• २०७६ भदौ २ गते, सोमबार
१०:१८ pm

तस्विर आफैं बोल्छ : प्रअ मण्डल भन्छन्- 'मेयर दासले स्वयंम छात्रवृति वितरण गर्नुभयो'

यता, मेयर दासले भने प्रअ मण्डल उपर लगाइएको आरोप सार्थक एवम् सत्य रहेको दाबी गर्दै आएका छन् ।


न्यूज ब्यूरो, जनकपुरधाम । यति बेला धनुषाको गिद्धाबेलापट्टी समुदायिक विद्यालयका प्रधानाध्यापक र अन्तर्गत पर्ने विदेह नगरपालिकाका मेयर बेचन दासबीच वाक युद्ध चलिरहेको छ । 

 

यसै सन्दर्भमा विद्यालयका प्रधानाध्यापक मण्डलले छात्रवृति वितरण नगरेको, विद्यालयमा आर्थिक हिनामिना गरेको तथा समय नदिएको भन्दै कार्यपालिकाको बैठकको निर्णय अनुसार काज सरुवा गरेको दाबी गरेका छन् भने प्रअ मण्डलले आफू उपर लगाएको आरोप पूर्णतः निराधार रहेको बताउँदै आएका छन् ।


विद्यालयका विद्यार्थीहरुलाई छात्रवृति वितरण नगरेको सन्दर्भमा बोल्दै प्रधानाध्यापक पवन कुमार मण्डलले नगरका मेयर बेचन दासले स्वयमं विद्यार्थीलाई आफ्नो हातबाट छात्रवृति वितरणको दाबी गरेका छन् । उनले न्यूज ब्यूरोसँग कुराकानी गर्दै नगर प्रमुख दासले गत वर्षको छात्रवृति आफ्नै हातले वितरण गरेको तस्विर प्रमाण रहेपनि छात्रवृति नदिएकोे आरोप लगाउनु कतिको उचीत ? 


हरेक आर्थिक वर्षको छात्रवृति दलित, जेहेन्दार, सीमान्तकृत र गरिब विद्यार्थीलाई वितरण गर्दै आएको जनाउँदै प्रअ मण्डलले शिक्षा नियमाबली अनुसार ८० प्रतिशत हाजिरी पुगेका त्यस्ता विद्यार्थीलाई मात्र छात्रवृति प्रदान गर्ने गरिएको जनाए ।

 

उनले भने, - "हुनत छात्रवृति आर्थिक वर्षको सुरुमा पनि बाँडन सकिन्छ तर, ८० प्रतिशत हाजिरी भएको नभएको त्यतिबेला छुटयाउन गाह्रो हुन्छ, त्यसैले नयाँ शैक्षिक सत्र चढे लगत्तै गत वर्षको छात्रवृति पुस्तक वितरणसँगै गर्ने गरेका छौँ ।" 

 

यसका साथै प्रअ मण्डलले सार्वजनिक रुपमै सार्वजनिक लेखापरीक्षण गराएको भन्दै त्यसबाट आफू उपर एक रुपैयाँ पनि बेरुजु नठहरिन गएकोले अनियमितता गरेको प्रमाण पेश गर्न चुनौति समेत दिए । 


विभिन्न वडाका वडाध्यक्षहरुको रोहबरमै विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको जनाउँदै उनले एउटा नै विद्यार्थी आफू छात्रवृति नपाएको तथा छात्रवृति वितरण नगरेको भनेपछि सजायको भागी हुने प्रतिवद्धता जाहेर गरे । मेयर दासले आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै गैर कानुनी तवरले आफ्नो काज सरुवा गर्न नमिल्ने बताए । 

 

सर्वोच्च अदालतले स्थानीय तहले कानुन मात्र बनाउन पाउने तथा विद्यालयको कर्मचारी सरुवा, बढुवा, काज सरुवा गर्न नपाउने परमादेश गरेपनि नगर कार्यपालिकाको बैठकबाट पारित गरिएको आफ्नो काज सरुवा गैर कानुनी रहेको बताए । 

 

गत बैशाख ८ गतेको कार्यपालिकाको निर्णय अनुसार प्रअ मण्डलले विद्यालयको आर्थिक कोष हिनामिना गरेको, विद्यालयमा समय नदिएको, आफूखुसी निर्णय लिएको, छात्रवृति वितरण नगरको भन्दै यसबाट विद्यालयका विद्यार्थीहरुमा असर पर्ने भएकोले नगरपालिकाभित्रै रहेको दुहबी गोबराही विद्यालयमा काज सरुवाको लागि निर्णय पारित गरेको हो । 

 

यता, मेयर दासले भने प्रअ मण्डल उपर लगाइएको आरोप सार्थक एवम् सत्य रहेको दाबी गर्दै आएका छन् ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस