• २०७६ असार ४ गते, बुधबार
०२:३८ pm

धनुषाको यो गाउँ, जहाँ अहिले पनि दुई गाउँकै 'बुढाहरु' खेल्छन म्याच ! ( फोटोमा हेर्नुहोस् )

दुवै गाउँबीचको सौहार्दको खेल भएकोले दुवै गाउँलेको जीत भएको उनीहरुको मान्यता छ । 


न्यूज ब्यूरो, जनकपुरधाम । दुई गाउँबीचको सौहार्द कायम राख्नको लागि विभिन्न प्रक्रियाहरु फेल हुन्छन । तर धनुषाकै एक गाउँमा अहिले पनि दुई गाउँलेबीचको सम्बन्ध प्रगाढ राख्न विगतदेखि नै गाउँका बुढापाखा खेलाडीहरु मैदानमा उत्रन्छन् ।

 

धनुषाको साबि एकराही गाविस तथा हाल विदेह नगरपालिकामा यो परम्परालाई त्यहाँ स्थित दुई गाउँका बुढापाखाहरुले फुटबल खेल मार्फत दुवै गाउँका सम्बन्धलाई प्रगाढ बनाएको देखिएको छ । विदेह नगरपालिका वडा नं. ५ मुडिबा तथा वडा नं. ६ एकराहीका ४० वर्षमाथि उमेर भएका खेलाडीहरुले मात्र यो खेल खेल्न पाउने प्रावधान राखेर सम्बन्ध कायम राखेका छन् । 

 

 

विगत १० वर्षदेखि दुवै गाउँका अधबैशेहरुले फुटबल खेल मार्फत गाउँको सम्बन्धलाई कायम राख्दै आईतबार समेत उनीहरुले दुई गाउँबीचको फुटबल प्रतियोगितालाई निरन्तरता दिएका छन् । प्रत्येक वर्ष बैशाख १ गतेका दिन मुडिबा र एकराहीका बुढा खेलाडीहरु मैदानमा उत्रने गर्छन्, मनोरञ्जनका साथै उनीहरुले ट्रफी समेत जित्ने गरेका छन् ।

 

वडा नंं ५ का वडाध्यक्ष विजय यादवको नेतृत्वमा तथा वडा नं. ६ का वडाध्यक्ष जय नारायण मण्डलको नेतृत्वमा मुडिबाको मैदानमा भएको एकदिने सौहार्द फुटबल खेल प्रतियोगितामा एकराही टिमले विजयी हात पार्न सफल भएका छन् । एकराही टीमको तर्फबाट जयराम मुखियाले मुडिबा उपर २ गोल प्रहार गरेका थिए । 

 

मुडिबा टिमले खाता पनि खोल्न नसकेपछि एकराही टिमको अन्त समयसम्म जीत भएको थियो । विजयी हुने टिम तथा पराजीत हुने टिमलाई पनि ट्रफी प्रदान गरिएको थियो । म्यान अफ दी म्याचको उपाधी पनि मुखियाले नै हाँसिल गरेका हुन् । दुवै गाउँबीचको सौहार्दको खेल भएकोले दुवै गाउँलेको जीत भएको उनीहरुको मान्यता छ । 

 

सो खेलमा मेयरका प्रत्यासी राज किशोर यादवले भने सहजता प्रदान गर्दै एम्पायरको भूमिका निर्वाह गरेका थिए । 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस