• २०७५ कार्तिक ३० गते, शुक्रबार
०२:०५ pm

आरम्भ साईन्सद्धारा महिलाहरूलाई महिनावारी सरसफाई सम्बन्धी तालिम र प्याड वितरण 

क्लबले यस सामाजिक रुपान्तरणको अभियानलाई निरन्तर राख्ने जनाएको छ ।

कार्यक्रम पश्चातको सामुहिक तस्वीर ।

न्यूज ब्यूरो, सिरहा । आरम्भ साईन्स एण्ड कल्चर क्लब गोलबजारद्धारा महिलाहरुलाई महिनावारी सरसफाई सम्बन्धी तालिम र प्याड वितरण गरिएको छ । पछिल्लो समय महिलाहरुमा देखिएका समस्यालाई दृष्टिगत गर्दै क्लबले महिनावारी सम्बन्धि २ दिने तालिम र प्याड वितरण गरेको हो ।

 

 

क्लबले मासिक धर्म सरसफाई अभियान अन्तर्गत सिरहाको २ स्थानमा तालिम तथा प्याडहरु वितरण गरिएको क्लबका अध्यक्ष रामकुमार यादवले बताउनुभयो । उहाँले बन्दिपुरस्थित फुलकुमारी मावि र गोलबजारस्थित सुडि सेवा सदन गरी जम्मा २ स्थानमा १० बर्षदेखी १८ बर्षसम्मका किशोरी तथा १८ बर्षदेखी ४५ बर्षसम्मका महिलाहरुलाई उक्त तालिमसहित प्याड वितरण गरिएको जानकारी दिनुभयो ।

 

तालिममा महिलाहरुले महिनावारी भएको समयमा सरसफाई कसरी गर्ने, महिनावारीको समयमा आत्मरक्षा कसरी गर्ने लगायतका बिषयहरुमा जानकारी गराईएको मासिक धर्म (महिनावारी) सरसफाई अभियानका अभियन्ता प्रोमिशा मिश्राले बताइन् । उनले भनिन्, ‘देशमा पाठेघरको क्यान्सरबाट मृत्यु हुने महिलाहरूको संख्या बढ्दै गएको छ, त्यसमा पनि ग्रामीण क्षेत्रका महिलाहरू यो समस्याबाट धेरै पीडित छन्, क्यान्सरबाट महिलाहरूलाई बचाउन सचेतनामूलक शिक्षा दिने अभियानको सुरुवात गरेको हुँ ।’

 

 

प्याड बनाउने तालिम लिन पाउँदा आफूहरू निकै खुशी भएको र यसले अब महिनावारीको समयमा आत्तिनु नपर्ने तथा विद्यालय छोड्नु पर्ने बाध्यतालाई समेत हटाइदिएको तालिममा सहभागी छात्राहरुले बताए । प्याड बनाउन पूर्ण रुपमा सिकेको र अरुलाई पनि सिकाउन सक्ने समेत भएको उनीहरुले बताए । 

 

सो अवसरमा सिरहा युवा संजालकी उपाध्यक्ष प्रतीक्षा यादवले महिनावारी हुँदा सरसफाईको अभावमा किशोरीहरुलाई विभिन्न रोगहरु लाग्ने सम्भावना भएकोले प्याड सम्बन्धि अझ तालिमको आवश्यकता औल्याउँदै आउँदा दिनमा सिरहा युवा संजालले समेत यसप्रकारको कार्यक्रम आयोजना गर्ने बताइन् । उनले भनिन्, ‘मानिसहरुमा स्वास्थ्य र अनभिज्ञताले गर्दा धेरै खर्च गर्नुपर्ने हुन्छ, यदी स्वास्थ्य नै स्वस्थ भयो भने त्यस्ता समस्या आउने छैनन् ।'

 

 

कार्यक्रममा अतिथिका रुपमा उपस्थित समाजका सचेत व्यक्तित्वहरुले यो अभियान प्रशंसनीय रहेको बताउँदै यस्ता तालीम ग्रामीण भेगमा आयोजना गर्नुपर्ने तर्क जाहेर गर्नुभयो । 

 

महिनावारी तथा प्याड सम्बन्धि जिल्लामै यो पहिलो पटक र फरक किसिमको तालिम भएको आयोजकको दावी छ । यस तालिममा प्रयोग गरिएको प्याड पुनः प्रयोग गर्न मिल्ने तरिका समेत सिकाइएको थियो ।

 

क्लबले निरन्तर अभियानमा रहेका "हर प्याड, प्याड बैंक" को सहयोगमा २ दिने कार्यक्रमको आयोजना गरेको थियो । सो अभियानकी अभियन्ता प्रोमिशा मिश्रा, गुन्जा मण्डल, सिमा यादव, प्रियंका ठाकुर, स्नेहा झा, स्मृति मिश्रा र श्रृणु झाले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा सयबढीको उल्लेख्य सहभागिता रहेको थियो ।

 

 

महिनावारीको समयमा सरसफाई नभएर महिलाको स्वाथ्यमा गम्भीर समस्या देखिने भएकाले महिलाहरुलाई यस बिषयमा सचेत गराउन यस कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ । 

 

क्लबले यस सामाजिक रुपान्तरणको अभियानलाई निरन्तर राख्ने जनाएको छ ।

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस