• २०७५ पौष २ गते, सोमबार
०७:१० am

‘जेष्ठ नागरिकलाई वृद्धाश्रममा होईन, सन्तानले मन र घरभित्र राख्नुपर्छ’ – सांसद यादव 

जेष्ठ नागरिक समाजका अमूल्य निधि, पथ प्रदर्शक र मार्गदर्शक हुन् ।

न्यूज ब्यूरो, सिरहा । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सिरहा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादवले जेष्ट नागरिकलाई वृद्धाश्रममा नभई सन्तानले आफ्नो मनभित्र र घरभित्र राख्नुपर्ने बताएका छन् । जेष्ठ नागरिक हकहित समाज नेपाल मिर्चैयाद्धारा आयोजित दशैं, दिपावली तथा छठको शुभकामना आदानप्रदान कार्यक्रम सांसद यादवले एक प्रसंग कोट्याउँदै आमाबुवा वृद्ध भएपछि सन्तानले आफ्नो मनभित्र राख्नुपर्ने बताएका हुन् ।

 

सांसद यादवले जेष्ठ नागरिक अनुभवका खानी रहेको बताउँदै जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सङ्गालेका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने बताउनुभयो । उहाँले यस्तो समाज अघि बढ्न समेत नसक्ने थप्नुभयो । जेष्ठ नागरिकका अनुभव समाज निर्माण र देश निर्माणका लागि महत्वपूर्ण रहेको बताउँदै उहाँले जेष्ट नागरिकको हकहित संरक्षण सम्बर्द्धनका लागि आफु हरेक तवरबाट कटिवद्ध रहेको प्रतिवद्धता जाहेर गर्नुभयो ।


 
नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर होईन, सन्तानले नै वृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवद्र्धन गरेर मात्र सम्भव रहेको बताउनुभयो ।  विदेशी संस्कारले गर्दा नेपाली समाजमा पनि बुढेसकालमा अरुको सहयोग मद्दत चाहिने समयमा ठूलो संख्यामा क्रमशः बेसहारा, अपहेलित तिरस्कृत हुँदै जाने स्थितिमा पुग्न थालेको थप्नुभयो । उहाँले वृद्धवृद्धाको सम्मानमा कुनै आँच नआए मात्र आफुले बोकेको नमुना क्षेत्रको सपना पुरा हुने सुनाउनुभयो ।

 

जेष्ठ नागरिकहरुको जीवन सहज, सुरक्षित, सम्मानित र सुनिश्चित बनाउन विद्यमान सामाजिक सुरक्षा कार्यक्रमका सवालहरुमा पुनरावलोकन गरी यस क्षेत्रमा कार्यरत सबै पक्षलाई समेटी सशक्त सामाजिक सुरक्षा नीति ल्याई समन्वय र सहकार्यमा जोड दिँदै प्रभावकारी कार्यान्वयनमा जानुपर्ने धारणा प्रकट गर्नुभयो ।

 

यस्तै, मन्तव्यका क्रममा प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलले वृद्ध बाबुआमाको रेखदेख पारिवारिक वातावरणमा हुन सकेको खण्डमा फरक पुस्ताबीचको अन्तक्र्रिया बढ्ने बताउनुभयो । सोही क्रममा राजपा नेपालका सह–महामन्त्री डा. सुरेन्द्र कुमार झाले अग्रजका अनुभवबाट छोरानाति पुस्ताले पनि शिक्षा ग्रहण गर्ने भएकाले जेष्ठ नागरिक समाजका अमूल्य निधि, पथ प्रदर्शक र मार्गदर्शक भएको बताउनुभयो ।  

 

त्यसैगरी, सिरहा निर्वाचन क्षेत्र नं. ४ “क” का विधायक दिलिप साहले वर्तमान अवस्थामा वृद्धवृद्धाहरुलाई माया र सम्मानको खाँचो रहेको औल्याउँदै उहाँले वृद्धवृद्धाका हकहित संरक्षणका लागि आफू कुनै कसर नछाड्ने बताउनुभयो । 

 

जेष्ठ नागरिक हकहित समाज नेपाल मिर्चैयाका अध्यक्ष राधा कृष्ण साहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा सांसद राजकिशोर यादव रहनुभएको थियो भने विशिष्ट अतिथिका रुपमा प्रदेश राज्यमन्त्री सुरेश कुमार मण्डल रहनुभएको थियो । त्यसैगरी, राजपा नेपालका सह–महामन्त्री डा. सुरेन्द्र कुमार झा, प्रदेश २ का सांसद दिलिप साह लगायत नगरका भिविन्न जेष्ठ व्यक्तित्वहरुको विशेष आतिथ्य रहेको थियो ।

 

कार्यक्रममा उपस्तिथ जेष्ठ नागरिकहरुलाई अविर र गम्छा ओढाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा नगरका विभिन्न गाउँटोलका जेष्ठ नागरिकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस