• २०७६ असार १० गते, मंगलबार
११:२६ pm

ओलीको विरुद्धमा भोट माग्नेहरु अहिले सँगै 'हनिमून' मनाउँदैछन् : डा. सिके राउत

मधेशवादी दलको ठगी खाने दुकान बन्द हुने भएपछि डरले आफूबारे विभिन्न भ्रमहरु फैलाउन थालेको आरोप लगाए ।

न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेशवादी दलका नेताहरू मधेशीलाई सधैं प्रयोग मात्र गरेको भन्दै आक्रोश पोखेका छन् ।

 

सिरहाको मिर्चैयामा जनमत पार्टीद्धारा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै डा. राउतले मधेशको नाममा राजनीति गरेर नेताहरू कहाँबाट कहाँ पुगेपनि मधेशको मुद्दा भने ज्यूँकोत्यू राखेको भन्दै आलोचना गरेका हुन् ।

 

विभिन्न आन्दोलनको नाममा निर्दोष मधेशी जनताको हत्या गराएर तथा चुनावका बेला मधेश विरोधी नेताहरुको आलोचना गरेर चुनाव जितेपछि उनीहरुसँगै सत्तामा रमाइरहेका रहेकोे कुरा कसैबाट नलुकेको बताए । उनले भने, 'चुनावमा ओलीको विरुद्धमा भोट मागेकाहरु अहिले उनीसँगै हनिमून मनाइरहेका छन् ।'

 

मधेशी जनताको माग अनुसार आफू मूलधारको राजनीतिमा आएपछि मधेशको नाममा राजनीति गर्ने ठग मधेशवादी दलका नेताहरुको पसल अब बन्द हुने बताए । उनीहरूको ठगी खाने दुकान बन्द हुने भएपछि डरले आफूबारे विभिन्न भ्रमहरु फैलाउन थालेको आरोप लगाए ।

 

जनमत पार्टीको पहिलो जनसभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष राउतले मधेशवादी दल तथा प्रदेश सरकारको भ्रममा नपर्न मधेशी जनतालाई आग्रह गरेका छन् ।

 

डा. राउतले सरकारसँग गरेको सहमतिलाई विजयीको सँज्ञा दिदै अरु पार्टी जस्तो बन्द कोठामा सम्झौता नगरेको र जनताको हितमा जनताको सामुन्ने गरेको भन्दै सम्झौताबारे प्रश्न उठाउन मधेशवादी दलको औकात नभएको बताए ।

 

११ बुँदे सम्झौता केपी ओली नभई नेपाल सरकारसँग गरेको र आफू कहिले मधेशको शिर झुक्न नदिने भन्दै मधेशको लागि ज्यान कुरवान गर्न पनि तयार रहेकोे जनाए ।


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस