• २०७६ असार ११ गते, बुधबार
१२:१८ am

'मधेशी पुत्र–२' की नायिका दुर्घटनामा परी गम्भीर घाईते, सहयोगको अपिल !

भारतको देहरादुनमा उनीहरु सवार गाडिलाई एक ट्रकले ठक्कर दिएपछि सोच्न नसक्ने दुर्घटना हुन पुगेको हो ।

 

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशको बहुचर्चित चलचित्र ‘मधेशी पुत्र–२’ मा नायिकाको किरदार निभाएकी नायिका सवारी दुर्घटनामा परी गम्भीर घाईते भएकी छिन् ।

 

थुप्रै आरोह अवरोह पार गर्दै रिलिज भएपछि धेरैले मन पराएका तथा चर्चा पाएका ‘मधेशी पुत्र’ को दाश्रो श्रृँखलाको रुपमा रिलिज भइसकेको मधेशी पुत्र–२ मा नायिकाको भूमिकामा रहेकी निशा घिमिरे गम्भीर घाईते भएकी हुन् ।


छायाँकनकै शिलशिलामा भारतमा रहेकी उनी सवारी दुर्घटनामा परी बोल्नै नसक्ने गरी गम्भीर घाईते भएकी छिन् । सहकर्मीहरुसहित उनी छायाँकनको काम सकाएर बस्ने ठाउँमा फर्किरहेको क्रममा भारतको देहरादुनमा उनीहरु सवार गाडिलाई एक ट्रकले ठक्कर दिएपछि सोच्न नसक्ने दुर्घटना हुन पुगेको हो । 


दुर्घटनामा परी गाडीमा सवार सबैजना घाईते भएका छन् । ठक्कर दिने ट्रक र चालक फरार छन् । घाईते मध्ये एकली मात्र नेपालकी रहेकी नायिका निशाको अवस्था भने नाजुक छ । उनको मगजमा गम्भीर चोट लागेको छ । उनी अहिले काठमाडौंस्थित विर हस्पिटलको ट्रमा सेन्टरमा उपचाररत छिन् भने अन्य घाईतेहरुको भारतको नयाँ दिल्लीस्थित एक हस्पिटलमा उपचार भइरहेको छ । 


हालाकी, नायिका निशालाई समेत दुर्घटना पश्चात् त्यहीँ भर्ना गरिएको थियो । तर, उनलाई उपचारको लागि रकमको अभाव भएर केही दिन पश्चात् काठमाडौं ल्याइएको मधेशी पुत्र–२ का निर्देशक निराजन मेहताले जानकारी दिए । आईसियूमा राख्नुपर्ने अवस्था रहेपनि रकमको अभावमा उनलाई वार्डमै राखिएको छ । उनी विर हस्पिटलमा विगत १० दिनदेखि उपचाररत छिन् भने अवस्था झनै नाजुक रहेकाले रकमको अभावमा उपचार समय अनिश्चित छ ।


कलाकारिताबाट नै परिवारसमेत चलाउँदै आएकी उनको परिवारको आर्थिक अवस्था धेरै नै कमजोर छ । उनको घर ललितपुर नजिकैको एक विकट गाउँमा रहेको निर्देशक मेहताले बताए । 


नेपाल र मधेशको राजनीति, युवाको अवस्था, निर्भिक पत्रकारिता सहितका विषयवस्तुलाई आधार बनाएर निर्माण गरिएको तथा मधेश र मधेशी उपर राज्यद्धारा हुँदै आएको विभेदलाई दर्शाइएको फिल्ममा नायिका जस्तो महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनको जीवन रक्षार्थ आर्थिक सहयोगका लागि मधेशी पुत्र–२ का निर्देशक निराजन मेहताले अपिल गरेका छन् ।


निर्देशक मेहताको सम्पर्क नम्बर ९८०५३६४२८३ मा फोन सम्पर्क गरी अथवा ग्लोबल आईएमई बैंक ( Global IME Bank) मा निराजन मेहताको नाममा रहेको खाता नम्बर ३९०७०१०००३५७७ मा आ–आफ्नो स्तरबाट सक्ने आर्थिक रकम सहयोग गरी उनको जीवन रक्षाका लागि अपिल गरिएको छ ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस