मधेशकी महिला पत्रकार 'उमा सिँह' विभत्स हत्याको आज १० वर्ष पुरा !

उपचार सम्भवन नभएपछि उनलाई थप उपचारको लागि काठमाण्डौ लगिरहेको अवस्थामा बाटोमा मृत्यु भएको थियो।

२०७५ पौष २७ शुक्रबार
बिहान ०८:४४ बजे
न्यूज ब्यूरो | नेपाल
फाईल तस्विर


जनकपुरधाम, २७ पुस । जनकपुरधामकी महिला पत्रकार उमा सिँहको हत्या भएको आज १० वर्ष पुरा भएको छ । 

 

गत वि.स. २०६५ साल पुस २७ गते जनकपुरधामको रजौल स्थित आफ्नै डेरामा बसिरहेकी बेला उनलाई एक समूहले विभत्स हत्या गरेको थियो । जनकपुरकी प्रथम महिला शहिद उमा सिँहको स्मृतिमा विभिन्न संघ सँस्थाहरुले १० औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी दुःखद साथ मनाउँदैछन् । 


महिला शहिद सिंहको स्मृति दिवसको अवसरमा शुक्रबार (आज) नेपाल पत्रकार महासंघ धनुषा शाखले श्रद्धाञ्जलीसभा गर्ने भएको छ। जनकपुरधामको जनकचोकमा अपरान्ह श्रद्धाञ्जलीसभा गरिने शाखाका अध्यक्ष अनिल मिश्रले जानकारी दिए ।  


 २०६५ पुस २७ गते राती करिब ७ः३० बजेको समयमा जनकपुरधाम उप महानगरपालिका वडा नं. १४ स्थित रहेको गोविन्द कार्कीको घरमा डेरा लिई बसिआएको अवस्थामा एक समूहले सिँह उपर एकाएक आक्रमण गरेको थियो । सिँहलाई खुकुरी प्रहार गर्दै कपाल समातेर घिसार्दै वारदलीमा ल्याउँदै जताततै खुकुरी प्रहार गरी उमालाई सख्त घार्इते बनाएका थिए । खवर पाएलगत्तै उनलाई तत्कालै उपचारको लागि जनकपुरधाम १ मिल्स एरिया स्थित रहेको केयर मेडिकलमा उपचारको लागी ल्याइएको थियो । यता, उपचार सम्भवन नभएपछि उनलाई थप उपचारको लागि काठमाण्डौ लगिरहेको अवस्थामा बाटोमा मृत्यु भएको थियो।

 

रेडियो टुडे ९१ मेगाहर्जमा कार्यरत सिँहलाई उनकै भाउजू ललिता सिँहले उनको हत्याको योजना बनाएर धनको लोभमा उनको हत्या गराएको ठहर भईसकेको छ । यता, धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइ सकेको छ। न्यायाधीश कृष्णबहादुर थापाको एकल इजलासले हत्या काण्डका मुख्य अभियुक्त यादवलाई जन्मकैदको सजाय सुनाएको थियो। 


यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए। धनुषा प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् ज्यानसम्बन्धी महलको १३ ४ बमोजिम जन्मकैदको सजाय माग गरेको थियो। सरकारी वकिलको तर्फबाट न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेपछि न्यायाधीश थापाले यादवलाई घटनाका मुख्य योजनाकार ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो।


 उमा सिंह हत्याको अभियोगमा सुशिला सिंहसमेतको जाहेरीले नेपाल सरकारवादी रहेको कर्तव्य ज्यान मुद्दामा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरको श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह कुमर र उनको छोराहरू धन्नजय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो। 

 

२०६८ जेष्ठ २६ मा धनुषा जिल्ला अदालतका न्यायाधीश विमलप्रसाद ढुङ्गेलले उमा सिंहकी भाउजू ललिता सिंहलाई जन्म कैद र नेमलाल पासमानलाई सर्वस्वसहित जन्म कैद सजायको फैसला गरेको थियो। ती दुवै जना अहिले जलेश्वर कारागारमा छन्। त्यसैगरी न्यायाधीश ढुङ्गेलको इजलासले प्रतिवादी भनिएका श्रवण कुमार यादवलाई सफाई दिई जलेश्वर कारागारबाट थुना मुक्त गरिदिनु भनी फैसला गरेका थिए। 

 

अन्य प्रतिवादीहरू धनन्जय सिंह, बैजनाथ सिंह र अजय सिंहको हकमा मुलतवीमा रहेकोले नेपाल सरहदमा फेला परेका वखत कारवाही गर्ने आदेश गरेको थियो। त्यसैगरी स्वामीजी यादव भनिने उमेश यादव, चन्देश्वर साह, धनेश्वर साह तेली, विजय यादव, विन्दु यादव, सुभाष यादव भन्ने सुभेश्वर यादवको हकमा मुलतवी रहेकोले अंश रोक्का गरी मिसिलमा राख्नु भनी आदेश दिइएको थियो।

 

जब स्वामीजी यादव भनिने उमेश यादवलाई धनुषा प्रहरीले पक्राउ गरी अदालतमा प्रस्तुत गर्‍यो, तब स्वामीजी भनिने उमेश यादवले आफ्नो संलग्नतामा इन्कारी गरेको भए पनि २८ चैत्र २०७० मा धनुषा जिल्ला अदालतका न्यायाधीश कृष्णबहादुर थापाको इजलासले प्रतिवादी आरोपित कसुरका कसुरदार होइनन् भन्ने अवस्था नहुँदापछि प्रमाण बुझँदै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दाको पुर्पक्षको लागि जलेश्वर कारागार कार्यालयमा थुनुवा पुर्जी दिई पठाइदिने भनि आदेश गरेका थियो।

 

 हत्याको कारण उमा कुमारी सिंह हत्या हुनुभन्दा अगाडि करिब डेढ वर्ष अगाडिदेखि जनकपुरको रेडियो टुडेमा रिपोर्टरबाट काम सुरु गरि समाचार बाचन गर्दै आएको थिइन्। उमाको आमा सुशिला सिंहले केही जग्गा उमाकै नाउँ गरिदिने र विहे गरिदिने भन्ने कुरा उठाउँदा उमाकी भाउजू ललिता सिंहले उमाको नाउँमा जग्गा नगर्न विरोध गर्न थालिन। 


ललिता सिंहले सम्पूर्ण सम्पति एकलौटी पाउनको लागि स्वामीजी यादव भन्ने उमेश यादव, नेमलाल पासमान, ललिता सिंह, चन्देश्वर साह, धनेश्वर साह, विजय यादव, विन्दु यादव समेतको मिलिमतोमा उमाको हत्या गरिएको तत्कालीन अनुसन्धान अधिकृत प्रहरी नायव उपरीक्षक राम कृष्ण कार्कीको प्रतिवेदनमा उल्लेख छ। श्रवण यादवको समूहले उमा कुमारी सिंहलाई १ महिना अगाडि अपहरण गर्ने प्रयास गरेको थियो। 

 

स्वामीजी यादव भन्ने उमेश यादव, उमालाई सम्पूर्ण जग्गा ललिता सिंहको नाउँमा जग्गा दर्ता गरिदिनको लागि धम्कीसमेत दिँदै आएको थियो।  २०६३ भदौ १५ मा सिरहाको रामनगर मिर्चैया वडा नं। ३ स्थित आफ्नै होटेलबाट माओवादीहरूको समूहले उमाको बुवा रंजित सिंह र दाइ संजय सिंहलाई अपहरण गरी बेपत्ता बनाएको थियो। 

 

१० कठ्ठा जग्गा उमाको बुवाले उमाको नाउँमा पास गरेका थिए। त्यसपछि उमाको आमाले धुरमी बजारको दुई कठ्ठा जग्गासमेत उमाकै नाममा पास गरेकी थिइन्। उमेश यादव तराई एकता परिषदको केन्द्रीय अध्यक्ष थिए। उनले आफ्नो पार्टीको केन्द्रीय सदस्य प्रसान्त भनिने नेमलाल पासमानलाई उमाको हत्या हुनुभन्दा १५ दिन अगाडि उमेशले भेटेर उमालाई हत्या गर्न १ लाख ५० हजारको सुपारी लिएको बताएका थिए।

 

उक्त हत्या गर्न प्रसान्तलाई उमेश यादवले निर्देशन दिई जिम्मा समेत दिएका थिए। हत्या भएपछि विमलेश झा भनिने विमलेश विमलले हत्याको जिम्मा लिएको विज्ञप्ति फ्याक्स गरेको थियो।

 


को थिईन पत्रकार उमा सिँह ?

‘उमा सिंह’ जनकपुरमा नभई पुरै मधेशको पत्रकारिता जगतमा साहसको प्रतीकका रुपमा चिनिन्छिन्। पत्रिका र एफएममा समाचार संकलन गर्ने, सम्पादन गर्ने, अन्तर्वार्ता गर्ने, कार्यक्रम चलाउने तथा राजनीतिक भ्रष्टाचार, महिला हिंसाजस्ता विषयमा समेत टिप्पणी गर्न सक्ने क्षमता बोकेकी उमाले मधेशमा पत्रकारिता क्षेत्रमा लाग्ने नवप्रवेशीहरुको लागि एउटा उदाहरणको रुपमा चिनिन्छ।

 

रेडियो टुडे, हिमालिनि म्यागजिनसहितका मिडियामा प्रायस् महिला हिंसा र अन्यायमा परेकाहरुको बारे लेख्ने पत्रकार उमा सिंह सिरहा जिल्ला निवासी थिइन्। सिरहाको महेशपुर गाउँकी उमाले लहानस्थित दृष्टिकोण टाइम्स साप्ताहिकबाट पत्रकारिता सुरु गरेकी थिइन्।

 

सिरहाकै पहिलो महिला पत्रकारसमेत बन्न पुगेकी उनी जनकपुर आउनुपूर्व लहानमा डेढ वर्षसम्म पत्रकारिता गरेकी थिइन्। पूर्वीतराईमा पत्रकारितामा महिला दुर्लभ हुँदा उनको साहसी छवि बन्दै थियो। पछि मिर्चैयामा हत्याको धम्की दिइएपछि असुरक्षा हेर्दै उनी जनकपुर पुगेकी थिइन्।

 

जनकपुरस्थित क्याम्पसमा नेपाली विषय लिई स्नातकोत्तर गरिरहेकी उनले मैथिली र नेपालीमा बरोबर आफूलाई प्रस्तुत गरिरहिन् र छोटै समयमा मधेशकी एक मुख्य महिला पत्रकारको पहिचान बनाइन्। उमाको कामले त्योबेला महिला पत्रकारका लागि मात्रै नभई पुरुष पत्रकारका लागि पनि ऊर्जा प्रदान गरिरहेको थियो। तर, त्यो साहस र आँटको सत्यतालाई आत्मसात् गर्न नसक्नेका लागि उमा काँडा बन्न पुगिन्।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

फिल्म 'राजा सल्हेश' मा जनकपुरकी पूजा ठाकुर बनिन 'चन्द्रावती' , अभिनय दमदार

  • २०७५ पौष २७ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । साउथ इण्डियन डारेक्टरले बनाएको फिल्म राजा सल्हेशमा जनकपुरकी पूजा ठाकुरको अभियन दमदार देखिएको छ ।  भोली शुक्रबारदेखि भारतको विभिन्न सिनेमा घरमा रिलिज हुन लागेको सो फिल्मको प्रिमियरमा

पूरा पढ्नुहोस्

Bureau Menus

} }