• २०७६ जेठ १३ गते, सोमबार
०८:०७ pm

नागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने छुट कसैलाई पनि छैन : मुख्यमन्त्री राउत 

 विगतमा पनि उपभोक्ता संरक्षण सम्बन्धि ऐन कानुनहरु भएपनि कार्यान्वयन पक्ष दुर्वल भएको आरोप लगाए ।


न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का मुख्यमन्त्री मो. लालबाबू राउतले आम नागरिकको स्वास्थ्यसँग खेलवाड गर्ने छुटलाई नरहेको जीकिर गरेका छन् ।

 

कम्पनी, उद्योग, व्यापारीले खाद्यान्नमा विषादी प्रयोग गरी आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरिरहेको पाइएको जनाउँदै यस्तो गर्नेलाई कडा कारवाही गर्नको लागि सशक्त ऐन कार्यन्वयनमा ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले मंगलवार जनकपुरमा आयोजना गरेको उपभोक्ताको मानव अधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालालाई उद्घाटन गर्दै मुख्यमन्त्री राउतले सो कुरा बताएका हुन् ।


उनले भने, - "उपभोक्ताको मानव अधिकारको अवस्थाको विषयमा झट्ट हेर्दा छताछुल्ल देखिएको छ । यसको कार्यान्वयनमा तीनै तहको सरकारबीच समन्वय आवश्यक छ र खाद्यान्नमा विषादी प्रयोग गर्नेलाई कडा कारबाही हुने ऐन ल्याउनुपर्ने आजको आवश्यकता देखिएको छ ।" 

 

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अंसारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उनले मानिसको स्वास्थ्यसित खेलवाड गर्ने छुट कसैलाई नरहेको बताउँदै  विगतमा पनि उपभोक्ता संरक्षण सम्बन्धि ऐन कानुनहरु भएपनि कार्यान्वयन पक्ष दुर्वल भएको आरोप लगाए ।


 ऐन कानुन कार्यान्वयन गर्ने निकाय कमजोर हुँदा उपभोक्ता ठगीमा पर्न बाध्य रहेको उनको भनाई छ । उपभोक्ता ऐन चाँडै कार्यन्वयनमा नल्याए आम उपभोक्तामा विभिन्न प्रकारको स्वास्थ्य समस्या आउने जीकीर गर्दै यसलाई समयमै निर्मूल पार्नको लागि सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताए । 

 

सो अवसरमा प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल, उपभोक्ता हित संरक्षण मंच, नेपालका अध्यक्ष ज्योती बानिया, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साह लगायतले आ आफ्ना धारणा राखेका थिए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस