• २०७५ असोज ९ गते, मंगलबार
०७:३६ pm

प्रहरीमाथि नै राजनैतिक हस्तक्षेप, मन्त्रीका आफन्तको घरपुजामा डिजे बन्द गर्दा डिएसपीको सरुवा

बिनय यादव/न्यूज ब्यूरो, सिरहा, २३ असार । मुलुकमा ऐन, नियम र कानुन छ । कानुन भन्दामाथि कोहि छैनन् । ती कानुनको पालना गराउने निकायहरु छन् । तर, पनि कानुनलाई कुल्चिएर, धज्जि उडाएर यहाँ अवैद्य धन्दाहरुको चहान छ । 

 

उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृका प्रसाद यादवको आफन्तको घरपुजामा डिजेबाजा बन्द गर्दा ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी दिपक खड्कालाई सरुवा गर्न सरुवापत्र तयार गरिएको सूचना पाईएको छ ।

 

खासमा यो कारबाही त हैन, सरुवा नियमित प्रक्रिया अन्तर्गत नै पर्छ । तर, ईमानदार स्वच्छ छबि भएका राष्ट्रसेवक प्रहरीले कसैलाई टेरपुच्छर नलगाएपछि उनको बिरुद्ध रातारात सुनियोजित पूर्ण तवरमा षड्यन्त्र रचिएर र उनको चरित्र हत्या गरेर सरुवा गरिनु अप्रत्यक्ष रुपमा कारबाही नै हो भन्ने चर्चा प्रहरीभित्रै र स्थानीयहरुमा चलेको छ ।

 

नेकपा नेता तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवका खास आफन्त मान्छेको घरमा केही समय अगाडि सिरहाको मिर्चैया नगरपालिका वडा नं. ६ कटारी चौकस्थित घरपुजा भईरहेको समयमा छिमेकी गाउँघरको वातावरण नै आतंकित हुने गरी बजाइएका डिजे बाजागाजा, आतासबाजी र मान्छेको कोलाहलले सम्पूर्ण मिर्चैयाबासी नै आतंकित भएपछि स्थानीयबासीको गुहारमा मिर्चैयामा भर्खरै डिएसपी बनेर आएका दिपक खड्काले प्रहरी टोली खटाएर शभ्य रुपमा घरपुजा सम्पन्न गर्न आग्रह गरेका थिए । पछि झन रवाफ देखाउदै अझ ठूलो कोलाहल मचाएर प्रहरीको पटक–पटकको आग्रहलाई अटेर गरेपछि प्रहरीले बाध्य भएर डिजे बाजागाजा उठाएर प्रहरी कार्यालय लगेका थिए । 

 

त्यसैलाई निहुँ बनाएर सिरहाको मिर्चैयामा आपूर्तिमन्त्री मातृका प्रसाद यादवलाई बोलाएर प्रहरी कार्यालयमा नै लगिएर बाजागाजा फिर्ता लिइयो । त्यो घटना सेलाउन नपाउँदै नेपाल कम्युनिष्ट पार्टी पक्षधर स्थानीय गाउँलेबिच झै–झगडा भएर हात हालाहाल भएका थिए । 

 

नेकपा पक्षधरले सामान्य झै–झगडा घटनालाई अर्को पक्ष बिरुद्ध घटनालाई तोडमोड बढाई–चढाई गरी यो घटनालाई डकैती र ज्यान मार्ने उद्योगको मुद्दा बनाएर दर्ता गर्न प्रहरीलाई दबाब दिएका थिए । तर, प्रहरीले दुबै पक्षलाई राखेर स्थानीयबासीसँग यो घटनाको सत्यतथ्य बुझ्दा मात्र सामान्य झै–झगडामा हात हालाहाल भएको पाइएको थियो । प्रहरीको अनुसन्धान र छानबिनको नतिजाले पनि सामान्य झै–झगडा र हात हालाहाल भएको तर डकैती र ज्यान मार्ने कुनै अभिप्राय नरहेको देखिएको थियो ।

 

प्रहरीको पूर्ण अनुसन्धानपछि डिएसपी खड्काले झुठा मुद्दा दर्ता नगर्ने र निर्दोषलाई बिना कसुर कारबाही गर्न नमिल्ने र यथार्थ अनुसार कानून सम्मत मुद्दा मात्रै दर्ता गराउन मिल्ने भनेपछि नेकपा पक्षधरहरु डिएसपी दिपक खड्कासंग क्रुद्ध बनेर नेकपाका स्थानीय नेतादेखि केन्द्रीय नेतासम्मले घटनालाई बङ्याएर झुठा मुद्दा तयार गर्न दबाब दिएका थिए ।

 

ईमानदार स्वच्छ छबि भएका राष्ट्रसेवक प्रहरीका डिएसपी दिपक खड्काले कसैलाई टेरपुच्छर नलगाएपछि उनको बिरुद्ध रातारात सुनियोजित पूर्ण तवरमा षड्यन्त्र रचिएर र उनको चरित्र हत्या गर्न आफन्त निकट पत्रकार लगाएर “डिएसपी दिपक खड्काले डकैती र ज्यान मार्ने उद्योग मुद्दामा पैसा घुस खाएर मेलमिलाप गरायो” भन्ने शिर्षकमा अत्यन्तै भ्रामक समाचार लेखाएर षड्यन्त्र पूर्वक नेकपाका स्थानीय नेता र आपूर्तिमन्त्री यादवको दबाबमा रातारात डिएसपी दिपक खड्कालाई सरुवा गर्न सरुवापत्र तयार गरिएको सूचना पाइएको छ । 

 

एउटा ईमानदार स्वच्छ छबि भएका राष्ट्रसेवक प्रहरीका डिएसपी दिपक खड्कालाई नेता भनौंदाहरुका नाजायज क्रियाकलापमा साथ नदिए कै कारण, नेताहरुका गुलामी नगरे कै कारण डिएसपी दिपक खड्काको चरित्र हत्या गरेर सरुवा षड्यन्त्र गरिएको स्थानीहरु बताउँछन् । प्रहरी प्रशासन माथिको नाजायज राजनैतिक हस्तक्षेप बन्द नभए स्थानीहरुले आन्दोलनमा समेत उत्रन बाध्य हुने बताए ।

 

सरुवा बढुवामा भन्दा अपराध नियन्त्रण, सुशासन र अनुगमनमा ध्यान दिनु सरकारको दायित्व हो । तर, निर्भिक, ईमानदार र स्वच्छ छबि भएका राष्ट्रसेवक प्रहरीले कसैलाई टेरपुच्छर नलगाएपछि उनको बिरुद्ध रातारात सुनियोजित पूर्ण तवरमा षड्यन्त्र रचिएर र उनको चरित्र हत्या गरेर सरुवा गरिनु, हतोत्साहित बनाउने र व्यक्तिगत स्वार्थ पुरा गर्ने सरकारबाट मुलुकले नोकसानी भन्दा अरु केहि पाउने छैन । सरकारले जनचाहना अनुसार नै हिड्नु सरकारको लागि हितकर हुने देखिन्छ । होइन भने सरकारमाथि अक्षमताको विल्ला मात्र लाग्ने छैन, जनस्तरबाट राजीनामाको समेत माग हुन सक्छ ।

 

इमान्दारी पुर्वक काम गरिरहेका राष्ट्रसेवकलाई व्यक्तिगत स्वार्थमा सरुवा गर्दा ती कर्मचारीको मनोबल कस्तो होला । राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरेर होसला दिनुपर्नेमा उल्टै सरुवा गरेर दण्डित गर्ने सरकारको यो कायदाले समाजमा जहाँसम्म अपराधको मात्र बिजा रोपन हुने स्थानीहरु बताउँछन् ।
 

श्री त्रिनेत्र न्यूज नेटवर्क प्रा.लि. द्धारा सँचालित "न्यूज ब्यूरो" डिजिटल पत्रिका र "रेडियो कमला" अनलाईन , सदैव तपाईको साथमा  |
resized image

बिनय यादव, सिरहा

सिरहा, ब्यूरो प्रमुख

प्रदेश नं. २, सिरहा – नेपाल

बिनय यादव || न्यूज ब्यूरोका सिरहा जिल्ला प्रतिनीधि सहित सिरहा ब्यूरो प्रमुख समेत हुन् । उहाँ पूर्वाञ्चलको अन्य जिल्लाको पनि समाचार सम्पादन गर्नुहुन्छ । मोबाईल नं. +९७७९८६९०६७६९४, ९८१५७४५३९१ | [email protected] | उहाँलाई समाजिक सञ्जाल फेसबुक र ट्वीटरमा पनि भेट्न सकिन्छ ।

प्रतिकृया दिनुहोस