• २०७५ पौष २ गते, सोमबार
०७:०५ am

     'छठपर्व' र 'सुर्यपूजा' मा भिन्नता

मारबौ रे सुगबा  धनुष स’ सुगा गिरे मुरुझाए ।  सुगनी जे कानत यिबोग स’ दीनानाथ होएब सहाय । 


        

संसारका जुनसुकै समाजमा त्याहांका मानिसहरुले आ–आफ्नो मौलिक गुणहरुले भरिपूर्ण चाड–पर्वहरु मनाउने गर्दछन् ।  जीवन उपयोगी शिक्षा–दीक्षा तथा मानवताको बोध गराउन तथा मानसिक सन्तुष्टीकालागि मनाइने असंख्य चाड–पर्वहरु मध्ये हाम्रो मुलुकभित्र सनातनधर्म मानिने समुदायद्वारा मनाइने एउटा लोकपर्व “छठ” पनि हो ।

 

जो पर्व मात्र नभएर आपसी एकता सहिष्णुता दर्शाउंदै ,कर्मप्रधानता र छुवाछुत, सानो ठूलोको भेदभावबाट मुक्त सामाजिक समररस्ताको एकताबद्धतालाई बल दिंदै साँचो अर्थका समावेशीता मूलक पर्व हो भन्ने बोध गराउन सफल रहेका छन  । त्यसैले छठपर्व मात्र पर्व नभएर महापर्व हो भने बुभ्न सक्नु पर्छ ।  

 

 खासगरी तराईक्षेत्रका सम्पूर्ण भू–भागमा हर्षाैल्लासका साथ मनाइने छठ पर्वको आफ्नो एक गरिमामय स्थान तथा गौरमय इतिहास पनि रहेको छ । यस पौराणिक लोकपर्वलाई मिथिलाञ्चलको महापर्व पनि भनिन्छ ।

 


     हिन्दुहरुको चाड भनेर हाम्रा धर्मग्रन्थले व्याख्या गरेतापनि यस पर्वलाई हरेकबर्ग विशेषले मनाउने गरेका छन् । हरेक जात–जातिले यो पर्व निष्ठापूर्वक मनाउन थालेको हुँदा दिनानुदिन “छठपर्व” मनाउनेहरुको संख्यामा बृद्धि हुनुका साथै संसारभरिमा यस पर्वको लोकप्रियता बढ्दै गइरहेको देखिन्छ । वैदिक बन्धन मुक्त र ब्राह्मणी आडम्बरबाट पृथक विशुद्ध रुपमा पृथवीमा कुनै पर्व छ भने त्यो पर्व छठ नै हो । वैदिक विधानमा समाजमा छुवाछुत, ठूलो स्यानोको भेदभाव थियो र वर्तमानमा पनि त्यो प्रथा थोरै कम भएपनि धेरै हदसम्म निर्मूल भएको छैन् । तर छठपर्वमा सो प्रथाबाट समाज पृथक छ । धर्म र सांस्कृतिक एकरुपता आपसी एकता र सौर्हादताका निमित्त । यो नै सुन्दर पक्ष हो । 

 


    छठको सन्दर्भमा प्रायः सुर्यपुजा र छठ एउटै रहेको कतिपय विद्वानहरुले भन्ने गरेका  छन । तर छठ र सुर्यपुजा एक होइन । यस लेखमा सोही कुरोको सार प्रस्तुत गरिएको हो ।

 


नाम र भेद 

 


        छठ शब्द षष्ठी शब्दको तद्भव रुप हो । धर्मग्रन्थहरुमा यस ब्रतलाई षष्ठीब्रत, सूर्यषष्ठीब्रत, रवि षष्ठीब्रत भनेका छन् । बोलचालको भाषामा छैठ–छठ नामले यो महापर्व प्रचलित छन् । 
    प्रारम्भमा यस लोकपर्वलाई मूलरुपमा जनजातिहरु नै मनाउने गर्थे । हाम्रो मुलुकमा विशेषगरि मैथिली, मैथिल थारु, भोजपुरी, अवधि भाषाभाषिले “छठ पर्व” अधिक मनाउने गर्छन् । छठिमाईको महिमाबाट लाभान्वित भएका अन्य जातजातिहरुले पनि यो पर्व मनाउन थालेका हुन । योे पर्वमनाउन कसैलाई कर पनि छैन र रोक पनि छैन् । जो जुनधर्म संस्कृतिमा रसेबसेका भएपनि इच्छा लागे मनाउन सकिन्छ । 

 


            मारबौ रे सुगबा  धनुष स’ सुगा गिरे मुरुझाए । 
            सुगनी जे कानत यिबोग स’ दीनानाथ होएब सहाय । 

 


यो लोक गीतको हरफले प्रष्ट हुन्छ यो पर्व कुनै ब्राह्मण पुरोहित वा क्षत्री वैश्यद्वारा प्रचलनमा आएको होइन । सुगालाई धनुष वाणले हान्ने कुराको वर्णन आएको छ । तरवार वा भालाले काटने वा श्रापले मारने कुराको चर्चा छैन् । धनुष वाण आजपनि जनजाति समुदायको प्रमुख अस्त्र छ । जसरी राजपुतहरुको अश्व सवारी र तरवार हथियार हुन्छन् । त्यसैगरी मूलवासी जनजाति आदिवासीहरुको परम्परागत अस्त्र  हुन भने बुझनु पर्छ ।     

 


छठ र सूर्य पूजाको भिन्नता :

 


    यस पवित्र पर्वमा प्रत्यक्ष पूजाको रुपमा सूर्यदेवको पूजा आराधना गर्ने गरेको देखिन्छ तर सम्बोधन छठ माता वा छठि परमेश्वरीको नामबाट गरिन्छ । त्यसैले सूर्यपुजा नै छठ पुजा हो भन्ने बोध हुनु स्वाभाविक हो । 

 


काँचहि बाँसके टोकरीया हो दिनानाथ, 
टोकरी लचकत जाय,बाटमे पुछे जे बटोहिया, 
टोकरी केकर जाय, आन्हर होबे रे बटोहिया, 
सजल टोकरी छठि मायके जाय .... ! 

 


    छठपर्वका दिन बाँसको ढाकीमा प्रसादका सबै सामग्री राखेर पूजन स्थलसम्म लागे बेला मिथिलाका नारीहरुद्वारा गाईने उक्त लोकगीतको पंक्तिमा दिनानाथ र छठिमाताको सम्बोधन गरेको  देखिन्छ । छठ सम्बन्धमा विद्वानहरुले पुष्टि गरे मुताविक षष्ठीका दिन बेलुकी अस्ताउने सूर्यलाई गरिने पुजा, वास्तवमा छठमाताको पुजा हुन्छ । सप्तमी तीथिका दिन प्रातःकालिन जो पूजा गरिन्छ त्यो सूर्यदेवको पूजा हुन्छ  । 

 


    छठमा प्रथम दिनको पूजामा षष्ठीकादेवीलाई गौण रुपमा पुजा हुन्छ र सूर्यको प्रधान पूजा हुन्छ । षष्ठीका दिन हुने छठपर्वमा षष्ठीलाई देवी “षष्ठीका देवी” र दिनानाथलाई ‘सूर्यदेव’ मानिन्छ । षष्ठी देवीलाई कार्तिकेयको पत्नी मानिएकोले प्रकृतिको छैठौं अंश र देव सेना पनि सम्बोधन गरिन्छ ।     बृष राशिमा ६ वटा नक्षत्रको समुह रहेकोले कार्तिकेयलाई षष्ठी तिथीसंग जोडिएको कुरा सनातनी ग्रन्थहरुमा उल्लेख भएको पाइन्छ । कार्तिकेय नाम भएको हुँदा कार्तिक महिनामा “छठ पर्व” मनाईन्छ । 


     सारमा भन्नु पर्दा सीता–राम, राधे–कृष्ण जस्तै सूर्यंषष्ठी .सूर्यषष्ठी अर्थात सूर्यदेव र षष्ठीकादेवी (छठ माता) दुबैको एकसाथ उपासना गर्ने परम्परालाई नै “छठ पर्व” को संज्ञा दिइएको हो भन्ने बुभ्mनु पर्दछ । सूर्य पुजालाई नै छठपर्व भनेर भनिन्छ बस्तुतः त्यो सत्य होइन रहेछ । सूर्यपुजा र छठ दुबै फरक फरक विषय हो ।


    षष्ठीका देवीलाई आलाहादिका शक्ति मानिएकाल क्षितिजको प्रभातकालिन किरण पोखिएर आकाशमा राताम्य पिण्ड टुप्लुक्क–टुप्लुक्क हुन थालेको समयमा जुन अर्घ–पूजा ब्रतालुहरुद्वारा गरिन्छ सो छठमाताको भागको हुन्छ । पूर्णप्रकाशमा गरिने पूजा सूर्यदेवको अंशमा जान्छ भन्ने लोक मान्यता रहेको छ । 


    संसारमा मनाइने अनेको पर्वाेत्सव मध्ये यहि एकमात्रे पर्व हो जो पर्वमा अस्ताउंदो र उदाउंदो सूर्यलाई पूजा गर्ने परम्परा कायम छ । आरोग्य वद्र्धक तथा कर्मप्रधानता मुलक यो पर्व गर्दा धन,यश ,वैभव र पराक्रर्म , दाम्पत्य प्रेममा बृद्धिको साथै सन्तान सुख प्राप्त हुन्छ भन्ने जन विश्वास एकाइशौं शताब्दिमापनि कायम छ ।

 


छठ पर्व मनाउने विधिः


“छठपर्व” मनाउने महिला वा पुरुषहरुले ब्रतमा बस्नु भन्दा अगावै अर्थात कार्तिक महिना लागेदेखि माछा–मासु खान बन्द गरि दिन्छन् । तिहारको चौथो दिन नित्य कर्मपछि ब्रतमा बस्नेहरु लसुन, प्याज, उसिना चामलको भात बाहेक शुद्ध शाकाहारी खाना, अरवा चामलको खीर, दुध, केरा खान्छन् । यस दिनलाई बोलचालको भाषामा मैथिलहरुले “नहाय खाय”नुहाई खानु भन्छन् । यो नुहाइ खाने व्रत शनिवार भयो भने रविवार दिनभरि उपवास बसी राति खरना गरे । पञ्चमी तिथीमा दिनभरीको निराहारपछि रातिमा गर्ने पूजा र फलाहारको यसदिनको पर्वलाई “खर्ना” भनिन्छ । खर्नाको दिन छठमातालाई पूजा स्विकार गरि पुजनमा आउनु हुन्छ भन्ने आमन्त्रणा गरिएको मानिन्छ । 

 


    षष्ठीकादिन ब्रत बस्नु पर्दछ र ब्रत बस्ने महिला पुरुष अन्नजल ग्रहण गर्दैनन । विहानै देखि स्वच्छपूर्वक तयार पारेर राखेको गहुँको पिठो, अरवा चामलको पिठोको गुडबाट ‘‘ठकुवा’’ एक प्रकारको रोटी, शुद्ध घ्यूमा पकाइन्छ । चामलको पिठोलाई घ्यूमा घुटेर गुडको पाक मिसाएर ल्वाङ–सुकुमेल, नरिवल, छुहोरा, किसमीस, काजु आदि हालेर “भुस्वा–कसार” एक प्रकारको लड्डु तयार पारिन्छ । केरा, उखु लगायत विभिन्न फलफुल, गेडागुडी, विभिन्न खाद्य परिकारहरु बाँसको डालोमा राखी बेलुकी सुर्यास्त हुनभन्दा केही घण्टा अघि कुनै पवित्र सरोवर–नदि–पोखरीको किनारमा गई सबै थोक बाँस र माटोबाट बनेका भाडाहरु अथवा वितल, ताम्बाका भाडामा अर्घ भने प्रसाद सामग्री सजाएर, धुप, दीप बालेर राखिन्छ ।

 

साँझपख ब्रतालुहरु स्नान गरी नयाँ वस्त्र लगाएर कम्मरसम्मको पानी भित्र सुर्यास्तको प्रतिक्षामा आफ्नो दुवै हात जोडेर उभिएका हुन्छन् । सूर्यास्तमा अर्घ लिएर पश्चिम दिशातर्फ देखाउछन् र अर्घ देखाई सकेपछि ब्रतालुहरु पुनः स्नान गरी नयाँ लुगा लगाई घर फर्कन्छन् । प्रसादका सम्पूर्ण सामग्रीहरु रातभरि जलाशय स्थानमै छोडेर घर जान्छन् । यस दिनको पुजनलाई “संझिया अरक” भनिन्छ । 


    राति घर फर्केका ब्रत गर्नेहरु आ–आफ्नो घरको आँगनमा पाँचवटा ऊखुलाई एक आपसमा बाँधी वीचमा रातो कपासको कपडामा अक्षता, सुपारी, पान आदि  राखि (माटोको भाडा) “कोशिया” भर्ने विधि पूरा गर्छन । मैथिली महिलाहरुको झुण्ड गीतगाएर बस्छन् भने पुरुषहरु छठ घाट  (नदि, तलावको पूजा स्थल) मा बसी रमाइलो गर्छन् । 

 


    विहान सप्तमी तिथीका दिन पुनः हिजोको क्रम दोहो¥याई उदीयमान सूर्यलाई अर्घ पुजन गरि ब्रत समापन गरिन्छ । अरक सुर्य देवलाई देखाउने समयमा टोल–छिमेक र घर परिवारका व्यक्ति (जो व्रत बसेका हुदैनन्) ले दुधको ढार सुर्यदेवलाई देखाउदै अरघ प्रसादमा हालिन्छ ।  पुजा समाप्ति पश्चात ब्रतधारीहरुले माटाको प्रतिकात्मक चित्र (गोड. गणेश) बनाई गुड चामलको प्रसाद चढाई गौड गणेशलाई विसर्जन गर्छन् ।

 

सो पछि गुड अदुआ वर्तालुहरुले सेवन गरि छठमाताको कथा बुढापाकाहरुबाट सुन्छन् । कथा श्रवण गरेपछि घर फकिन्छन् र प्रसाद ग्रहण गरी ठकुआ, भुसवा र भात, दाल, तरुआ, तरकारी, दही, दुध आदि पकवान खाएर वर्तालुहरुले ब्रत समापन गर्ने गरेको परम्परा छ ।

 

एउटा महतवपूर्ण कुरो यो पनि हो छठ पर्वमा प्रयोगमा आउने अधिकांश सामग्रीको नाम ‘क’ बाट शुरु हुन्छ । जस्तै–‘केरा,कुशियार,कोशिया, कोन्हिया–कनसुपति ,कसार, केसौर, कनकपात, काजु, कमलगट्टा, कर्पुर, कचुर,केराउ आदि । यस्ले कर्मको प्रधानतालाई प्राथमिक्ता दिन्छ  र दिएको छ । कर्म गरे फल सार्थक रुपमा सिद्ध भएर आउछ नै त्यो पकका हो । र मानवले मानवीय कर्म स्वच्छता इमान्दारिताका साथ गर्नुपर्दछ भने सन्देश छठपर्वले दिन खोजेको हो ।    

 


                                उपेन्द्रभगत नागवंशी

                            Email : [email protected]
                                 मो.नं.९८०४८६१४०७ 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
प्रतिकृया दिनुहोस