यादवले बताए । 

 


यसका साथै अबदेखि कुनै पनि मधेशी समुदायलाई भारतीय भनेर अपमान गर्ने, धोती भनेर हेप्ने फैशन नबनोस भन्दै कारवाहीको लागि निवेदन दायर गरिएको युवा नेता ओम प्रकाश सर्राफले जानकारी दिए ।

 

अहिले पनि समाजिक सँजालमा मधेशी मूलका नेपालीलाई दोस्रो दर्जाको नागरिकको दृष्टिकोणले हेरिरहेको पाईको छ । केही उच्छृँगल स्वभावका व्यक्तिहरुले मधेशी समुदायलाई धोती तथा विहारी भनेर हेप्दै आएको छ । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस