• २०७६ कार्तिक ६ गते, बुधबार



मधेशमा आज 'जुडशितल' को लहर, हिलोपानीमा रमाउँदै मधेशवासी 

यही दिन गाई वस्तुहरुलाई पनि अनिवार्य रुपमा नुहाउने परम्परा रहेको छ ।


न्यूज ब्यूरो, जनकपुरधाम । तराई मधेशको विभिन्न क्षेत्रमा  परम्परागत रुपमा मनाइदैं आइएको जुडशितल पर्व सोमबार विधिवत रुपमा टाउकोमा पानी थाप्दै हिलोपानीमा रमाउँदै मनाइरहेका छन् ।

 

होली पर्वमा रंग अविरले खेलिए जस्तै यस पर्वमा हिलो र पानीले खेलिने गरिन्छ । पहिले पहिले यो पर्वमा बिहान उठेर सम्पुर्ण गाउंवासीहरु मिलेर एकत्रित भई एक अर्कामाथि हिलो, माटो, पानी र खरानी छ्यापेर खेलिने गरिएको थियो तर अब आधुनिकता हावि हुंदै जांदा यो पर्व लोपोन्मुख हुंदै गएको स्थानीयहरु बताउँछन ।

 

लोपोन्मुख हुंदै गएको मधेशको लोकपर्वको रुपमा रहेको जुडशितल पर्वलाई संरक्षण गर्ने उद्देश्यले तराई मधेशमा क्षेत्रका विभिन्न कार्यक्रमको आयोजना गरी एक आपसमा हिलो र पानी छ्यापेर यो पर्व मनाने गरिन्छ ।

जुडशितलमा हिलो र पानी जिउमा हाल्नाले स्वास्थ्य लाभ हुने र छालाको रोगहरु नलाग्ने वैज्ञानिक कारण रहेको छ भने, यो पर्वमा पानी हालेर खेल्यो भने, गर्मी महिना भरी शितलता प्रदान हुने जनविश्वास रहेको छ ।

 

थारु समुदायले यस पर्वलाई शिरुवा पर्वको रुपमा मनाउँदै आएको छ । विगतदेखि नै उनीहरुले यस पर्वलाई जीवन्त राखेका छन् । 

यसै विश्वासको साथ एक अर्कामाथि पानी र हिलो छ्यापेर जुड शितल मनाईएको छ । गर्मीयाममा दादुराको प्रकोप बढ्ने गरेको कारणले शुद्ध माटो जिउंमा मधेशमा नयाँ वर्षको दोश्रो दिन जुड् शितल लगाउंदा यो रोग निको हुने पौराणिक मान्यता अनुसार शुद्धमाटो र पानीले यो पर्व मनाइने गरिन्छ ।

 
शहरी क्षेत्रमा यो पर्व लोपोन्मुख हुंदै गए पनि अहिले पनि ग्रामिण क्षेत्रमा यस पर्वको बिशेष महत्व रहेको छ । बिहान घरको जेष्ठ व्यक्तिले आफु भन्दा कान्छाहरुको टाउकोमा बासी पानी हालि वर्ष भरि नै शितलता प्रदान होस भन्ने कामना गर्दछन् ।

 

जस अनुसार जनकपुर सहित आसपासको क्षेत्रमा बृद्ध बृद्धाहरुले आफु भन्दा कान्छोको टाउकोमा पानी छ्यापेर यो पर्व मनाईन्छ । जुडशितलको दिन बोट विरुवाहरुमा समेत पानी हाल्ने परम्परा रहि आएको छ । 

 

यो दिन पानी हाले भने वर्ष भरी नै रुख बोट बिरुवाहरुलाई तथा रुख विरुवाहरुबाट पनि शितलता प्रदान हुने गरेको जनविश्वास समेत रहिआएको छ । यही दिन गाई वस्तुहरुलाई पनि अनिवार्य रुपमा नुहाउने परम्परा रहेको छ । त्यसैगरि जुडशितलमा बासि भात र मानव शरीरको लागि अति नै स्वस्थ्यकर मानिएको चना र जौं को सतु तथा अन्य चिसो परिकारहरु खाने परम्परा छ ।

 
यसैबीच, लोप हुँदै गएको जुडशितल पर्व र यसको ईतिहासलाई कायमै राख्नको लागि धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेश साँसद एवम बरिष्ठ समाजसेवी राम अशिष यादवले प्रत्येक वर्ष हिलोपानीको आयोजना गरी जुडशितल मनाउँदै आएका छन् । आधुनिकतामा मौलाएको मधेश, मिथिलालाई परम्परागत ढाँचा साँचामा ल्याउनको लागि प्रदेश साँसद यादवले जनकपुरको गँगासागर सरोबरको डीलमा प्रत्येक वर्ष जनकपुरका प्राज्ञ, वरिष्ठ, जेष्ठ नागरिक, साहित्यकार, कवि, पत्रकार, राजनीतिकर्मी, व्यवसायीहरुलाई एकत्रित गरी जुडशितलको महत्व र विधि बारे प्रकाश पार्छन् ।


न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा उनले भने, आधुनिकता जनकपुर र यसको आसपासको क्षेत्रमा मात्र हाईन जहाँ पनि हावी हुँदैछ, आधुनिकता खराव होइनन् तर आधुनिकताको आडमा पौराणिक मान्यतालाई लोप गर्नु पनि कदापी उचीत होईन् । आधुनिकतासँगै आफ्नो पहिचान, परम्परालाई जीवन्त राख्न सक्ने सोंच अहिलेको युगमा अपरिहार्य छ । 


प्रत्येक वर्ष समाजसेवी यादवले एक थालमा गँगासागरबाट निकालिएको पवित्र एवम् शितल हिलो र पानी त्यहाँ आउने आफूभन्दा कान्छोलाई माया सहित टाउकोमा पानी थपथपाउँदै गालामा माटो लगाउएर जुडशितल पर्व मनाउने गरिन्छ । उनले आफ्नो परम्परालाई जोगाउन आफैंबाट सुरुवात गर्नुपर्ने बताए । 

 

समयको परिवर्तन संगै यस पर्वको स्वरुपमा परिवर्तन आए पनि यस पर्वको महत्वमा भने कुनै कमि नआएको प्राज्ञ राम भरोष कापडी भ्रमरको भनाई छ । गृष्म ऋतुको शुरुवातसंगै शितलताको प्रतिकको रुपमा हिलो र पानीले खेल्ने यो पर्वले मधेशको सांस्कृतिलाई झल्काउने गरेको उनको भनाई छ ।

 

आधुनिकताको दौरमा यस पर्वको सकारात्मकता लाई बिर्सेर युवाहरु यसलाई फोहोरी मानेर यो पर्व बाट टांढिदै गएको देखिएको छ । 

Loading...
श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका | समाचारको लागि : +977-9854028045 मा फोन गर्नुहोस् ।
यो समाचारमा तपाईको विचार COMMENT गर्नुहोस्
  • सम्बन्धित समाचारहरु


  • Loading...