स्वर्ण पदक विजेता अजितलाई मोटरसाईकल, मासिक ६० हजार पाउने
अजितलाई सम्मानस्वरुप १२५ सीसीको टिभिएस मोटरसाइकल समेत प्रदान गरिएको छ ।

२०७५ चैत १३ बुधबार, दिउँसो ३:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । स्वर्ण पदक विजेता अजित कुमार यादव ६० हजार रुपैयाँ मासिक पाउने भएका छन् । नेपाल एथ्लेटिक्स संघले हङकङमा सम्पन्न तेस्रो युथ एशियन च्याम्यिनसिपमा स्वर्ण पदक विजेता अजितलाई सम्मान गर्न मंगलबार आयोजित कार्यक्रममा विभिन्न व्यावसायिक घरानाले मासिक कुल ६० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
कार्यक्रममा अजितलाई सम्मानस्वरुप १२५ सीसीको टिभिएस मोटरसाइकल समेत प्रदान गरिएको छ । संघका अध्यक्ष राजिव विक्रम शाहले मोटरसाइकलको चाबीसहित उनलाई सम्मान गरे ।
स्वर्ण पदकधारी अजितलाई संघका पदाधिकारीसहित नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरु, राष्ट्रिय खेलकुद परिषद्की सदस्य इन्दिरा निरौला लगायत विभिन्न व्यावसायिक घरानाका व्यक्तिहरुले सम्मान गरेका थिए ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले समग्रमा ५ व्यावसायिक गु्रपका तर्फबाट मासिक ६० हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।
सहयोग घोषणा गर्नेमा नबिल बैंकसँगै, जावलाखेल गुप्र अफ इन्डष्ट्री, गोल्डस्टार, गोल्छा अर्गनाइजेसन र अन्नपूर्ण गु्रप रहेका छन् । ५ घरानाले मासिक १२ हजारका दरले ६० हजार रुपैयाँ १ वर्षसम्म उपलब्ध गराउने घोषणा गरेका हुन् ।
यो घोषणासँगै स्वर्ण पदकधारी अजितले १ वर्षसम्म मासिक ६० हजार रुपैयाँ पाउनेछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…