• २०७६ बैशाख ६ गते, शुक्रबार
०३:१३ am

आज अन्तरगृहि घुमेर सम्पन्न हुँदै मधेशको महाकुम्भ १५ दिने परिक्रमा

परिक्रमामा घुम्ने साधुसन्त,महन्थ, नागा, गृहस्थ आदिहरुलाई परिक्रमाबासी भनेर सम्बोधन गरिन्छ । 

तस्विर : सलामत राईन | न्यूज ब्यूरो नेपाल


न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको महाकुम्भ मानिने १५ दिने धार्मिक परिक्रमा आज सम्पनन हुँदैछ ।

 

गत फागुन २३ गतेदेखि विधिवत रुपमा शुभारम्भ भएको १५ दिने धार्मिक लस्कर (परिक्रमा) आज जनकपुरधामको अन्तरगृही परिक्रमा गर्दैछन् । अन्तरगृही परिक्रमामा विभिन्न जिल्ला तथा ग्रामिण भेकबाट आएका हजारौँ हजार श्रद्धालुहरु विहान २ बजेदेखि नै परिक्रमा गरिहेका छन् ।

 

१५ दिने माध्यमिकी परिक्रमाको यात्रा गरेपछि पापबाट मुक्ती पाउने जनविश्वास रहिआएको छ । परापूर्वकालदेखि चलिआएको परिक्रमामा पहिले लाखौँको सँख्यामा श्रद्धालुहरु सहभागीता हुँदै आएमा अहिले श्रद्धालुहरुको सँख्यामा कमी आएको देखिएको छ । बुधबार नेपाल र भारतको विभिन्न पडावस्थल विश्राम गरी जनकपुर आईपुगेका धार्मिक लस्कर विहानैदेखि अन्तरगृह परिक्रमा सुरु गरेका छन् ।


१५ दिनसम्म चल्ने यो धार्मिक कुम्भमा सहभागी हुन नपाएपनि अन्तरगृहि परिक्रमामा सहभागी भएपछि १५ दिनकै मान्यता हुने विश्वास रहिआएको छ भने १४ दिनसम्म त्यत्रो किलोमिटरको परिक्रमा गरेपनि अन्तरगृहि नगरे सफलता तथा पुण्य नहुने जनविश्वास रहीआएको छ । 

 

१५ दिने माध्यमिकी परिक्रमामा सहभागी नभएका हजारौँ श्रद्धालुहरु आज अन्तरगृह परिक्रमामा अनिवार्य रुपमा सहभागी जनाएपछि हजारौँ हजारको सँख्यामा परिक्रमाको धार्मिक लस्कर जनकपुर नगरको परिक्रमा गरिरहेको छ । धार्मिक लस्कर आज दिउँसो १२ बजेसम्म परिक्रमा सकाएपछि विधिवत रुपमा भोली १९ गते मिथिलाको होली मनाइने जनाइएको छ ।  गएराती होलीका दहन विभिन्न चोक चोराहामा गरिएको छ । 

 

मिथिलाको राजधानी जनकपुरलाई केन्द्रविन्दु मानी परिक्रमा गर्ने चलन यहाँ रहेको छ । जसलाई पञ्चकोशी, माध्यमिकी परिक्रमाको नाउँबाट सम्बोधन गर्ने गरिन्छ । परिक्रमामा घुम्ने साधुसन्त,महन्थ, नागा, गृहस्थ आदिहरुलाई परिक्रमाबासी भनेर सम्बोधन गरिन्छ । 

 

हरेक वर्ष फाल्गुण कृष्णपक्षको अमावश्यादेखि शुरु भई फाल्गुण पूर्णिमा सम्म पञ्चकोशी परिक्रमा मनाईन्छ । परिक्रमा जनकपुरबाट शुरु भई जनकपुरमै गई ईतीश्री गर्ने गरिन्छ ।  जनकपुरको हनुमानगढीबाट शुरु भएको परिक्रमा भारतको कलना पुगेको हो । 

 

त्यसपछि भोली गिरिजास्थान हुँदै पर्सी महोत्तरीको मटिहानी मठमा किशोरीजीको डोला सहित धार्मिक लस्कर विश्राम लिनेछन् । आजराती कलनामै विश्राम गर्ने धार्मिक लस्कर एकाविहानै गिरिजास्थानको लागि प्रस्थान गर्नेछन् ।  परिक्रमा वृहत, मध्य र अन्तगृही पश्चात सम्पन्न गर्ने गरिन्छ । वृहद परिक्रमा उत्तरमा हिमालय पर्वत श्रेणी, पूर्वमा कोशी, दक्षिणमा गंगा र पश्चिममा गण्डक सम्मको परिक्रमा पछि सम्पन्न गर्ने गरिन्छ । आजभोली यो परिक्रमा विरलै गरेको भेटिन्छ । 

 

मध्य परिक्रमा अठारौं शताब्दी भन्दा पूर्व देखि मनाईदै आएको विश्वास गरिन्छ । यो पहिला पहिला ५ दिन सम्म मनाईने गरिन्थ्यो । यो परिक्रमालाई २० औं शताब्दीमा आएर महात्मा सुरकिशोर दासले पाँच दिनबाट १५ दिन बनाए । जसले गर्दा अहिले ती परिक्रमामा साघुसन्त, महन्थ, गृहस्थी, नागा लगायतका वृहद उपस्थिती हुने गर्छ । 

 

मधेशको राजधानी जनकपुरलाई केन्द्रविन्दू मानी नेपाल र भारतको १५ विश्राम स्थलमा बसोबास गरी फाल्गुण पूर्णिमा दिन जनकपुरमा अन्तगृही परिक्रमा गरी यस पर्वको समापन गर्ने गरिन्छ । १५ विश्रामस्थल जनकपुरबाट पाँच पाँच कोशको दुरीमा रहेको कारण यसलाई पञ्चकोशी परिक्रमा भनिएको हो । 

 

फाल्गुण अमावश्याको दिन धनुषाको कचुरीबाट मिथिला विहारीको ( रामसीता)  र किशोरीजीको डोला बाजागाजा सहित जनकपुर स्थित जानकी मन्दिरमा ल्याई परिक्रमाको विधिवत शूरुवात गरिन्छ । यो डोला मधेश र मिथिलाको विभिन्न धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको स्थलको परिक्रमा गरी जनकपुरमा आएर सम्पन्न हुन्छ । जनकपुरमा मध्य परिक्रमा अन्तगृही परिक्रमामा परिणत भई सम्पन्न गर्ने गरिन्छ । 

 

परिक्रमा नेपाल र भारतको १५ स्थानको बसाई पछि इतिश्री गर्ने गरिन्छ । जसमध्ये धनुषाको जनकपुर, धनुषाधाम, हनुमानगढी, औरही, सतोषर र पर्वता, महोत्तरीको मटिहानी, जलेश्वर, मडै, धुव्रकुण्ड र कञ्चनवन, भारतको गिरिजास्थान फुलहर, कल्याणेश्वर, विशौल र करुणा लगायतका ठाउँहरुमा परिक्रमाबासीहरु बसोबास गर्छन । परिक्रमाबासीहरु करिब १२८ किलोमिटरको यात्रा गर्ने गर्छन ।

 

नेपाल र भारतको सामाजिक सदभावको सेतुको रुपमा रहेको यो परिक्रमा धार्मिक, ऐतिहासिक र पूरातात्विक महत्वको परिचय दिने गर्छ । त्यसै यसले आर्थिक टेवा समेत दिने गर्छ । विश्रामस्थल विशिष्ट महत्वको भएपनि अवस्था दयनिय रहेको छ । 

 

ति स्थलमा रहेको जलाशय, मठ, मन्दिर अपेक्षाको कारण जिर्ण बन्दै गएको छ । परिक्रमा सडकको निर्माण हरेक वर्ष जोडतोडका साथ उठेपनि अहिले सम्म सो सडक निर्माण नहुदाँ परिक्रमाबासीहरुलाई ज्यादै नै सास्ती भोग्नुपरिरहेको छ ।
परिक्रमा गर्दा सुख, शान्ति, मनोकामना पुर्ण हुने लगायतका मान्यताका कारण वर्षैनी परिक्रमा गर्नेहरुमा बढोत्तरी हुदै आएको छ ।

 

यस्तो छ परिक्रमा मार्ग

 

मध्य परिक्रमा अर्थात पञ्चकोशी परिक्रमा नेपाल भारतको ८० कोशको वृत्ताकारमा धुमि मनाईने गरिन्छ । नेपाल र भारतको १५ विश्राम स्थलमा फाल्गुण अमावश्यादेखि शुरु गरी फाल्गुण पूर्णिमा सम्म यो परिक्रमा अन्त्य गर्ने गरिन्छ । हरेक विश्रामस्थलको आफ्नो छुट्टै विशिष्ट र पुरातात्विक महत्व रहेको छ । यहाँ यसैबारे चर्चा गरिन्छ । 


 हनुमानगढी — फाल्गुण अमावश्याको दिन धनुषाको कचुरी मठबाट निस्केको रामजानकी ९ मिथिलाविहारी ० को डोला जानकी मन्दिर हुदै बाजागाजा सहित हनुमानगढीमा राति विश्राम लिन्छन । यहाँ सयौ वर्ष पुरानो हनुमानको विशाल मूर्ति रहेको छ ।

 

 कल्याणेश्वर (कलना) — विश्रामको दोस्रो पडाव स्थल भारतको कल्याणेश्वर अर्थात कलना हो । यहाँ कल्याणेश्वरनाथ महादेवको मन्दिर अवस्थित छ । राजर्षी जनकले आफ्नो राजधानीको चारै कुनामा स्थापना गरेका चार महादेव मध्ये यो एक हो ।

 

 गिरिजास्थान (फुलहर) — कल्याणेश्वरस्थानबाट चार कोस दक्षिण पश्चिममा रहेको गिरिजास्थान तेस्रो दिनको पडाव स्थल हो । यो पौराणिक स्थल रहेको मान्यता छ । त्रेता युगमा सिताले यही फुल चुनिरहेको बेला रामको पहिलो भेट भएको क्ंिवदन्ति छ । यहाँ दुःखहरण कुण्ड, सीतासागर र फुलवारी रहेको छ ।

 

 मटिहानी — मिथिला पञ्चकोशी परिक्रमा चौथो दिन अर्थात फाल्गुण शुक्ल तृतीयाको दिन महोत्तरी जिल्लाको पहिलो विश्राम स्थल मटिहानी प्रवेश गर्छ । यहाँ सीताजीको मटकोरको लागी माटो खनिएको विश्वास गरिन्छ । यहाँ प्रसिद्ध लक्ष्मी सागर नामको पोखरी र लक्ष्मीनारायणको मन्दिर रहेको छ । 

 

 जलेश्वर — मटिहानीबाट परिक्रमाबासी चौथो दिन जलेश्वर पुग्छन जो मटिहानीबाट २ कोश पश्चिममा पर्छ । यहाँ जलमा विराजमान जलेश्वरनाथको पुजा आराधना गर्ने गर्छन । 

 

 मडै — फाल्गुण शुक्ल पञ्चमीको दिन परिक्रमाको डोला जलेश्वरबाट प्रस्थान गरी मडै पुग्छन र यहाँ राति विश्राम लिन्छन । प्राचिनकालमा यहाँ माण्डव ऋर्षीको आश्रम र सीताजीको बिहेको लागी मडवा ९वेदी० यही बनाईएको जनश्रुति पाईन्छ ।

 

 धु्रवकुण्ड — मडैबाट सातौ दिन धु्रवकुण्ड पुगिन्छ र यहाँ विश्राम लिईन्छ । यहाँ ध्रुवको मन्दिर र ध्रुव कुण्ड रहेको छ ।


 कञ्चनवन — ध्रुवको दर्शन गरेर परिक्रमाबासी महोत्तरीको अन्तिम पडाव स्थलको रुपमा रहेको कञ्चनवनमा सप्तमीको दिन पुगी विश्राम लिन्छन । यहाँ ईच्छावती र विरजा गंगाको पवित्र संगमस्थल भएकोले यसलाई पवित्र मानिन्छ । पौराणिककालमा यहाँ अनारवन, तमालवन, तालवन, कदलीवन लगायतका १२ वटा रमणीय वन रहेको थियो । त्रेता युगमा यहाँ भगवान रामले होली खेलको किम्दन्ती अनुसार यहाँ परिक्रमाबासी पुगि अविर खेली होली मनाउने गर्छन । यहाँ अहिले पनि जनकपुरस्थित जानकी मन्दिर र राममन्दिरका पुजारीहरु पुगेर होली खेल्ने चलन रहिआएको छ ।

 

 पर्वता — नवम दिन परिक्रमाबासी धनुषाको पर्वतामा विश्राम लिन्छन । राजा जनकद्वारा स्थापित क्षिरेश्वरनाथ महादेवको मन्दिर यहाँ रहेको छ ।


 धनुषाधाम — पर्वताबाट परिक्रमाबासी दशौ पडावस्थलको रुपमा रहेको धनुषाधाम पुग्छन । यहाँ जनकपुरमा सीतको स्वंयम्वर हुदाँ मर्यादा पुरुषोत्तम रामले भाँचेको धनुषको एक टुक्रा खसेको विश्वास छ । यहाँ सीताराम, हनुमान लगायतका मन्दिर रहेको छ तर दर्शनार्थीको दर्शनको केन्द्रविन्दु धनुष रहेको पाईन्छ । 

 

 सतोषर — फाल्गुण शुक्ल दशमीका दिन परिक्रमाबासी डोलासंगै सतोषर पुग्ने गर्दछ । यहाँ सातवटा पोखरी, शिव र सीताराम मन्दिर रहेको छ । 

 

 औरही — विमला नदीको तटमा रहेको औरहीमा १२ औं दिनको विश्राम लिईन्छ ।

 

 करुणा — नेपालको औरहीबाट पुनः परिक्रमा भारतको करुणा तेह्रौ दिनमा प्रवेश गर्छन । यहाँ करुणा नामको नदी विख्यात रहेको छ ।


 विशौल — करुणाको विश्रान्ति पछि परिक्रमाबासी चर्तुदशीको दिन भारतको विशौल पुग्ने गर्दछ । यहाँबाट कमला नदी वग्दछ भने यहाँ ऋर्षी विश्वामित्रको मन्दिर समेत रहेको छ ।

 

 जनकपुर — परिक्रमाको अन्तिम पडावस्थल जनकपुरमा परिक्रमाबासी पुगी विश्राम लिन्छन । यहाँ राति विश्राम पश्चात अन्तिम प्रहरमा अन्तगृही परिक्रमा गर्ने गर्छन । जानकी र राममन्दिरलाई केन्द्रविन्दु मानी अन्तगृही परिक्रमा गर्ने गर्छन । सो पश्चात मिथिलामा होली प्रारम्भ हुन्छ ।


 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस