साउदीमा हत्या अभियोग लागेका सिरहाका मण्डल सजायमुक्त, उमेशको लागि पनि पहल हुँदै
न्यूज ब्यूरो, सिरहा, १२ चैत्र । बंगाली सहकर्मीको हत्या अभियोगमा सजाय सुनाइएका लग्दी गदियानी–९ सिरहाका सुरेश मण्डललाई साउदी अरबको अदालतले सजायमुक्त गरेको छ । ९ वर्षअघि सडकमा माटो सम्याउने क्रममा मण्डलले चलाएको गाडीले ठक्कर दिँदा बंगाली सहकर्मी रफिकुल इस्लामको ज्यान गएको थियो । अदालतले तोकेको ब्लडमनी

२०७४ चैत १२ सोमबार, दिउँसो ४:२८ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा, १२ चैत्र । बंगाली सहकर्मीको हत्या अभियोगमा सजाय सुनाइएका लग्दी गदियानी–९ सिरहाका सुरेश मण्डललाई साउदी अरबको अदालतले सजायमुक्त गरेको छ । ९ वर्षअघि सडकमा माटो सम्याउने क्रममा मण्डलले चलाएको गाडीले ठक्कर दिँदा बंगाली सहकर्मी रफिकुल इस्लामको ज्यान गएको थियो ।
अदालतले तोकेको ब्लडमनी (दिया रकम) नलिई पीडित परिवारले माफी दिएपछि सुरेश गत बुधबार सजायमुक्त भएका हुन् ।
‘माटो सम्याउँदा अगाडि रहेका इस्लामलाई देखिनँ । त्यो दुर्घटना अन्जानमा भएको थियो,’ मण्डलले न्यूज ब्यूरोलाई भने, ‘काम गर्ने क्रममा भएको दुर्घटनामा जिम्मेवारी लिनुपर्यो । मेरो अनुरोधलाई इस्लामको परिवारले ब्लडमनी नलिने निर्णय गरेपछि मैले न्याय पाएँ ।’
अदालतले पीडित परिवारलाई तीन लाख रियाल दिनुपर्ने फैसला सुनाएको थियो । साउदीस्थित नेपाली दूतावासले मण्डलका पक्षमा अदालतमा लड्दै आएको थियो । दूतावासको अथक प्रयासपछि उनी सजायमुक्त भएको नेपाली दूतावासका निमित्त पहिलो सचिव विजयकुमार राउतले न्यूज ब्यूरोलाई जानकारी दिए । दुर्घटना भएपछि मण्डललाई जुवेलस्थित जेलमा ७ वर्ष ६ महिना राखिएको थियो ।
इस्लामको परिवारले ब्लडमनी नलिई माफी दिँदा आफूले नयाँ जीवन पाएको र नेपाल फिर्ने बाटो खुलेको मण्डलले बताए । ‘अदालतले फैसला गरेको रकम दिन सक्ने हैसियतमा थिइनँ । दूतावास लगायत अन्य सबैको सहयोग र मेरो अनुरोधलाई इस्लामको परिवारले बुझिदिए,’ उनले भने ।
उनले साउदी अदालतले फैसला गरेको ३ आख रियाल ब्ल्डमनी बंगाली परिवारद्वारा माफी गराउनमा नेपाली दूतावासले अहम् भुमिका खेलेको भन्दै दूतावासप्रति आभार प्रकट गरे ।
कम्पनीले मण्डलको जिम्मेवारी लिएपछि २२ महिनाअगाडि मात्रै जेलबाट निकाली काममा लगाउँदै आएको थियो । ‘अहिले लेबर काम गर्दै आइरहेको छु । कम्पनीसँग ७ वर्षको तलब दिनुपर्छ भनेर माग गरिरहेको छु । दिन्छु भन्ने प्रतिबद्धता पनि गरेको छ,’ उनले भने ।
मण्डल पुन: कम्पनीमै कार्यरत छन् । ‘म आरसीसी कम्पनीमा आएको थिएँ । आरसीसी कम्पनीका मालिकको मृत्यु भएपछि छोराको कम्पनी इन्सामा लेबर काम गरिरहेको छु । ८ सय रियाल तलब दिन्छ,’ उनले भने, ‘मेरो प्रार्थनापछि घर जान पाउने अवस्था आयो । त्यसका लागि राहदानी बनाउन दूतावासमा निवेदन दिएको छु । राहदानी बन्नासाथ बिदामा नेपाल आउँछु ।’

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…