• २०७६ बैशाख ७ गते, शनिबार
०४:५५ am

सिरहामा बोक्सी आरोपमा १ महिला निर्घात कुटिए, जिउँदै जलाउने धम्की !

घटनाबारे जानकारी भएपनि प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन ।


सिरहा, २६ माघ । सिरहामा एक महिला उपर बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको छ । सिरहाको नरहा गाउँपालिका–३, मा छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै स्थानीय ४५ वर्षीया बौवावती महतो उपर निर्घात कुटपिट गरिएको हो ।


बिरामी भएका युवकको परिवारले घरमै पसी बिहिवार बेलुका लछारपछार गर्दै निर्घात कुटपिट गरेको पीडित महतोले सुनाइन् । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा नीलडाम पर्नुका साथै गम्भीर चोटपटक लागेको छ ।


स्थानीय अमिरी सदायका छोरा करिब १९ वर्षीय सुजित कुमार सदायलाई भूतप्रेत लगाएको आरोप लगाउँदै सुजितकी आमा, दिदी बहिनीलगायतले लछारपछार पार्दै चौतारामा पुर्याई कुटपिट गरेको पीडित महिलाले बताइन् ।


सुजितलाई बौवावतीले नै टुनामुना गरेको भन्दै धामी सुकना मण्डलले सदाय परिवारलाई उक्साएको स्थानीयहरुले बताए । जिउँदै जलाउने धम्कीसहित घरबाट घिसार्दै ल्याएर चौतारोमा उभ्याएकी पीडित महतोलाई केहीले बचाउन खोज्दा बोक्सीलाई जोगाउन खोज्नेको पनि यस्तै हबिगत हुने धम्की दिएपछि डरले कसैले केही गर्न सकेनन् ।


घटनाबारे जानकारी भएपनि प्रहरीले दोषीलाई पक्राउ गर्न सकेको छैन ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस