• २०७६ बैशाख ७ गते, शनिबार
०४:३९ am

'कमला बचाउ महाअभियान' : एक सराहनीय कदम

सुरक्षित नभएपनि धनुषा तथा सिरहावासीहरुमा आफ्नो ज्यानको जोखिम मोलेर भएपनि तेस्रो विकल्प प्रयोग गर्ने बाध्यता रहेको देखिन्छ ।


"मरुभूमि हुनबाट बचौँ, पर्यावरण लाई जोगाऔं, सुन्दर र व्यवस्थित कमला हाम्रा भावि पुस्ताका लागि पहिचान बनाऔँ !

 

कमला नदी बचाउ महाअभियानको थालनी गर्ने सोंच बनाएका युवा समाजसेवी विक्रम यादवको काम वास्तवमा एक सराहनीय कदम हो । कमला नदीको उत्पति चुरे पर्वतको नजिक सिन्धुली जिल्लाको माईस्थान सिन्धुली गढीबाट भएको हो ।


यो १२०० मिटरको उचाईबाट बग्ने गर्दछ । यसको लम्बाई ३२८ किलोमिटर रहेको छ भने यो तराईको चिसापानीदेखि धनुषा र सिरहा हुँदै भारतको मधुवनी जिल्लाको जयनगर हुँदै विहार राज्य सम्म फैलिएको छ । 

 

कमला नदी हाम्रो तराईको धनुषा र सिरहा जिल्लाको सीमानाको रुपमा रहेको छ । कमला नदी नेपालको दोस्रो स्तरको नदीहरुमध्ये एक हो । बाह्रै महिनामा कहिल्यै पनि पानी बहाव नसुक्ने यो नदीमा बर्षेनी कमला छेउछाउका सिरहा र धनुषा जिल्लाका गाउँ तथा बस्तीहरुमा पसेर क्षति पुरयाउँछ । गाउँ तथा बस्तीहरुमा पानी पसेर मानव जनधनका क्षति  पुरयाउनुका साथै खेती योग्य जमिनहरु पनि कटान गरी लग्ने तथा मरुभूमिकरण गरेका छन् ।


पहिला भन्दा अहिले कमला नदीको सतह विस्तारै माथि बढदै गएकोले खासगरी असार, श्रावण, भाद्र महिनामा पानीको बहाब अत्यधिक भएर छेउछाउका खेतीयोग्य जग्गा लगायत बस्ती पनि कटान गर्दै आईरहेको छ । बर्षातको महिना धनुषाबाट सिरहा तथा सिरहाबाट धनुषा आउन जान तीन विकल्प मध्ये एक महेन्द्र राजमार्गमा रहेको पुल तरेर जानु वा जयनगरमा रहेको कमलाको पुल तरेर जाने आउने र तेस्रो विकल्प भएपनि त्यो त्यति सहज र सुरक्षित भने छैन । 

 

                          बासुदेव यादव
              कमला नगरपालिका
वडा नं.-२

सुरक्षित नभएपनि धनुषा तथा सिरहावासीहरुमा आफ्नो ज्यानको जोखिम मोलेर भएपनि तेस्रो विकल्प प्रयोग गर्ने बाध्यता रहेको देखिन्छ । तेस्रो विकल्प हो -"डुंगा चढनु" , १०० रुपैयाँ तथा साईकल, मोटरसाईकल चढाउन १५० देखि २०० रुपैयाँसम्म लाग्ने डुँगा एकदमै असुरक्षित साधनको रुपमा रहेको छ । 

 

कमला नदी किनारमा रहेका गाउँ वस्तीहरुमा विगतका कैयौँ वर्षलाई केलाएर हेर्दा पानी पसेर गाउँका गाउँ विस्थापित गरेको कुरा हाम्रो सामु छर्लंग छ । धनुषा जिल्लाको दक्षिणी सिमाना ईनर्वादेखि महेन्द्र राजमार्गको पार्ताहासम्म र सिरहा जिल्लाको माडरदेखि बन्दीपुरसम्मको सर्वसाधारण मानिसहरु दिनहुँ त्यस्तो जोखिम मोल्न बाध्य छ । 

 

वि.सं. २०६९ सालमा तत्कालिन भौत्तिक पूर्वाधार तथा यातायात मन्त्री मा. हृदेश त्रिपाठीले शिलान्यास गर्नुभएको हुलाकी सडकमा पर्ने साघारादेखि सिरहा जोडने पक्की पूल अहिलेसम्म अलपत्र परेको छ । त्यस्तै, सिन्धुली र धनुषाको सीमानामा रहेको चिसापानीमा कमला नदी बाढी मापन पूर्व सूचना प्रणाली  पनि त्यति व्यवस्थित र प्रभावकारी देखिएको छैन भने अर्कोतिर बढदो जनसँख्या तथा कलकारखाना, उद्योग धन्दाबाट उत्पनन हुने प्रदुषणका कारण वातावरण प्रतिकूल असर परेर अतिवृििष्ट, अल्पवृष्टि, अनावृष्टि जस्ता पर्यावरणीय असरहरु देखा पर्न थालेका छन् ।

 

त्यसैले, कमला नदी संरक्षण गर्न तथा कमला बचाउ महाअभियानलाई सार्थक निष्कर्षमा पुरयाउन यी कुराहरुमा ध्यानदिनुपर्ने देखिन्छ : 


१. हुलाकी सडकमा निर्माणधिन रहेको पक्की पूललाई अविलम्ब काम सूचारु गराई समयमै सम्पन्न गराउन सम्बन्धित निकायसँग पहल गर्ने ।


२. जयनगरदेखि बन्दीपुरसम्म कम्तीमा तत्कालको लागि ४ -६ वटासम्म झोलुँगे पूल निर्माणको लागि सम्बन्धित निकायसँग पहल गर्ने ।


३. कमला नदीको बहाब बर्षेनी फरक फरक दिशामा बहने भएकोले निश्चित दिशा, यकिन गरी दुवै तर्फबाट जाली सहितको बाँध निर्माणको व्यवस्था गर्न सम्बन्धित निकायसँग पहल गर्ने ।


४. मरुभूमिको रुपमा रहेको जग्गा स्थानीय बासिन्दालाई बगर खेती गर्न अनुदानको व्यवस्था सहित प्रोत्साहन गर्ने ।


५. कृषि विकास मन्त्रालयसँग समन्वय गरी खेतियोग्य जग्गामा त्यहाँका किसानहरुलाई थप अनुदानको व्यवस्था गरी कृषि उत्पादनमा लाग्न प्रोत्साहन गर्ने ।


६. कमला किनारमा खाली रहेको भागमा प्रदेशको वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरी वृक्षारोपण गर्ने तथा सामुदायिक वन, निजी वन, सरकारी वनको अवधारणालाई आत्मसात गरी प्रदेश भित्र रहेको न्यून प्रतिशत वनलाई बढाउन पहल गर्ने ।


७. गैर कानुनी रुपमा तथा पर्यावरणलाई असर पार्ने हिसाबले भईरहेको ढुँगा, गिट्टी, बालुवा तस्करी रोक्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने । 


८. कमला नदीको पानीको बहावलाई सदुपयोग गरी कृषि सिंचाईको रुपमा सदुपयोग गर्ने सम्बन्धित मन्त्रालयसँग पहल गर्ने ।


९. हाल चिसापानीमा रहेको कमला नदी बाढी मापन पूर्व सूचना प्रणाली यन्त्रलाई ठाउँ ठाउँमा विस्तार गरी प्रभावकारी बनाउन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने ।


१०. कमला  नदीमा कार्तिक पूर्णिमाको दिन लाग्ने भूत मेला लाई थप व्यवस्थित बनाउन प्रदेशको पर्यटन मन्त्रालयसँग समन्वय गरी पर्यटन प्रर्वद्धनमा टेवा पुरयाउन समन्वय गर्ने ।

 

तसर्थ, यो कमला बचाउ महाअभियानमा यी कुराहरुलाई आत्मसात गरी अगाडी बढेमा हाम्रो वरिपरीका वातावरणका साथै भावी पुस्तालाई समेत सहयोग पुग्ने गरी आर्थिक समृद्धि हाँसिल गर्न वरदान साबित हुनेछ । अतः  यो महाअभियानमा सदैव हाम्रो साथ र सहयोग रहनेछ । अन्त्यमा यस महाअभियान थालनकीको लागि अग्रसरता देखाउनुहुने सम्पूर्ण समाजसेवीहरुलाई अग्रिम शुभकामना । 
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस