• २०७६ भदौ २ गते, सोमबार
१०:३७ pm

जनकपुरको होटलहरुमा मानव अधिकारको छापा, अखाद्य समाग्री जफ्त !

दुधले बनेको पदार्थहरुमा अत्यधिक झिंगा, लामखुट्टे तथा माहुरी मरेको पाईएकोहरुलाई नष्ट गरिएको थियो।


न्यूज ब्यूरो, जनकपुरधाम ।  राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरधामको बजार अनुगमन क्रममा पाईएको अखाद्य सामग्री जफत गरेको छ।


राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा गरिएको जनकपुरधाम बजार अनुगमनको क्रममा जनकपुरकै नाम चलेको हंसराज मिठाई पसल तथा रघुपति मिष्ठान भण्डारको अखाद्य मिठाई, घ्यू, तेल लगायतका पदार्थ नष्ट गरेको हो।

 

जनकपुरधामको हंसराज मिठाई पसलको कारखानामा किरा फलेको ईमली, नेपालमा प्रतिबन्धित सागर गोल्ट पाउडर दुध, हाईड्रो, रंग, फिटकिरी लगायतका सामग्रीहरु गुण प्रविधि तथा नियन्त्रण कार्यालयले आफ्नो नियन्त्रणमा लिएको छ।

 

हंसराजको कारखानाभित्र लुकाई राखेको अवस्थामा सागरको गोल्ड प्याकेट पाउडर दुधका बोरा, हाईड्रोका प्याकेट, रंग, फिटकिरी, बदामका पिठो लगायतका सामग्रीहरु बरामद गरी नियन्त्रणमा लिईएको गुण प्रबिधि तथा नियन्त्रण कार्यालय धनुषाका खाद्य निरिक्षक प्रबिण तिवारीले जानकारी दिए।

 

यसैगरी जानकी मन्दिर स्थित रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसको घ्यू, मिठाई, प्रयोग गरिएको तेलका सामग्री साथै प्रयोग गरिएका तेलीय वस्तुहरु तत्काल नष्ट गरिएको थियो। ओम बेकरी एण्ड स्विटस् हाउसमा उत्पादित पाउरोटीमा एक दिन अगावैको तिथिमितिमा उत्पादन मिति राखि सिल प्याक गरि विक्रि वितरणका लागि तयारी अवस्थामा रहेकोलाई जफत गरिएको छ।


साथै अबदेखि त्यस्तो गरेको पाइएमा कालोबजारी अन्तर्गत मुद्दा चलाईने जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साहले बताएका छन्। साथै रघुपति मिष्ठान भण्डार तथा ओम बेकरी हाउसले संयुक्त रुपमा सञ्चालन गरेको कारखानाको दुध तथा दुधले बनेको पदार्थहरुमा अत्यधिक झिंगा, लामखुट्टे तथा माहुरी मरेको पाईएकोहरुलाई नष्ट गरिएको थियो।

 

मापदण्डवितरीत सञ्चालित विद्यालयलाई सुधार गर्न निर्देशन


जनकपुरधामकै मुटु भानुचोक स्थित रहेको मदर टेरेसा पब्लिक स्कुलमा क्षमता भन्दा बढी बिद्यार्थी राख्ने गरेको पाईएको छ। बिद्यालयको होस्टेलको छात्राबासमा एउटै कोठामा २० देखी २५ जना बिद्यार्थीहरुलाई कोचेर राखेको पाईएको हो।

 

राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता समेत रहेकी मोहना अन्सारीको उपस्थितिमा बिद्यालयका फाउण्डर प्रिन्सिपल चन्द्र देवानलाई एक पटकका लागि सुधारको मौका दिएको उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जानकारी दिए। उनले भने ‘यो बिद्यालयको पहिलो अनुगमन थियो, त्यही भएर एक पटकलाई सुधारको मौका दिईएको छ, दोश्रो पटकको अनुगमनको क्रममा यस्तै अवस्था रहेको पाईए कानूनी कारवाही भोग्नुपर्नेछ।’

 

यसैगरी धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार कडेल बिद्यार्थीको शुल्क, खानेपानी, शौचालय तथा स्कुल बसमा क्षमता भन्दा बढी बिद्यार्थी नबोक्न सुझाएका थिए। उनले नाम चलेको स्कुलले नै यसरी मनपरी नगर्न सुझाव दिदै स्कुलको दुई सय मिटर भित्रै रहेको मदिरा पसल समेत तत्काल बन्द गर्न पहल थाल्ने जानकारी दिए।

 

मदिराको नमुना संकलन


अनुगमनको क्रममा राष्ट्रिय मानव अधिकार आयोग नेतृत्वको टोलीले जनकपुरधामको मिल्स एरिया स्थित जय श्री राम डिष्ट्रिब्युटर्समा पाईएको मदिरा प्लाष्टिकको बोत्तलमा प्याकिङ्ग गरेको पाईएको छ।

 

रुसलान, मौसम, स्मुथ सहितका अन्य लोकल ब्राण्डका मदिराहरु प्लाष्टिकको बोत्तलमा प्याक गरेको पाईएकोमा त्यसलाई तत्काल नमूना परिक्षण गरी थप प्रयोगका लागि प्रयोगशाला पठाउन लागिएको छ ।


साथै उत्पादित कम्पनीहरुलाई प्लाष्टिक जन्य पदार्थमा मदिराको प्रयोग नगर्न सिफारिस गरिने भएको जनाईएको छ। राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सारीको नेतृत्वमा गरिएको अनुगमनको क्रममा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, मानव अधिकार आयोग क्षेत्रीय कार्यालयका वीर मगर, केन्द्रका दिपेन्द सिंह, गुण प्रविधी नियन्त्रण कार्यालय लगायतको संयुक्त टोलीले अनुगमन गरेको थियो।

===============================

NewsSource : News24tv

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस