• आइतबार ५-३-२०७५/Sunday 08-19-2018
10:02 am

जनकपुर अञ्चल अस्पतालका डाक्टरको लापरवाहीले छटपटिएर  महिलाको मृत्यू, अस्पताल तनावग्रस्त !

 

न्यूज ब्यूरो  |
जनकपुरधाम, २५ जेठ ।
जनकपुर अञ्चल अस्पतालमा चिकित्सकको चरम लापरवाहीले एक सुत्केरीको ज्यान गएको छ । 


चिकित्सकको त्रुटिपूर्ण सल्यक्रियाले जनकपुर उपमहानगरपालिका १ पुलचोक बस्ने करण ठाकुरकी श्रीमती २५ वर्षकी सोनियादेवी ठाकुरको शुक्रबार विहान ज्यान गएको हो ।

 

व्यथा लागेपछि बिहीबार विहान ४ बजे सोनियालाई सत्केरी गराउन जनकपुर अञ्चल अस्पतालमा घरपरिवारले भर्ना गराएका थिए ।


 समान्य रुपमा बच्चा नजन्मेपछि बिहीबार विहान ८ बजे अस्पतालका प्रसुति रोग विशेषज्ञ डा. धिरेन्द्र साहले सल्यक्रिया गरी बच्चा निकाल्नु भएको थियो । बच्चाको अवस्था समान्य छ ।


सोनिकाकी सासु प्रेमदेवी ठाकुरका अनुसार अपरेशन पश्चात बुहारीले जोड जोडले पेट दुखेको पीडा सुनाएकी थिइन् । ‘त्यहाँ डिउटीमा रहेका नर्सहरुलाई किन पेट दुखेको हो रु मैले पटक पटक सोधेँ’, सासु प्रेमदेवीले दुखेसो पोख्दे भन्नुभयो ‘ नर्सहरुले अप्रेशन हुँदा अलि अलि पेट सबैलाई दुख्छ भन्दै उल्टै आफुहरुलौ नै झपाडेका थिए ।

 

पछि बुहारीलाई जोड जोडले पेट दुखेको पीडा सहन नसकेपछि नर्सहरुकै सल्लाहमा वेडमै बुहारीलाई हातखुट्टा बाँधेका थियौं ।’

 

परिवारजनले चिकित्सकले अप्रेशनको क्रममा सोनिकायको पेटमा केहि छाडेको वा त्रुटिपूर्ण अपरेशन गरेको हो भनेर अल्ट्रासाउण्ड गरेर चेक गर्न समेत आग्रह गरेका थिए ।


पछि अल्ट्रसाउण्ड गरेपछि चिकित्सकले पुनः अप्रेशन गरेर हेर्नु पर्ने बताएका थिए । त्यसपछि राति  ८ बजे पुनः अप्रेशन गर्दा चिकित्सकहरुले पाठेघरमा समस्या रहेकाले पाठेघर नै झिक्नु पर्ने घरपरिवारलाई सल्लाह दिएका थिए ।

 

घरपरिवारले पाठेघर झिकेरै भएपनि सोनियालाई बचाईदिन चिकित्सकलाई आग्रह गरेका थिए ।  


चिकित्सकले पाठेघर झिकेपछि केहि समय पश्चात सोनियाको अवस्था केहि सुधार भएको थियो । पछि आईसियुमा भर्ना गरिएको थियो । तर विहान ५ बजेतिर सोनियाको मृत्यु भएको पति करणले दुखेसो पोख्नुभयो ।

 

मृतक सोनियाकी पति करणले चिकित्सकले त्रुटिपूर्ण अप्रेशन गर्दा श्रीमतीको ज्यान गएको भन्दै सल्यक्रियमा संलगन चिकित्सक धिरेन्द्र सिंहलाई कार्वाही गर्न माग गर्नुभयो ।


 ‘मेरो दुई वटा छोरा अनाथ भयो , जनकपुर अञ्चल अस्पतालमा भोली फेरी कसैसंग यस्तो घटना नदोहरियोस्’, करणले भक्कानिदै भन्नुभयो ‘ मेरो श्रीमतीको ज्यान लिने डक्टरलाई कडा कार्वाही होस् ।’ 

 


मृतक सोनियाको तीन वर्षको अर्को छोरा पनि छन् । लापरवाही गर्ने चिकित्सकलाई कार्वाही र क्षतिपूर्ति पश्चात मात्रै शव बुझ्ने परिवारजनले अडान राखेको छ ।

 

सोनियाको मृत्युपछि जनकपुर अञ्चल अस्पतालमा विहानैदेखि तनाव बढेको छ । घटनापछि घरपरिवारले शव उठाउन मानेका छैनन् । आक्रोसमा केहि घटना नहोस् भन्दै त्यहाँ व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

 

यता जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामपरीक्षण यादवले घटना विषयमा अनुसन्धान टोली बनाएर अनुसन्धान हुने र दोषी चिकित्सकलाई कार्वाही गर्ने प्रतिक्रिया दिनुभयो ।

प्रतिकृया दिनुहोस